काेराेना माहामारीमा भारत पस्ने क्रम राेकिएन

डिसी नेपाल
२० असोज २०७७ ११:२३

महेन्द्रनगर। दशैं र तिहारमा मुग्लानबाट फर्किई परिवारसित चाडपर्व मनाउने यहाँको विगतको परम्परा यस वर्ष कोरोना कहरका कारण सङ्कटमा परेको छ।बन्दाबन्दीमा कोरोनाको त्रासले स्वदेश फर्किएकाहरु चाडपर्वका मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका छन्।

कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट सोमबार बिहान मात्रै २३७ जना रोजगारीका लागि भारतका विभिन्न शहर गएका छन्।“विगत वर्षहरुमा यो समयमा सीमानाकामा दशैं मनाउने घर आउनेहरुको लर्को देख्न पाइन्थ्यो ।”

जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने“ मजदूरीका लागि भारत जानेहरु चाडपर्वको मुखमा पनि जाने क्रम रोकिएन।”

सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य हो भारत। कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता मात्रै यहाँका नाकाबाट मात्र झण्डै दुई लाख नागरिक स्वदेश फर्किएका थिए। गाउँमा रोजगारी नपाइनाले पनि उनीहरु कोरोना कहरकै बीच पुनः भारत रोजगारीका लागि जाने क्रम गत महिनादेखि शुरु भएको हो।

त्यसैगरी लालाबालासहित भारतको पञ्जाब गइरहेका भीमदत्तनगरपालिका–९ का कल्लु टमाटाले चाडपर्वका बेला घर आउने समयमा आफूहरु बाध्यताले विदेशिरहेको बताए।“ छोराछोरीको पालनपोषण भन्दा ठूलो चाडपर्व होइनन् ।”  उनले भने, “ ज्यान रहे त पर्व र खुशीहरु कहाँ जालान्।”

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावित युवालाई स्वरोजगार लक्ष्यसहित कृषि तथा पशुतर्फ रोजगारी दिन आवदेन लिएको छ तर भारत जाने क्रम भने रोकिएको छैन। कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जंगबहादुर मल्लले बन्दाबन्दीमा सात महिनादेखि बेरोजगार युवा बाध्यताले चाडपर्वका बेला भारत गइरहेको बताए। उनले विपन्न समुदायमा छाक टार्नसमेत धौ धौ हुने स्थिति देखिन थालेको बताए।

बजार, व्यवसाय कोरोनाका कारण धराशायी रहेको जनाउँदे उनले यस्तो महाकष्टका बेला बजारमा भीडभाड पनि गर्न आग्रहसमेत गरे। “स्वास्थ्यसितको कुरो भएकाले पनि यस वर्ष दशैंमा चहलपहल गर्नु हुँदैन।” अध्यक्ष मल्लले भने, “आर्थिक चपेटाका बीच पनि स्वास्थ्यप्रति संबेदनशील हुने बेला हो ।” सोमबार गड्डाचौकी नाकाबाट २४५ जना र गौरीफन्टा नाकाबाट ३४४ जना स्वदेश फर्किएको थिए।

गड्डाचौकीनाकाबाट भारत मजदुरीका लागि जाँदै गरेका लालझाँडी गाउँपालिकाका पुरन रानाले आफू भारतको सिमाला गइरहेको बताए। “यो स्याउ टिप्ने मौसम हो।” उनले भने, “हामीले स्याउ टिपेर कमाएको पैसाले घर खर्च चल्छ ।” लकडाउनका बेला घर फर्किएका रानाले घरखर्च चलाउन समस्या हुन थालेपछि भारत जान लागेको सुनाए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *