आजदेखि आन्तरिक उडान सुरु

डिसी नेपाल
५ असोज २०७७ ७:०९

काठमाडौं। छ महिनादेखि बन्द रहेको नेपालको नियमित आन्तरिक उडान सोमबार (आज) बाट सुचारु भएकाे छ।

विशेष अवस्थाको स्वास्थ्य मापदण्ड तयार पारेर आन्तरिक उडानको तयारी गरिएको हो। नागरिक उड्डयन प्राधिकरणले आइतबार काठमाडौंसहित देशभरका सबै विमानस्थलका लागि ९ वटा वायुसेवा कम्पनीहरुलाई उडान तालिकासहित अनुमति दिएको छ।

प्राधिकरणका अनुसार सोमबार पहिलो दिन काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज, सुर्खेतबाट ५४ वटा उडानलाई अनुमति दिइएको छ। प्राधिकरणले सोमबार बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगम (आन्तरिक) लाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई ५, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी सोमबार ५४ वटा उडानलाई अनुमति दिइएको छ।

आन्तरिक उडानमा सबै वायुसेवाले जहाजको यात्रु क्षमताअनुसार, टिकट बिक्री गर्न पाउनेछन्। विमानस्थलमा यात्रुहरुले अब आफू स्वस्थ्य रहेको फारमसहित विस्तृत विवरण भरेर बुझाउनु पर्ने नियम छ। त्यस्तै पहिलेको दाँजोमा उडान सयम भन्दा कम्तीमा दुईदेखि डेढ घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ।

स्वास्थ्यका सबै मापदण्ड कडाइका साथ पालना होस् भनेर सामान्य अवस्थामा दैनिक रूपमा हुँदै आएका उडानको २५ प्रतिशत मात्र विमान सञ्चालनमा आउनेगरी अनुमति दिइएको प्राधिकरणले जनाएको छ।

यसअघि असोज १ गतेबाटै आन्तरिक उडान सुरु गर्ने भनिए पनि सरकार र वायुसेवा सञ्चालकहरूबिच पहिले भनिएको आधा मात्र यात्रु बोक्ने बिषयमा कुरा नमिल्दा उडान हुन सकेको थिएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *