चुनावअगावै सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने ट्रम्पको चाहना

डिसी नेपाल
४ असोज २०७७ ९:५१

बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो साता सर्वोच्च अदालतमा एकजना महिलालाई न्यायाधीशका रुपमा मनोनयन गर्ने बताएका छन्। राष्ट्रपतीय निर्वाचनका लागि केही साता बाँकी रहँदा सर्वोच्च अदालतकी न्यायाधीश रुथ बेडर गिन्सबर्गको ८७ वर्षको उमेरमा शुक्रवार निधन भएको थियो।

उनको निधनपछि उत्तराधिकारी को हुने भन्ने विषयमा राजनीतिक विवाद चुलिरहेका बेला ट्रम्पले आउँदो साता गिन्सबर्गको ठाउँमा अर्की एक महिलालाई नै मनोनयन गर्ने बताएका हुन्।

ट्रम्पका डेमोक्र्याट प्रतिद्वन्द्वी जो बाइडनले गिन्सबर्गको ठाउँमा अर्को न्यायाधीश ल्याउनका लागि नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावसम्म कुर्न भनेका छन्। अमेरिकी कानुनका महत्त्वपूर्ण मुद्दामा निर्णय सुनाउनका लागि नौ सदस्यीय अदालतको सैद्धान्तिक सन्तुलन निकै महत्त्वपूर्ण रहन्छ। सत्ताइस वर्ष सेवा गरेकी गिन्सबर्ग अदालतकी चार उदारवादी न्यायाधीशमध्ये थिइन्।

उनको निधनको अर्थ अब उनको ठाउँमा आउने न्यायाधीशले अदालतको शक्ति सन्तुलनलाई कन्जरभेटिभतर्फ निर्णायक रूपमा परिवर्तन गर्न सक्नेछ। गिन्सबर्गको उत्तराधिकारीका रुपमा निर्णय गर्ने ट्रम्पले बताइरहँदा डेमोक्र्याटहरू त्यही कारण पनि आक्रोशित बनेका छन्।

“आउँदो साता म उम्मेद्वार अघि सार्नेछु। उम्मेद्वार महिला हुने छिन्,” नर्थ क्यारोलाइनामा शनिवार बोल्दै ट्रम्पले भने। “मलाई लाग्छ त्यो ठाउँमा महिला हुनुपर्छ किनभने मलाई पुरुषभन्दा महिला धेरै मन पर्छ।”

ट्रम्पले यस्तो बताइरहँदा केही समर्थकहरूले समर्थनमा नारा लगाएका थिए र राष्ट्रपतिको एउटै कार्यकालमा तीन न्यायाधीश मनोनयन गर्ने दुर्लभ अवसर ट्रम्पको सामु छ। ट्रम्पले यसअघि नै सर्वोच्च अदालतमा दुईजना न्यायाधीश मनोनयन गरिसकेका छन्।

अमेरिकाको सर्वोच्च अदालतमा न्यायाधीशको पद जीवनकालका लागि हुन्छ। राष्ट्पति ट्रम्पले गिन्सबर्गको उत्तराधिकारी “एकदमै प्रतिभाशाली, एकदमै कुशल” हुने बताए।

यसअघि ट्रम्पले पुनरावेदन अदालतका दुई महिला न्यायाधीशहरू एमी कोनी ब्यारेट र बारबरा लगोवालाई सम्भावित छनोटका रुपमा प्रशंसा गरेका थिए।

सन् २०१६ मा अमेरिकाको सर्वोच्च अदालतमा डेमोक्र्याट राष्ट्रपति बराक ओबामाको छनोटलाई सिनेटका रिपब्लिकनहरूले रोकिदिएको तर्क गर्दै नोभेम्बरको चुनावअघि कुनै मनोनयन हुन नहुने भन्दै अहिले डेमोक्र्याटहरूले विरोध जनाइरहेका छन्।

अमेरिकामा न्यायाधीशहरूको नियुक्ति राजनीतिक प्रश्न हो जसको अर्थ त्यहाँ राष्ट्रपतिले न्यायाधीश को बन्ने भन्ने विषय अघि सार्न सक्छन्। त्यसपछि राष्ट्रपतिको चयनलाई स्वीकार गर्ने वा नगर्ने भन्ने सिनेटको मतले तय गर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *