टोल सिकाइ केन्द्रमार्फत विद्यार्थी पढाउँदै

डिसी नेपाल
७ असोज २०७७ १७:१७

सल्यान । जिल्लाको दार्मा गाउँपालिकाले टोल सिकाइ केन्द्रमार्फत विद्यार्थीलाई अध्ययन अध्यापन शुरु गराएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण विगत छ महिनादेखि शिक्षण संस्था बन्द भएपछि गाउँपालिकाले टोल सिकाइ केन्द्रमाफर्त पठन पाठन शुरु गराएको हो ।

आधा शैक्षिक सत्र सकिन लाग्दा विद्यालयमा पठन पाठन गराउन समस्या भएपछि टोल सिकाइ केन्द्रमार्फत विद्यार्थीलाई पठन पाठन गराउन थालेको गाउँपालिकाका शिक्षा अधिकृत शेरप्रसाद ढकालले बताए । उनले भने, “माध्यमिक र आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीहरु धेरै र सेवा क्षेत्र पनि धेरै हुने भएकाले कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि टोल टोलमा नै पुगेर पठनपाठन गराउने निर्णय गरेका हौंँ ।’

टोल सिकाइ केन्द्रमा विद्यालय व्यवस्थापन, शिक्षक र अभिभावक सङ्घका पदाधिकारीको संयोजकत्वमा ७ सदस्यीय टोल सिकाइ सहजीकरण व्यवस्थापन समिति गठन गरिएको शिक्षा अधिकृत ढकालको भनाइ छ । “कोभिड–१९ को जोखिम कम, विद्यार्थी सङ्ख्या न्यून, सानो सेवा क्षेत्र र क्वारेन्टिन नभएका विद्यालयमा प्राथमिक तहको सिकाइ सहजीकरण गरिने छ”, उनले भने, “प्राथमिक तहका विद्यार्थीलाई एक दिन ग्याप राखी विद्यालयमा नै पढाइ रहेका छौं ।”

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विद्यालय बन्द भएपछि टोल सिकाइ केन्द्रबाट शुरु भएको पठन पाठन प्रभावकारी भएको जनज्याती माध्यमिक विद्यालय फारुलाचौरका प्रधानाध्यापक मिनराज वलीले बताए । विशेषगरी माध्यमिक र आधारभूत तहका विद्यार्थीलाई लक्षित गरी टोल सिकाइ केन्द्रमार्फत शिक्षण भइरहेको उनको भनाइ छ ।

प्रधानाध्यापक वलीले माध्यमिक विद्यालयका लागि आठ र आधारभूत तहका विद्यालयका लागि चार गरी कूल १२ वटा सिकाइ केन्द्र स्थापना गरिएको बताए । टोल सिकाइ केन्द्रमा शिक्षकले घुम्ती प्रणाली र फोन सम्पर्कबाट पनि पठनपाठन गराइरहेको उनको भनाइ छ । सिकाइ सहजीकरणका लागि विद्यालयले विद्यार्थी सङ्ख्याका आधारमा टोल सिकाइ केन्द्र स्थापना गर्न सक्ने र उक्त केन्द्रमा साबुन पानीको उचित व्यवस्था गरिएको पनि उनले बताए ।

दार्मा गाउँपालिकामा छ माध्यमिक विद्यालय, १० निम्न माध्यमिक विद्यालय र १७ प्राथमिक विद्यालय छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *