नेपाल राष्ट्र बैंकले आज २५ अर्बको ऋणपत्र जारी गर्दै
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज कुल २५ अर्ब बराबरको एकवर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो ३:०० बजेसम्म बोलकबोल प्रक्रिया पूरा गरी उक्त ऋणपत्र निष्कासन गर्न लागेको जनाएको हो।
यस ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण गरिने र सोही स्वीकृत ब्याजदरका आधारमा ऋणपत्रको बाँडफाँट गरिनेछ।
सूचनामा उल्लेख भए अनुसार यस ऋणपत्रको कुल अवधि एक वर्षको हुनेछ भने यसको साँवा रकम आगामी २०८४ असार १९ गते भुक्तानी गरिनेछ। लगानीकर्ताहरूले यसको ब्याज भने अर्धवार्षिक रूपमा अर्थात् प्रत्येक छ-छ महिनामा प्राप्त गर्नेछन्।
राष्ट्र बैंकका अनुसार इच्छुक संस्थाहरूले न्यूनतम रु पाँच करोड र त्यसपछि रु पाँच करोडले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलकबोल आवेदन दिन सक्नेछन्। यो ऋणपत्रलाई नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा लिँदा धितोका रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ।
यस बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। बोलकबोलबाट प्राप्त हुने ऋणपत्र वित्तीय संस्थाहरूको लगानी पोर्टफोलियोमा समावेश हुनेछ।
यस ऋणपत्रलाई अनिवार्य नगद मौज्दात (सिआरआर) मा गणना गर्न नपाइने भए पनि बैंकहरूको वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने सुविधा राष्ट्र बैंकले दिएको छ।






डिसी नेपाल





Facebook Comment