जार र बाेतलको पानीमा मूल्यवृद्धि नगर्न निर्देशन

डिसी नेपाल
२७ असोज २०७७ ११:५४

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जार र बोतलको पानीमा मूल्यवृद्धि नगर्न व्यवसायीलाई निर्देशन दिएको छ।
व्यवसायीहरुले जार र बोतलको पानीमा मूल्य बढाएपछि व्यवसायीलाई बोलाएर तत्काल पुरानै मूल्यमा पानी बिक्री गर्न निर्देशन दिएको हो।

संसदीय समितिमा पानीको मूल्यका विषयमा परेको उजुरीमाथि छानविन भइरहेकाले निर्णय नभएसम्म मूल्यवृद्धि नगर्ने सहमित भएको विभागले जनाएको छ।

यसअघि विभागका निर्देशक सागर मिश्रको संयोजकत्वमा गठित अध्ययन कार्यदलको अध्ययन प्रतिवेदनका आधारमा साउन अन्तिम साता २० लिटर जारको प्रतिजार ५० रुपैयाँ र एक लिटर बोतलको १६ रुपैयाँ निर्धारण गरिएकेो थियो।

कार्यदलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल बोटलर्स वाटर एसोसियसनका महासचिव ध्रुब बहादुर गौतम र विभागका निरीक्षण अधिकृत ध्रुव खनाल सदस्य रहेको थिए।

बजारमा २५ देखि ४० रुपैयाँमा पाइने जारको पानीको मूल्य व्यापारीको हितमा हुने गरी अत्याधिक निर्धारण गरिएको भन्दै आलोचना भएको थियो।

यस्तै उपभोक्ता अधिकारकर्मी संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा उजुरी गरेका थए । समितिमा उजुरी परेपछि पानीको नयाँ मूल्य लागू गरिएको थिएन।

समितिले कुनै निर्णय नै नगरेको अवस्थामा व्यवसायीले भने असोज १८ गतेबाट नयाँ मूल्य लागू गरेका थिए। त्यसपछि विभागले व्यवसायीलाई बोलाएर संसदिय समितिले निर्णय नगर्दासम्म पुरानै मूल्यमा कारोबार गर्न निर्देशन दिएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *