यूएईमा अलपत्र नेपाली कामदारलाई खाद्यान्न सहयोग, देश फर्किने अन्यौल यथावत

डिसी नेपाल
१४ असोज २०७७ ६:४१

यूएई। बिगत सात महिनादेखि यूएईमा अलपत्र नेपालीहरुको लागि सहयोग जुट्न सुरु भएको छ। डिसी नेपालले शनिबार उनीहरु भोकै रहेको र गैरआवासीय नेपाली संघ यूएईले पनि साथ छोडेको रिपोर्ट प्रसारण गरेको थियो।

डिसी नेपालमा रिपोर्ट आएसँगै समस्यामा परेका नेपालीका लागि नेपाली मजदुर एकता समाजमार्फत यूएईमै रहेकी सुबी बुढाथोकीले एक हप्तासम्म पुग्ने खाद्यान्न सहयोग गरेकी छिन्।

त्यस्तै यूएईमै रोजगारीको सिलसिलामा रहेका नवीन बज्राचार्यले एकजनाको टिकट खरिद गर्न पुग्ने १५ सय दिराम सहयोग गरेका छन्। समस्यामा परेका नेपालीहरुलाई उत्तम भण्डारीले आफ्नो कोठामा आश्रय दिइरहेका छन्।

फ्लेक्स फेसिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत १७ जना अलपत्र नेपालीहरु ओभरस्टे जरिवाना तिर्न नसकी १० अगस्टमा एयरपोर्टबाट फिर्ता भएका थिए। गैरआवासीय नेपाली संघ यूएईले खान र बस्नको लागि सहयोग गर्दै आएको थियो तर अन्तिम समयमा आएर गैरआवासीय नेपाली संघ यूएईले पनि सधैं सहयोग गर्न नसक्ने भन्दै उनीहरुको साथ छोडेको अलपत्र नेपालीहरूले डिसी नेपाललाई बताए।

नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ यूएई र युएईमा रहेका विभिन्न नेपाली संघ सस्थाहरुले पीडित नेपालीहरुलाई नयाँ काममा लगाइदिने बताएसँगै कामका लागि ७ जना तयार पनि भएका थिए।

नयाँ काममा लगाइदिने भने पनि कामको लागि कुरा गर्न जाँदा उनीहरुसँग काममा लगाए बापत प्रतिव्यक्ति १५ सय दिराम मागिएको थियोे । खान र बस्न नै समस्यामा परेका पीडितहरु काम सुरु गर्नु अघि नै काममा लगाएबापत धेरै रकम मागिए पछि निराश हुँदै फर्केका थिए।

सात दिनका लागि खाने सामग्री जुटे पनि उनीहरु त्यसपछि के गर्ने भन्ने अन्यौलमा छन्। यूएईस्थित नेपाली दूतावासमा पटक पटक यसबारे कुरा पुगे पनि दूतावासले अझैसम्म समस्या समाधान गरी उनीहरुलाई नेपाल फर्काउनेबारे ठोस पहल गर्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *