रोग नियन्त्रण भएपछि किसान खुशी

डिसी नेपाल
२३ असोज २०७७ ९:०५

सप्तरी । पशुहरुमा लागेको रोग नियन्त्रणमा आएपछि र पशुपन्क्षी प्राविधिकहरुले घरैमा सुविधा उपलब्ध गराउन थालेपछि सप्तरीको कञ्चनपुरका पशुपालन गर्ने किसान खुशी भएका छन् । पशुपन्क्षी विकास शाखा कञ्चनपुरका प्राविधिकहरुले घर–घरमा गएर किसानको मर्का सुनेर समाधान गर्न थालेकाले पशुपालन गर्ने किसान खुशी भएका हुन् । समस्या परेको बेलामा फोन गर्नासाथ सहजै प्राविधिकहरु आई समाधान गरीदिनाले किसानलाई ठूलो सहयोग तथा सुविधा पुगेको किसान रामदेव साहको भनाइ छ ।

पशुहरुमा रोग लागेर किसान प्रभावित भएका बेला नगरपालिकाले प्रदेश नं २ बाट विशेषज्ञ टोली ल्याइ सुक्ष्म तरिकाले रोगको अध्ययन अनुसन्धान गरी रोगलाई नियन्त्रण गरेकाले किसान औधी खुशी भएको खिलानाथ पोखरेलले बताए । कोरोना भाइरसले थलिएको अवस्थामा पशुहरुमा समेत ‘लम्पी स्किन डिजिज’ रोग देखिएपछि किसान चिन्तित बनेका थिए । किसानको मर्कालाई बुझी तत्कालै नमूना सङ्कलन गरी रोगको नियन्त्रण गर्ने काम गरिएको नगरप्रमुख वसन्तकुमार मिश्रले बताए । नगरपालिकाले भूमि व्यवस्था तथा कृषि पशुपन्क्षी मन्त्रालय प्रदेश नं २ जनकपुरधामबाट विशेषज्ञ टोली ल्याई नमूना सङ्कलन गरेको थियो ।

गत साउन र भदौ महिनामा रोगले सात पशुचौपायाको मृत्यु भएको थियो । पशु विकास अधिकृत दिवाकान्त चौधरीले दिएको जानकारीअनुसार रोगले प्रभावित बनेको २०४ थान पशुको उपचार गरी रोग नियन्त्रण गरिएको छ । पशु रोगले नगरपालिकाको वडा नं १ देखि ११ सम्म प्रभावित बनेको थियो । जसमा वडा नं ५, ६, ८ र ९ बढी प्रभावित हुनपुगेको स्थानीय किसान बताउँछन् ।

भूमि व्यवस्था तथा कृषि पशुपन्क्षी विकास मन्त्रालय प्रदेश नं २ जनकपुरधामबाट डा सञ्जीव ठाकुर, डा रञ्जित अधिकारी र डा शिवनन्दन यादवको विशेषज्ञ टोलीले ६० वटा पशुबाट नमूना सङ्कलन गरी उपचार गरेपछि रोग नियन्त्रणमा आएको पशुपन्क्षी विकास शाखा कञ्चनपुरले जनाएको छ । पशुपक्षी विकास शाखाका अनुसार नगरपालिकाले रु एक लाखको औषधि खरिद गरी किसानलाई वितरण गरेको र कृत्रिम गर्भाधानसमेत निःशुल्क गरेको छ । पशुपन्क्षी विकास शाखाले आर्थिक वर्ष २०७६÷७७ मा १० हजार ८३ पशुमा प्राथमिक उपचार गरेको जानकारी दिएको छ ।

यसैगरी १६० पशुमा माइनर सर्जिकल, १३५ मा गाइनोकोलोजिकल, दुई हजार ३७५ गोबर परीक्षण, २२ हजार ६७४ एचएसबिक्यू, आठ हजार पिपीआर र एक हजार ५०० किलो हिउँदे घाँसको बीउ वितरण गरिएको पशु विकास अधिकृत चौधरीले जानकारी दिए। पशुपन्क्षी विकास शाखाले गरेको कृत्रिम गर्भाधानबाट उन्नत जातको पशु उत्पादन हुन थालेको किसान चन्द्रनारायण खड्गाले बताए।

यस्तै ३४७ गाई, ७५ भैँसी र ४९ बाख्राको कृत्रिम गर्भाधान गरेको शाखाले १४ वटा उन्नत जातको बोका वितरण गरेको जनाएको छ । शाखाले दुईपटक तीनदिने व्यावसायिक बाख्रापालन तालिम र एकपटक पोषण कार्यक्रम गरेको छ । कार्यक्रमसम्बन्धी स्थानीय सञ्चारमाध्यममा पहिले नै सूचना प्रवाह गर्ने गरिएको पशु विकास अधिकृत चौधरीले बताए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *