लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु
बुटवल । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी ५८५ जनाको मृत्यु भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सो अवधिमा प्रदेशभर कूल चार हजार ७९७ वटा सवारी दुर्घटना भएका थिए।
आज आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक निशान थापाले दुर्घटनामा परी ४२४ पुरुष, ११० महिला र ५१ बालबालिकाको ज्यान गएको जानकारी दिए। दुर्घटनामा परी एक हजार ७९९ जना गम्भीर घाइते भएका छन् भने छ हजार २५९ जना सामान्य घाइते भएका छन्।
तीव्र गति, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउनु दुर्घटनाको मुख्य कारण रहेको प्रहरी उपरीक्षक थापाले बताए। दुर्घटनामा संलग्न कूल छ हजार ८२२ सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल र स्कुटर रहेका छन्। तथ्याङ्कअनुसार चार हजार २८६ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका छन्।
यस्तै ६६६ जिप तथा कार, ५०९ टेम्पो, ४९५ शारीरिक शक्तिले चल्ने सवारी साधन, २१० बस तथा २०४ वटा ट्रक र ट्याक्टर दुर्घटनामा संलग्न रहेका छन्।
यस्तै सोही आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख २० हजार ४८ वटा सवारी साधनलाई कारबाही गरिएको छ। उक्त कारबाहीबाट रु १३ करोड ५८ लाख छ हजार ६३ राजस्व सङ्कलन भएको प्रहरी उपरीक्षक थापाले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment