प्याजको भाउ तल्लो तलामा ८० रुपैयाँ माथिलो तलामा १५० !

डिसी नेपाल
१ असोज २०७७ ११:०४

काठमाडौं । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा कालोबजारी गर्नेहरुको चहलपह बढ्दो क्रममा छ।

मंगलबार भारतले प्याज निर्यातमा रोक लगाएपछि बुधबारबाट प्याजमा कालोबजारी सुरु हुन थालेको हो। बुधबारमात्र कालिमाटीको तरकारी बजारमा महानगरपालिकाको कृषि शाखाको टोलीले अनुगमन ग¥यो। ४ जना व्यापारीहरुलाई कालोबजारी गरेको ठहर गर्दै नियन्त्रणमा पनि लियो।

बुधबार कालिमाटीमा व्यापारीलाई नियन्त्रण लिए पनि प्याजमा भएको कालोबजारी भने नियन्त्रणको बाटोमा पनि छैन। यस्तै घटना विहीबार विहान कोटेश्वरको तीनकुने स्थिति हरित कृषि सहकारीले सञ्चालन गरेको तरकारी बजारमा देखिएको छ।

काठमाडौं महानगरपालिकाको कृर्षि शाखाको अनुगमन टोलीले दिएको जानकारी अनुसार हरित सामुदायिक कृषि बजार तीनकुनेमा तरकारी बिक्री गर्दै आएकी नाज्दा अञ्जुले बिहीबार बिहान १५० रुपैयाँ किलोमा प्याज विक्रिगरेको पाइयो।

उनले त्यो प्याज तल्लो तलाका होलसेल व्यापारी शालिकराम दुलालबाट ८० रुपैँया प्रतिकेजीमा किनेकी हुन्।

‘त्यो प्याज शालिकरामले कति मूल्यमा किने त? बिल भेटिएन।’ अनुगमन टोलीमा भएका एक जनाले भने, ‘उनी आफूले फरक फरक समयमा कहिले ६५ रुपैयाँमा र कहिले ७० रुपैयाँमा किनेको बताइरहेका थिए।’

बुधबार अनुगमन भएपछि कालिमाटीका व्यवसायीहरुले प्याज तीनकुने पठाएको बुझिएको छ। कालिमाटीका व्यापारीहरुले पठाएको प्याज तीनकुनेका व्यापारीहरुले आलुका बोराले छोपेर राखेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

तीनकुनेका व्यवसायी दुलाले भने, ‘गाडीमा प्याज बोकेर आउँछन् । बेच्छन् । पैसा लिएर जान्छन् । उनीहरु बिल नै दिँदैनन् ।’

ग्राहकको भेषमा गएको टोलीले सोधखोज गर्दा अनुगमन टोली हो भन्ने थाहा पाएर नाज्दाले किलोको ५० रुपैयाँ घटाएर १०० रुपैयाँमा प्याज बिक्री गर्न थालेको टोलीमा सहभागी १ जनाले बताए।

अनुगमन टोलीले तीनकुनेमा दर्ता नभएका होलसेल पसलहरु, परिचय पाटी नराख्ने पसल, खरिदविक्रि विल नराख्ने पसलसहित नापतौलको प्रमाण पत्र समेत नभएका पसलहरु गरी ३ वटा होलसेल पसलको कारोबारसमेत रोक्का गरिएको छ।

तीनकुनेको कृषि बजारमा १२८ वटा तरकारीका स्टल छन् । बाहिरपट्टिका सटरबाट होलसेल व्यापार हुन्छ भने भित्रका पसलबाट खुृद्रा व्यापार हुन्छ। हरित कृषि सहकारीले सञ्चालन गरेको बजारमा होलसेल पसलहरु दर्ता भएका छैनन्।

महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी नायव निरीक्षक बिनोद बिक्रम बस्नेत, सहकारीका कार्यकारी प्रमुख कोमलचन्द्र बरालको रोहबरमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभागबाट लिखित रुपमा व्यवसाय सञ्चालन गर्ने अनुमति नलिएसम्मका लागि कारोबार रोक्का गरेको बताइएको छ।

यसरी रोक्का हुनेमा शालिकराम दुलालले सञ्चालन गरेको दुलाल आलु भण्डार फर्म, ज्यातीनाथ तुलाधरले सञ्चालन गरेको उलक सब्जी भण्डार र बिजेश गौतमले सञ्चालन गरेको दर्ता हुन बाँकी होलसेल पसल रहेका छन्।

‘प्याजको भाउ बढेपछि कहाँबाट प्याज ल्याउने भनेर सोचिरहेका बेला कालीमाटीका व्यापारीले प्याज पठाइदिएको तीनकुनेका व्यापारीको भनाइ छ। पछि हामीले थाहा पायौं । हिजै कालीमाटी र बल्खुमा अनुगमन भएको रहेछ।’ उनीहरुले आफ्नो बचावट गर्दै भने, ‘प्याज पठाए तर बिल पठाएनन् । हामी आफैं अन्यौलमा छौं। उनीहरुले गर्दा हामी पो फस्यौं ।’

अनुगमनमा उपभोक्ता अधिकार अनुसन्धान मञ्च, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग, स्थानीय प्रहरी, नगर प्रहरीका प्रतिनिधिसमेत रहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *