डिसी नेपाल समाचार प्रभाव : बल्ल फर्किए यूएईका अलपत्र परेका नेपाली, ठूलो सकस पार भयो

बिजय भुसाल
२५ असोज २०७७ ११:४६

यूएई। बिगत ७ महिनादेखि यूएईमा अलपत्र नेपालीहरु आज नेपाल फर्केका छन् । नेपाल एअरलाइन्सको उडानमार्फत आइतबार बिहान यूएईको समयअनुसार ३ बजेर ५५ मिनेटमा यूएईबाट हिडेका उनीहरु आइतबार नेपाली समय विहान ९ बजेर ५५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्।

बिगत ७ महिनादेखि डिसी नेपालले उनीहरुको समस्यालाई निरन्तर फलोअप गरिरहेको थियो । उनीहरु फ्लेक्स फ्यासेलेटी म्यानेजमेन्ट कम्पनीमा कामका लागि यूएई पुगेका थिए। कम्पनीमा काम गर्न गएका ३ सय ३६ जना अलपत्रमध्ये धेरै आफ्नै खर्चमा नेपाल पुगिसकेका छन् भने १७ जना पैसाको अभावमा यूएईमै अलपत्र अवस्थामा थिए। ती मध्ये १५ जना आज नेपाल फर्केका हुन्। दुइ जनाले काम पाएपछि उनीहरू यूएइमै बसेका छन्।

डिसी नेपालले उनीहरु अलपत्र अवस्थामा रहेको र उनीहरुको जति सक्दो चाडो उद्धार गर्न आवश्यक रहेको समाचार धेरैपटक प्रकाशित गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो।

यसअघि ९ अगस्टमा नेपाल जानको लागि दुबई एअरपोर्ट पुगेका उनीहरु ओभर स्टे फाइन तिर्न नसकेका कारण दुबई एअरपोर्टमै रोकिएपछि अलपत्र परेका थिए। यसरी अलपत्र परेका १७ जना नेपाली कामदारहरुलाई करिब २७ घन्टापछि नेपाली राजदूतावासको अनुरोधमा गैरआवासीय नेपाली संघ यूएईले उद्दार गरेर खान र बस्नको प्रबन्ध मिलाएको थियो।

केही समयको लागि प्रबन्ध मिलाएको गैरआवासीय नेपाली संघ यूएई र युएईमा रहेका केही नेपाली संघ सस्थाका प्रतिनिधिहरुले ‘हामी तिमीहरुको उद्धार गर्न सक्दैनौं’, ‘दूतावास भनेको पनि हामी नै हौं’, ‘तिमीहरुको ओभरस्टेको फाइन तिर्न सक्दैनौं’, “नेपाली दूतावास र नेपाल सरकारले पनि तिमीहरुलाई तिमीहरुको फाइन तिरेर नेपाल लान सक्दैन’ जस्ता कुराहरु भनेर बारम्बार तनाब दिने गरेको पीडित नेपालीहरुले डिसी नेपाललाई बताए।

‘यी पीडितहरुको नाममा दलाली गर्ने प्रयास पनि कतिपयले गरेका थिए। १७ जनाको समुहलाई पालेर राख्न नसक्ने भन्दै पहिले पनि हामीलाई केही नेपाली संघ सस्थाका प्रतिनिधिले बाहिर निकालेका थिए तर हामीलाई बाहिर निकालेको २० मिनेट भित्र नै उनीहरु फेरि हामीसँग आएर अब तिमीहरु ओभर स्टेको फाइन तिर्न भए पनि काम गर्नुपर्छ भन्दै १७ जना पीडितलाई तितरबितर बनाए,’ पीडित कृष्णबहादुर गन्धर्वले भने, ‘हाम्रा ७ जना साथीहरु काम गर्न तयार भएका थिए तर आजको समयसम्म कसैले काम पाएका छैनन्।’

गन्धर्वले अहिलेसम्म पाएको सबै दुःख बिर्सेको बताउदै अलपत्र अवस्थामा सहयोग गर्ने डिसी नेपाल, नेपाली मजदुर एकता समाज, गैरआवासीय नेपाली संघ यूएई, नेपाल सरकार र सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिए।

एअरपोर्टबाट फिर्ता लिएर आएसँगै गैरआवासीय नेपाली संघ युएईले पीडित नेपालीहरुलाई करिब ४५ दिनपछि अब हामी सहयोग गर्न सक्दैनौ भन्दै आफ्नो सबै प्रबन्ध मिलाउन उनीहरुलाई बाहिर निकालेको पीडितहरुको आरोप छ।

यो बिषयमा गैर आवासीय नेपाली संघ युएईका उपाध्यक्ष पासाङ शेर्पाले डिसी नेपालसँग पीडित नेपालीहरुलाई सस्थाले केही हप्तासम्म मात्रै सहयोग गर्न सक्ने बताउँदै आफूहरुले केही दिनको समय दिएर आफ्नो सबै प्रवन्ध मिलाउन भनेको तर खाना र बस्न नै नदिइकन बाहिर ननिकालेको बताए।

गैरआवासीय नेपाली संघले सहयोग गर्न सक्दैनौं भनेसँगै नेपाली मजदुर एकता समाजले १७ जनाको लागि खान र बस्नको प्रबन्ध मिलाएको थियो। समाजले सुरुवाती दिनमा मेनपावर कम्पनीमार्फत ९ हजार दिराम खाना खर्च उपलब्ध गराएको थियो।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विशेष पहलमा अहिले नेपाली राजदूतावास युएईले अलपत्र नेपालीहरुको अध्यागमनमा गएर आवश्यक कागजी काम सकेर उनीहरुको ओभर स्टे फाइन मिनाहा गर्न सफल भएको छ। एअरपोर्टमा रोकिएको दुई महिनापछि मात्रै उनीहरु नेपालको लागि सोही टिकटमा आज नेपाल आइपुगेका छन्।

ओभर स्टे फाइनकै बिषयमा श्रममन्त्रीसँग कुरा गर्दा अब युएईमा ओभर स्टे फाइनका कारण कोही रोकिन नपर्ने बताउँदै सबै नेपालीहरुको उद्दार गर्ने बताए। समस्यामा परेका नेपालीहरुको आवाज नेपाल सरकारसम्म पुर्याउन सकेकोमा डिसी नेपाललाई विशेष धन्यवाद पनि दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *