भ्रष्टाचार आरोपमा पूर्ववडाध्यक्षविरुद्ध मुद्दा

डिसी नेपाल
१२ साउन २०८३ २२:५२

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–५ का पूर्ववडाध्यक्ष विजयकुमार यादवविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार भारत सरकारको सहयोगमा प्राप्त एम्बुलेन्स वडा कार्यालयको जिन्सीमा आम्दानी नबाँधी आफ्नै नियन्त्रणमा राखी सञ्चालन गरिएको थियो।

एम्बुलेन्स सञ्चालनबाट भएको आम्दानी तथा खर्चको अभिलेख नराखिएको र सरकारी कोषमा दाखिला गर्नुपर्ने रकमसमेत दाखिला नगरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा तीन वर्ष पाँच महिनाको अवधिमा एम्बुलेन्स सञ्चालनबाट रु १५ लाख नौ हजार २५० बराबरको सरकारी सम्पत्तिमा हानिनोक्सानी भएको आयोगको निष्कर्ष छ। सोही रकमलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल उपरको मागदाबी गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार अनुसन्धानका क्रममा आरोपितले रु तीन लाख ८१ हजार ५९७ दाखिला गरेका छन्। उक्त रकम कटाएर बाँकी रु ११ लाख २७ हजार ६५३ असुलउपर गर्नसमेत मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *