दशैं आयो : छैन उत्साह, उमंग
असन इन्द्रचाेक। फाइल फाेटाे : कमल साउद।
नुवाकाेट। नेपालीहरुको महान चाड सुरु हुन एक हप्ता पनि बाँकी छैन। यसअघिका वर्षहरुमा एक महिना अगाडिदेखि नै उत्साह र उमंगले भरिने दशैं अहिले सुरु हुन लाग्दासमेत सुनसान छ।
विश्वव्यापी कोरोना कहरका कारण यो पटकको दशैं सुनसान हुने देखिएको छ। सरकारले ‘जो जहाँ छौं, त्यहीँ दशैं मनाऔं’ भन्ने आग्रह गरेपछि दशैंमा गाउँ फर्किनेको संख्या पनि धेरै छैन।
महानगरीय ट्राफिम प्रहरी महाशाखाका अनुसार अहिले काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरिने यात्रुको संख्या करिव समान छ। असोज महिना सुरु भएपछि हालसम्म झण्डै चार लाख ६० हजार मानिस उपत्यकाबाट बाहिरिएका छन्। यो संख्या गत वर्षको तुलनामा निकै कम हो।
गाउँघरमा पनि दशैंको उमंग देखिँदैन। दशैं सुरु हुनभन्दा एक महिना अगाडिबाट गाउँघरमा दशैंको रमझम सुरु हुन्थ्यो। चिउरा कुट्ने, घर पोत्ने, किनमेल गर्न सर्वसाधारण हाट बजार धाउने तथा उकाली ओराली गर्थे, तर अहिले गाउँ घरमा चहल पहल खासै देखिँदैन।
नुवाकोटका ८५ वर्षीय बिष्णु वस्ती आफ्नो यति लामो जीवनको अनुभवमा अहिलेको जस्तो बिना तयारी दशैं कहिल्यै नआएको बताउँछन्। ‘ मैले थाहा पाउने उमेरबाट दशैं यस्तो तयारी बिनाको दशैं अनुभव गरेको छैन,’ उनले भने।
‘एक महिना अगाडि बाट चिउरा कुट्ने, घर लिप्ने जस्ता कामको लागि कहाँकहाँ पुगेर थरीथरीका माटो ल्याउँथे खै यसपटक दशैं शून्य नै रहने भयो,’ धादिङका घनश्याम खतिवडाले भने।
दशैंका मान्नको लागि वैदेशिक रोजगारीबाट फर्कनेहरुको भिडभाड देखिँदैन। दशैं सुरु हुन अगाडिबाट नै गाउँ घरमा थरीथरीका पिङले भरिने पौवा,चौतारा शून्य छन्।
उता वर्षौं विदेशमा बसेर दशैंमा फर्किने चाहना भएर पनि घर फर्किन नपाएका नेपालीको मन उदास भएको छ। ‘दशैमा घर जाने ठूलो रहर थियो। यो वर्षपनि त्यत्तिकै बित्यो,’ हाल मलेसिया रहेकी धादिङका सानू रेग्मीले भने।
दशैं सपिङका लागि भिडभाड लाग्ने बजार सुनसान छ। विश्वलाई आफ्नो चोपेटामा लिएको कोरोना भाइरसको त्रासले दशैं सपिङ गर्न जान त्रासमा रहेको सर्वसाधारणले बताउने गरेका छन्। रसुवाकी सुस्मिता सिक्देलले भनिन्, ‘कोरोना लाग्छ कि भन्ने त्रास हुन्छ,यसपालिको दशैं केही न केही हुने भयो।’
चिकित्सकहरुले दशैमा नागरिक सचेत नहुने हो भने कोरोना संक्रमण भयावह हुने चेतावनी समेत दिँदै आएका छन्। जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेले दशैं मनाउन शहरबाट गाउँ जाँदा जेष्ठ नागरिकमा कोरोना संक्रमण हुन सक्ने भएकाले क्वारेन्टाइनमा बस्ने समय नहुनेले गाउँ जान नहुने बताए। ‘अहिले जो जहाँ छौं, त्यहीँ दशैं मनाऔं,’ उनले भने, ‘सामान्य हेलचेक्र्याँइले ठूलो दुर्घटना निम्ताउन सक्छ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment