युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
झापा। भद्रपुर नगरपालिका-१० चन्द्रगढीस्थित पोख्रेल टोलमा एक युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। युवतीका मृतकका माइती पक्षले घटनालाई शङ्कास्पद भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार ती युवतीको नौ महिनाअघि चन्द्रगढी निवासी प्रसिल कोइरालासँग विवाह भएको थियो। ती युवती गत सोमबार राति करिब ११ः४५ बजे घरभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
घटनापछि मङ्गलबार बिहान माइती पक्ष तथा स्थानीयहरु जिल्ला प्रहरी कार्यालय झापा पुगेका थिए। उनीहरूले युवतीको मृत्यु सामान्य आत्महत्याको घटना नभई शङ्कास्पद रहेको दाबी गर्दै घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्।
युवतीको शव माइती पक्षले प्रादेशिक अस्पताल भद्रपुरमा परीक्षणका लागि सहमति नजनाएपछि धरान पठाइएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार घटनाको प्रकृति, मृत्युको कारण र घटनाअघि भएका गतिविधिबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ।
शव परीक्षण प्रतिवेदन, फरेन्सिक प्रमाण र अनुसन्धानबाट प्राप्त अन्य तथ्यका आधारमा घटनाको वास्तविकता सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment