सातवटै प्रदेशमा प्रशिक्षण केन्द्र

डिसी नेपाल
१३ असोज २०७७ २२:३३

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका क्षेत्रीय कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । मन्त्रालयका सहसचिव डा। गोपीकृष्ण खनालले क्षेत्रीय प्रशिक्षण केन्द्रका भवन लगायत अन्य संरचना र जिन्सी सामाग्री सम्वन्धित प्रदेशलाई हस्तान्तरण गरिएको जानकारी दिए।

उनका अनुसार प्रदेश नंं १ लाई ग्रामीण विकास प्रशिक्षण केन्द्र झापा, प्रदेश नंं २ लाई ग्रामीण विकास प्रशिक्षण केन्द्र जनकपुर, वागमती प्रदेशलाई ग्रामीण विकास प्रशिक्षण केन्द्र ललितपुर, गण्डकी प्रदेशलाई नगरविकास प्रशिक्षण केन्द्र वगर पोखरा, प्रदेश नं. ५ लाई ग्रामीण विकास प्रशिक्षण केन्द्र नेपालगञ्ज, कर्णाली प्रदेशलाई महिला विकास प्रशिक्षण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रदेशलाई ग्रामीण विकास प्रशिक्षण केन्द्र हस्तान्तरण गरिएको छ । गत फागुन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीय प्रशिक्षण केन्द्रलाई सम्बन्धित प्रदेश र प्रदेश भित्रका स्थानीय तहको क्षमता विकासमा उपयोग गर्ने गरी सम्बन्धित प्रदेशमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

उनले हस्तान्तरित गरिएका केन्द्रबाट नै प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम मार्फत प्रदेश तथा स्थानीय तहका जनशक्तिको क्षमता विकासका कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो । यसैगरी हस्तान्तरित कार्यालयबाट नै प्रदेश तथा प्रदेशभित्रका स्थानीय तहको सेवा प्रवाह तथा विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउने गरी नियमित प्रशिक्षण तथा अनुसन्धानका काम सञ्चालन गरिने छ ।

सरकारले तत्कालिन स्थानीय निकायको प्रशासकीय तथा व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्ने उद्देश्यले २०५० सालमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान स्थापना गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *