वीर अस्पतालमा पीसीआर रिपोर्ट ७२ घण्टामा, आइतबारदेखि अटोमेटिक मेशिनबाट परीक्षण हुने

डिसी नेपाल
२२ असोज २०७७ १२:१६

काठमाडौं। मुलुककै जेठो वीर अस्पतालमा कोरोना परीक्षणको स्वाब संकलनको रिपोर्ट दिन ढिला गरेको भन्दै सर्वसाधारणले विरोध जनाएका छन्। अन्य अस्पतालमा १२ घण्टामा रिपोर्ट दिने गरेको भएपनि वीर अस्पतालमा स्वाब संकलन गरेको चार दिनपछि मात्रै रिपोर्ट दिने गरेको भन्दै सर्वसाधारणले असन्तुष्टि जनाएका हुन्।

उता अस्पतालका निर्देशक केदारप्रसाद सेञ्चुरीले भने क्षमता भन्दा बढी स्वाब संकलन गरेका कारण रिपोर्ट आउन ढिला भएको बताएका छन्। उनले वीरमा दैनिक दुई सय स्वाब संकलनको क्षमता भएपनि दैनिक पाँचदेखि ६ सयसम्म स्वाब संकलन हुँदा रिपोर्ट दिन ढिलाइ भएको बताए।

‘हामीसँग दैनिक दुई सयको स्वाब संकलन गर्न सक्ने क्षमता छ,’ अस्पतालनका निर्देशक डा. सेञ्चुरीले डिसी नेपालसँग भने, ‘दैनिक पाँच सयदेखि ६ सयसम्म स्वाब संकलन भइरहेको छ। क्षमता भन्दा बढी स्वाब संकलन हुँदा रिपोर्ट आउन ढिला भएको हो।’

वीर अस्पतालले स्वाब संकलनको रिपोर्ट चाँडो दिनलाई अटोमेटिक मेशिनबाट पीसीआर परीक्षण गर्ने तयारी पनि गरेको छ। रिपोर्ट ढिला आएको भन्दै सर्वसाधारणले विरोध जनाएपछि असपताले आइतबारदेखि अटोमेटिक मेशिनबाट पीसीआर परीक्षण गर्ने तयारी गरेको हो।

अटोमेटिक मेशिनबाट पीसीआर परीक्षण गर्दा ढिलोमा पनि १० घण्टाभित्र रिपोर्ट दिन सकिने डा. सेञ्चुरीले जानकारी दिए। अस्पतालसँग अटोमेटिम मेशिन भएपनि त्यसमा प्रयोग हुने किट बाहिरबाट ल्याउने पर्ने अवस्था रहेको उनको भनाइ थियो।

अस्पतालले अटोमेटिक मेशिनमा प्रयोग हुने किट महंगो पर्ने तर अस्पतालसँग प्रयाप्त बजेट नहुँदा समस्या भइरहेको जनाए। उनले दश हजार किटलाई एक करोड पर्ने जानकारी पनि दिए।

पहिलो चरणमा दुई हजार किट ल्याएर आइतबारदेखि अटोमेटिक मेशिनबाट परीक्षण गरिने उनको भनाइ थियो। अटोमिटक मेशिनबाट परीक्षण गर्दा दैनि ६सयसम्म परीक्षण गर्न सकिने र रिपोर्ट पनि त्यही दिन आउने निर्देशक डा. सेञ्चुरीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *