डरमाथि भोक हावी भएपछि परिवार छोडेर विदेशिँदै युवाहरु

बिनेश खनाल
१ असोज २०७७ १८:२७
8
Shares

काठमाडौं। हातमा राहदानी बोकेर लाइनमा लागेका युवाहरु मलिन अनुहार लिएर स्वेदशलाई विदाई गर्दै थिए। कोरोना महामारीका कारण मथिंगल नै उथलपुथल भएकाबेला उनीहरुको मन अमिलो बनाउने अर्को कारण पनि थियो – यस्तो बेला पनि परिवारबाट छुट्टिनु।

देश र परिवारलाई छोडेर खाडीमा जानु नेपाली युवाहरुको रहर होइन, बाध्यता हो। यही बाध्यतालाई कोरोना महामारीले पनि रोक्न सकेन। सरकारले विदेशमा कामका लागि जानेहरुलाई श्रम स्वीकृति दिन शुरु गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय डिपार्चर टर्मिनलमा दैनिक सयौं युवाहरुको लाइन देखिन्छ।

बिहीबार बिहान करिब १० बजेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिसीनेपाल टिम पुग्दा केही युवाहरु हातमा राहदानी र हवाइ टिकट लिएर लाइनमा उभिएका थिए। उनीहरु वैदेशिक रोजगारीको लागि जान ‘प्रस्थान कक्ष’ बाहिर एक मिटरको दूरी कायम गर्दै लाइनमा थिए। केहीबेरपछि एयर अरेबियाको जहाज उनीहरुलाई बोकेर यूएईको शारजाह उड्दै थियो।

अनुहारमा खुशी नभए पनि उनीहरुको आँखामा भने धन कमाएर फर्किने सपना थियो। लाइनमा उभिएका उनीहरुलाई कोरोना महामारीको बीचमा तपाईँहरु किन विदेश जान लाग्नु भएको भनेर हामीले सोध्यौँ? अधिकांशको जवाफ थियो ‘नेपालमा काम गरेर खानलाई केही पनि छैन, परिवार पाल्नै पर्‍याेत्यसैले फेरि विदेश जान थालेको।’ लाइनमा उभिएका सबैजना लकडाउनअघि नै घरविदामा स्वदेश आएका युवाहरु थिए।

यूएई जान लाइनमा उभिएकी एक युवती थिइन्, काभ्रेकी बिनिता तामाङ। बिनिता ८ महिनाअघि यूएईबाट २ महिनाको विदा लिएर नेपाल आएकी थिइन्। घरविदा सकिएर उनको यूएई फर्किने दिन नजिकिँदै थियो। तर, नेपालमा कोरोना संक्रमणको दोस्रो केस भेटिएसँगै सरकारले लकडाउन गरेर पूरै देशलाई नै ठप्प पार्‍याे।

कोरोना जोखिमबाट बच्न आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा पनि पूर्णरुपमा प्रतिवन्ध लगाइयो। बिनिता यूएई फर्किन पाइनन्। दुई महिनाका लागि आएकी उनले ८ महिना नेपालमै बिताइन्। उनलाई कम्पनीले दुई महिनाको बिदा पनि मुस्किलले दिएको थियो।

यसपालीको विदामा उनले पहिला भन्दा बेग्लै किसिमको अनुभव गरेको सुनाइन्। बिनिताका अनुसार उनलाई यसपटक परिवारले यूएई फर्किन बिदा दिएनन्। ‘यसअघि उता कम्पनीबाट विदा पाउन मुस्किल हुन्थ्यो। कम्पनीलाई धेरै अनुरोध गरेपछि बल्लतल्ल विदा स्वीकृत हुन्थ्यो। तर, यसपाली भने घरपरिवारले विदा दिएनन्। जोखिम छ, जानु हुँदैन,दुःख सुख गरेर यतै बसौँला भनेर नपठाउनको लागि धैरै जोड गर्नुभयो, उनले भनिन्।

एयरपोर्टमा विदाइ गर्न पुगेका आफ्ना वुवाको मुखतिर हेर्दै बिनिताले थपिन् ‘फर्किनु मन त मलाई पनि थिएन। तर, नेपालमा बसेर काम गर्नलाई त्यस्तो अवसर पनि केही देखिँन। उता जागिर राम्रो भएको हुनाले जाने कठोर निर्णय लिएँ।’ छोरीले हामीसँग गरेको कुरा सुन्दा उनका बावुले पनि आँखाबाट टिलपिल आँसु झारिरहेका थिए।

उनी हामीसँग कुरा गर्दागर्दै प्रस्थान कक्षको गेटको मुखैमा पुगिसकेकी थिइन्। प्रहरीले उनको हातमा रहेको राहदानी, टिकट र कोरोना नेगेटिभ भएको रिपोर्ट चेक गर्दै थिए। विवरण चेक गरेपछि गेटमा खटिएका सुरुक्षाकर्मीले उनलाई भित्र जान अनुमति दिए।

पछाडी सानो व्याग भिरेकी, एउटा हातले तानेर लगेज गुडाइरहेकी बिनिता कुरा गर्दागर्दै प्रस्थान कक्षको गेटबाट भित्र छिरिन्। हामीले पनि शुभयात्रा भन्यौँ। उनले पनि विदाइको हात हल्लाएर ‘नमरी बाँचे फेरि भेटौँला’ भन्दै हाम्रो माझबाट ओझेल परिन्। उनले आफूले यूएईको वर–दुबईस्थित एक कम्पनीमा काम गर्ने बताएकी थिइन्। जहाँ उनीजस्तै अरु चार जना नेपाली युवती पनि कार्यरत थिए।

एयर अरेवियाकै सोही जहाजमा झापाका सुनिल घिमिरे पनि यूएई फर्किन लागेका थिए। यूएईको शारजाहबाट ६ महिनाअघि घरविदामा आएका घिमिरेले अहिले परिस्थिति केही सहज भएकोले फर्किन लागेको बताए। उनले भने, ‘नेपालमै बस्नु मन त लागेको थियो नि। तर, के गर्नु यहाँको परिस्थिति पनि यस्तै छ। अहिले सबैतिर कोरोनाको जोखिम त छँदैछ। उता काम चलिरहेको छ त्यसैले फर्किन लागेको हो।’ आफूलाई यूएई फर्किन कम्पनीले नै टिकट उपलब्ध गराएको उनले सुनाए। यूएई पुगेपछि कम्पनीले नै १४ दिन आफूहरुलाई सेल्फ क्वारेन्टाइनमा राख्ने पनि घिमिरेले बताए।

सोही लाइनमा उमेरले ४० कटेका दिलप्रसाद भट्टराई पनि यूएई फर्किन उभिएका थिए। उनी गएको माघ ५ गते विदामा नेपाल आएका थिए। तर, उता कम्पनी चलिरहँदा पनि सरकारले लकडाउन गरेपछि आफू फर्किन नपाएको उनको गुनासो थियो। ‘यो बेलामा त तपाई हामी सबैलाई घरमा बस्न मन लाग्छ, लागेको थियो होला। आ–आफ्नो समस्या र परिस्थिति हुन्छ। परिवार, बालबच्चा पाल्नकै लागि भएपनि फर्किनै पर्‍याे,’ उनले भावुक हुँदै भने, ‘यहाँ बसेर के नै पो छ र? सरकारले के गर्दिन्छ र यहाँ बसेर हामीलाई?’

भट्टराईलाई हामीले सरकारले ‘विदेशबाट फर्केकाहरुलाई स्वदेशमै व्यवस्थापन गछौँ’ भनेको कुरा अवगत गराउँदै भन्यौँ तपाई यो बारेमा जानकार हुनुहुन्छ? जवाफमा सरकारप्रति आक्रोश व्यक्त गर्दै उनले भने, ‘सरकारले त्यो गफ चुट्न लागेको धेरै वर्ष भयो। म विदेश हिँडन लागेको पनि धेरै वर्ष भयो, सरकारले त्यो भन्न लागेको पनि धेरै भयो। यहाँ मैले केही पनि सम्भावना देखेको छैन। गर्छु भन्नेलाई पनि खुट्टा मात्रै तान्न खोज्छन्, गर्न केही दिँदैनन्। आफूले काम गरिरहेको कम्पनीमा जान पाइन्छ भने किन नजाने भनेर फेरि फर्किन लागेको हुँ। कमसेकम दुई/चार पैसा त आउँछ। उताबाट पठाइदिएपछि यहाँ भएका बालबच्चालाई खान लगाउन त समस्या हुँदैन।’

हामीले लाइनमा उभिएकाहरुसँग कुराकानी गरिरहेकै बेलामा आफ्नो दुःख बिसाउन अर्का युवा पनि हाम्रो नजिकै आए। उनी थिए – इटहरीका शिवकुमार श्रेष्ठ। शिव पनि यूएई फर्किन थालेका थिए। उनी ८ महिनाअघि घरविदामा आएका थिए। अढाई महिनाको विदा लिएर आएका शिव लकडाउनले गर्दा ८ महिनासम्म नेपालमै रोकिन बाध्य भए। उनी यूएईको एक स्टील कम्पनीको अफिसमा डकुमेण्ट कन्ट्रोलरका रुपमा काम गर्छन्।

उनको पनि उस्तै दुखेसो थियो। मन नहुँदा नहुँदै विदेशिनु परेको। ‘यहाँ बसेर पनि कुनै रोजगारी छैन। आम्दानी नभएपछि कसरी बाँच्ने? कम्पनीले बोलायो त्यही भएर फर्किन लागेको हो,’ उनले भने।

विदेशबाट फर्केकालाई सरकारले रोजगारीको व्यवस्था मिलाइदिन्छ भन्ने कुराप्रति लक्षित गर्दे श्रेष्ठले अगाडि थपे, ‘सरकारकोे यो कुरा बोलीमा मात्रै सिमित भएको छ। पहिला व्यवहारमा गरेर देखाउनु पर्छ। यहीँ बेरोजगार भएका युवाहरुलाई त रोजगारी दिन सकेको छैन। हामी खाडीमुलुकमा रहेका युवाहरुलाई बोलाएर रोजगारी दिने त कुरै छैन। पहिला यता भएकालाई व्यवस्थित गरियोस्। अनि त्यसपछाडी हामीलाई फर्काउने कुरा गर्नुपर्छ। वातावारण सहज भयो भने हामी पनि फर्किन्छौँ, रहर छैन विदेशी भूमिमा पसिना बगाउन।’

घरविदामा आएर ७ महिनापछि यूएई फर्किन लागेका पदमबहादुर बानीयाँले महामारीकै बीचमा मन भारी बनाउँदै विदेश लाग्नु परेको सुनाए। नेपालमा गरीखानलाई कुनै विकल्प नदेखेपछि विदेशमै फर्किने सोच बनाएको उनको भनाइ छ। उनले भने, ‘घरमा बसेर पनि नहुने। कम्पनीले बोलाइराखेको छ। त्यसैले फेरि जान लागेको हुँ ।’ बानियाँ यूएईको एक कम्पनीमा सामान्य कामदारको रुपमा कार्यरत छन्।

बानियाँले पनि यसपाली आफू निकै विक्षिप्त भएको बताए। उनको परिवारको पनि उनी अब विदेश नजाउन् भन्ने चाहना थियो। जसोतसो गरेर नेपालमै बस्नु पर्छ, विदेश फर्किन हुन्न भनेर परिवारका सदस्यले अड्डी कसेका थिए। बानियाँ नेपाल फर्किएको पनि धेरै समय बितेको थियो। विदेश छँदा जोहो गरेको अलिकति पैसा पनि सकिन थाल्यो। बेखर्ची भएपछि उनी छट्पटाउन थाले। अन्नतः परिवारको इच्छाविपरीत भए पनि फेरि विदेशीने उनले अठोट गरे।

‘यसपाली घरमा लामै समय बसियो। कमाइ नहुँदाको पीडा कस्तो हुँदो रहेछ भन्ने पनि बुझियो,’ उनले आफ्नो दुःख सुनाउँदै भने, ‘परिवारले त जोखिम छ, विदेशमा पनि काम कतिबेला बन्द हुन्छ निश्चित छैन। काम बन्द भए फेरि फर्किन उत्तिकै गाह्रो हुन्छ। जान हुँदैन, जाने नै होइन भनेका थिए। तर, यताउती हेर्दा त्यही परिवारलाई पालनपोषण गर्न केही उपाय देखिँन। विदेश फर्किने नै निर्णय लिएँ। परिवारको असहमतिमा हिँड्नु पर्दा मन अमिलो भएको छ। साह्रै दुखित छु।’

यूएई जानै लागेका कपिलवस्तुका अर्का युवाले पनि भोको पेटले डर नछेक्ने सुनाए। उनले भाग्यमा जे लेखेको छ त्यो कुरा जहाँ भए पनि भएरै छोड्ने बताए। कोरोना संक्रमण नेपालमा पनि बढिरहेको अवस्थामा मृत्युसँग डराएर बाँच्न नसकिने उनको भनाइ थियो। ‘खानेकुरा नभएपछि भोको पेटलाई कुनै कुराको डर हुँदैन। कोरोनासँग डराएर कति दिनसम्म बस्नु? स्वदेशमा काम गर्नलाई केही छैन त्यसैले विदेश जानुको विकल्प छैन,’ उनले भने, ‘कोरोना लाग्यो भने विदेशमा पनि उपचार गर्न सकिन्छ। त्यताको उपचार बरु यताको भन्दा गुणस्तरीय हुन्छ।’ उनले पनि आफू परिवारले नर्फिन आग्रह गर्दागर्दै आफू जवरजस्ती फर्किन लागेको बताए।

कोरोनाले रोकेन विदेश जान

कोरोनाभाइरसको महामारीका कारण वैदेशिक रोजगारीमा गएका धेरै युवाले गर्दै आएको रोजगारीबाट हात धुन बाध्य भए। रोजगारी गुमाएर विभिन्न देशमा अलपत्र परेका ६५ हजारभन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन्। भदौ ३१ गतेसम्म विदेशबाट ६५ हजार ३६५ नेपाली स्वदेश फर्किसकेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए। अझै हजारौंको संख्यामा नेपाली स्वदेश फर्किन चाहेका छन्। श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपाली नियोगहरुसँग अझै हजारौँ नेपालीलाई तत्काल फर्काउनु पर्ने सूची तयार छ।

तर, यसको विपरित लकडाउनअघि नै नेपाल आएका युवाहरु भने विदेश फर्किन थालेका छन्। त्यस्तै नयाँ युवाहरु पनि विदेश पलायन हुनलाई श्रम कार्यालय धाउन थालेका छन्। बन्द भएको श्रम स्वीकृति सरकारले ४ महिनापछि लकडाउनकै अवधिमा खुलाएको थियो। त्यतिवेला घरविदामा आएका कामदारलाई मात्र विदेश फर्किन पाउने गरी पुनः श्रम स्वीकृतिका लागि अनुमति दिइएको थियो। पछिल्लो समय सरकारले नयाँ श्रम स्वीकृति पनि प्रदान गर्ने निर्णय गरेको छ।

श्रम स्वीकृतिको प्रक्रिया सुचारु भएसँगै हालसम्म ७ हजार १६१ जनाले विदेश फर्किन पुनः श्रम स्वीकृति लिएको श्रम कार्यालय ताहाचलका सूचना अधिकारी छत्र शाहले डिसी नेपाललाई जानकारी दिए। तीमध्ये ६ हजार ६४६ जना पुरुष हुन् भने बाँकी महिला कामदार हुन्।

यसरी पुनः श्रम स्वीकृति लिनेहरुमा सबैभन्दा धेरै यूएईबाट फर्र्किएका कामदार छन्। फेरि यूएई फर्किन ३ हजार ४६१ जनाले श्रम स्वीकृति लिएका छन्। तीमध्ये ३ हजार १०५ पुरुष हुन् भने ३५६ जना महिला कामदार हुन्। त्यस्तै ४६ जना कामदारलाई संस्थागत तवरबाट नयाँ स्वीकृति प्रदान गरिएको छ। त्यसैगरी व्यक्तिगत ३२ जनाले नयाँ श्रम स्वीकृति लिएको सूचना अधिकारी शाहले जानकारी दिए।

अहिले जसरी हुन्छ विदेशमै फर्किने सोँच बनाएर युवाहरु श्रम कार्यालयमा श्रम स्वीकृतिका लागि धाउन थालेका छन्। अहिले देशभरका श्रम कार्यालयहरुमा सेवाग्राहीको चाप बढेको छ। यो चाप आगामी दिनमा अरु बढ्दै जाने देखिन्छ। फर्किन उडान सहज हुनेबित्तिकै विमानस्थलमा विदेश जाने युवाहरुको चाप अत्यन्तै बढ्ने अहिले नै अनुमान गर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *