एनआरएनए अमेरिकाको चुनावमा धाँधलीबारे छानविन समिति गठन

डिसी नेपाल
१४ असोज २०७७ ८:५३

बासिंगटन डिसी। गैरआवासीय नेपाली संघ, अमेरिकाको एक वर्ष चारअहिनाअघि भएको निर्वाचनमा व्यापक धाँधली भएको भन्दै संघको अन्तर्राष्ट्रिय समितिमा पटक पटक उजुरी परेपछि धांधलीबारे छानविन गर्न एउटा उच्चस्तरीय छानविन समिति गठन भएको छ।

अमेरिकाज क्षेत्रका क्षेत्रीय प्रतिनिधि राजन त्रिपाठीको अध्यक्षतामा ५ सदस्यीय छानविन समिति बनेको र सो समितिले गत निर्वाचनमा धांधलीपूर्वक २०९३ जना मतदाता तयार गरी फर्जी मत हालेकोबारे विस्तृत छानविन गर्ने छ।

‘मैंले भर्खर पत्र पाएको छु, आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्नेछु’, संयोजक तोकिएका त्रिपाठीले डिसी नेपालसँग भने, ‘वास्तविकता के हो त्यो पत्ता लगाई सार्वजानिक गरिने छ।’

निर्वाचनमा धाँधली भयो धांधली रोकी पाऊं, प्रजातान्त्रिक अधिकारको हनन् भयो रोकी पाऊँ भनेर अमेरिकी अदालतमा मुद्दा दायर गर्नेलाई चुनाव नै लड्न नदिने निर्णय गरेर गैरआवासीय नेपाली संघ अमेरिकाको भर्चुअल साधारण सभा केही समयअघि समापन भएको थियो।

धाँधलीबारे आवाज उठाउने व्यक्तिलाई नै गलहल्याउने काम गरेको भन्दै सो साधारणसभासमेत विवादमा परेको सन्दर्भमा अन्तर्राष्ट्रिय समितिले धाँधलीबारे छानविन समिति गठन गरेको हो।

के थियो २०९३ फर्जी मत प्रकरण?

निर्वाचनमा २०९३ मतदाताहरु फर्जी तयार भएको र उनीहरुको प्रमाणीकरण हुन नसके पनि मतदाता सूचिमा नाम राखिएको विषयले विवादको रुप लिएको थियो। यसलाई मिलाउन एनआरएनका अभियन्ता गौरी जोशी र सबै तीन जना अध्यक्षका उम्मेदवार बीच छलफल भयो।

तत्कालीन अध्यक्षका उम्मेद्वार सुनील साहले त्यो केही होइन भेरिफाइ भएको हो भन्ने जिकिर गरेका थिए जवकि आईटी कमिटीले प्रमाणित गर्न सकेको थिएन।

गौरी जोशीले ती तिनै जनाको बुझाइ, भोलिपल्ट हुने चुनावमा यसको असर र उनीहरुको बिचार लेखी पठाउन अनुरोध गरे। अध्यक्षका दुई प्रत्यासीहरु सूर्य लम्साल र संजय थापाले यस्तो अवस्थामा चुनाव हुँदैन, ती २०९३ पनि भेरिफाई गरेपछिमात्र चुनाव गर्नुपर्छ भनी लेखेर पठाए भने सुनिल साहले सबै राम्रो छ, आइटी कमिटिको निर्णय गलत हो, चुनाव भोलि नै हुनुपर्छ भनी लेखेका थिए।

आईसीसीले अमेरिकाको न्युयोर्कको समय अनुसार मे १८, २०१९ मा (घोषित एन सी सी अमेरिकाको चुनाव हुने भनिएको दिन) बिहान ४ बजेर १५ मिनेटमा एक मिटिङ्ग राख्यो। उक्त मिटिंगमा तिनैजना अध्यक्षका प्रतिस्पर्धी, तत्कालीन क्षेत्रीय संयोजक गौरी जोशी, आइसीसी अध्यक्ष भवन भट्ट, आइसीसी महासचिव बद्री के सी उपस्थित थिए। तिनै जना अध्यक्षका उम्मेदवारले आआफ्ना कुरा राखे।

सूर्य लम्साल र संजय थापाले २०९३ मतदाता भेरिफाइ गरेपछिमात्र चुनाव गर्नुपर्ने कुरामा कडा रुपमा प्रस्तुत भए। सुनिल साहले भने तत्कालीन एनसीसी अध्यक्ष डा. केशव पौडेलले यो २०९३ भेरिफाइ गर्नुभएको हो भन्ने दावी प्रस्तुत गरेका थिए। साहले तत्कालीन अध्यक्ष केशब पौडेलले भेरिफाइ गरेकोले सबै भेरिफाइड हुन् र चुनाव आजै हुनुपर्छ अडान पनि लिए। उनलाई नेपाली कांग्रेसको तर्फबाट आधिकारिक उम्मेद्वार भनिएको थियो।

तर, त्यही बैठकमा गौरी जोशीले पनि २०९३ भेरिफाइ नभएकोले भेरिफाइ गरेपछि मात्र चुनाव गर्न राम्रो हुन्छ भनेका थिए। यो सबै सुनेपछि अध्यक्ष भवन भट्टले महासचिवप्रति निर्णयार्थ के गर्ने भन्ने प्रश्न तेस्र्याए।

तत्कालीन महासचिव बद्रि केसीले सामाजिक संस्थामा सबैको चित्त बुझाएर जानुपर्ने भएकाले र कुनै पनि एनसीसीको चुनाव सुरु नभएको र आइसीसीको चुनाव पनि निकै टाढा भएकोले एक दुई हप्ता चुनाव सारेरै भएपनि सबैको चित्त बुझाएर का गर्नु पर्ने रणा राखे। उनले पनि २०९३ जना मतदाता भेरिफाई गराएर चित्त बुझाएरमात्र चुनाव गनुपर्ने धारणा राखे।

तर, भवन भट्टले एक्कासी आफ्नो कुरा फेरे। उनले केशव पौडेललाई सोधेर टुंगो लगाउने धारणा अघि सारे। एकाविहानै पौडेललाई खोज्न थालियो। बिहानको करिव छ बज्न लागेको थियो “एनसीसी अध्यक्ष केशब पौडेल सुतिरहेको भन्ने कुरा गरियो। उठाउन पर्यो भनेर गौरी जोशीलाई लगाइयो। फोन उठेन भनेर गौरी जोशीले रिपोर्टिग गरेका थिए त्यसबेला।

आफ्ना अध्यक्षलाई फोन गरेर मिटिंगमा बोलाउन सुनिल साहलाई भनियो। फोन उठेन भनेर सुनिल साहले भनेपछि निकै बेर सन्नाटा भयो। धेरै बेरपछि “ल केशब पौडेल उठ्नु भयो’ भन्ने खबर आयो। मिटिङमा केशब पौडेलको आगमन भयो र उनलाई बोल्ने मौका दिइयो। उनले चर्को स्वरले कडा रुपमा प्रस्तुत हुँदै भने, “यो भेरिफाई त्यही भेरिफिकेसन कमिटीले गरेको हो मैले गरेको होइन”।

उनको दावी र सुनील साहको दावी फरक फरक आयो कसले भेरिफाइ गरेको हो भन्नेबारे। तर उनले चुनाव गरेपछि पनि मतदाता भेरिफाइ गर्न सकिने प्रस्ताव गरे। “चुनाव आजै गरौँ र त्यसपछि त्यो २०९३ को भेरिफाइ पनि गरौँ, यदि एक भोट पनि तल माथि भयो भने म जेल जान तैयार छु” भनेर पटकपटक दोहोर्याए।

त्यो सुनेपछि अध्यक्ष भवन भट्टले “एनसीसी अध्यक्षको कुरा सुनेपछि म यो चुनाव गर्न भन्छु। साथै यो चुनाव लगत्तै भेरिफिकेशन कन्टिन्यु गर्न पनि भन्छु। यदि तलमाथि भएमा म यो चुनाव बर्खास्त गरिदिन्छु” भनेका थिए। समाचारअनुसार, महासचिवले निर्णयको माइन्यूट सबैलाई पठाएका थिए र सो बैठकको अडियो रेकर्ड पनि गरिएको थियो। त्यसपछि त्यही दिन चुनाव भयो।

संयोग यस्तो भयो कि त्यही २०९३ मतले सुनिल साहले चुनाव जिते। त्यसयता यो विवादले अमेरिकाको एनआरएनएलाई छोडेको छैन।
सूर्य लम्सालले आइसीसीको निर्णयअनुसार नै त्यो २०९३ भेरिफाइ गर्न अनुरोध गरेर आइसीसलाई चिठी लेखे। सुनुवाई भएन।

फेरि लेखे, इमेल पठाए। वास्ता नभएपछि उनी अमेरिकी अदालतमा न्याय माग्न गएका थिए। अहिले अदातल गएको भनेर उनलाई आगामी निर्वाचन लड्नै नदिने प्रस्ताव पारित गरिएको अवस्थामा बल्ल अहिले आएर छानविन समिति गठन गरिएको छ।

यसैबीचमा नक्कली फेसवुक आइडी बनाएर विरोधमा उत्रनेजतिलाई काल्पनिक कुरा लेख्दै बद्नाम गरियो। यो कुराले ठूलो विवाद ल्याएपछि छानविन समिति त बनाइयो र त्यसले कारवाहीको सिफारिस गर्न सकेन।

त्यसपछि सो काण्डमा निलम्बनमा परेकाहरुलाई उन्मुक्ति दिने एकतर्फी निर्णय साहले गरेका थिए। यो काण्डमा भने आईसीसीले साहको निर्णय उल्टाइदिएको छ र निलम्बनलाई यथावत राख्ने निर्णय दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *