कालो बादलभित्र चाँदीको घेरा – Dcnepal

कालो बादलभित्र चाँदीको घेरा

कसरी संक्रमित हुन पुगियो थाहा छैन। ज्वरो आएपछि चेकअप गर्न जाँदा पोजेटिभ देखायो। यही मेरालागि पोजेटिभ देखाएको प्रमाण हो। सरकारसँग पनि पोजेटिभ भएको प्रमाण छ। नेगेटिभ भएको प्रमाण छैन।

मैले झण्डै २० दिनको होम आइसोलेसनपछि यो अनुभव लेखिरहँदा सम्ममा मलाइ नेपाल सरकारको तर्फबाट टेलिफोन आएको छैन। सरकारले फरार संक्रमितको सूचीमा राखेको पनि हुनसक्छ।

अफिसबाट घर पुगेपछि आराम गर्न भनेर सुते। राति खाना खान उठदा ज्वरो थियो। मैले ज्वरोलाई ख्याल नगरी खाना खान बसे। खाना अरुची भयो। अलिकति खाना खाएँ र पुनः सुतेँ। सदा झै विहान उठेर अफिस जान तयार हुन खोज्दा शरीरले साथ दिएन।

तै पनि मदन कोइराला सरसँग सधैं जाने भएकाले र त्यो दिन खबर नगरेकाले म बाध्य भएर घरबाट हिँडे। मदन सरको घरमा पुगेपछि ज्वरो आएको सुनाएँ। चिया पिएको गिलास पनि अलगै राख्न अनुरोध गरेँ। अफिस पुग्यौं।

थोरै काम गरेँ। शरीरले आफैलाई धान्न सकेन। कुनै ठूलै पहाड शरीरमाथि आएर थुपारिएको अनुभूति भयो। मैले साथीहरुसँग सल्लाह गरेँ र घर फिर्ता भएँ। २ दिनसम्म २÷४ गिलास तातो पानीमा ज्यान जोगाएँ। ज्वरोले उठ्नै दिएन। शरीर दुखेर सुत्न पनि दिएन।

३ दिनपछि अफिसबाट थापा सर (खेमराज थापा) र मदन सर (मदन कोइराला)ले फोन गर्नुभयो। चेकअप गाराउन जाउँ। थापासरलाई ज्वरो म भन्दा पनि पहिलाबाट थियो। मदनसर र म सँगै हुथ्यौं। ३ जना नै वीर अस्पतालमा पुग्यौं र स्वाब दियौं। ३ दिनपछि रिपोर्ट आउँदा २ जनाको नेगेटिभ थियो। मेरो पोजेटिभ।

म्यासेज हेर्दा नेगेटिभ हो झैं लाग्यो खुसी भएँ। श्रीमतीलाई देखाएँ। उनले पो पोजेटिभ छ भनिन्। कोरोना संक्रमण मुक्त भएकाहरुको अनुभव लेख्दा लेख्दै आफैलाई कोरोना पोजेटिभ भयो। म दंग परेँ। ज्वरो आएको दिनबाट नै होम आइसोलेसनमा थिएँ। एटेज ट्वाइलेट भएका कारण ढोका बन्द गरेर बसेको ६ दिन भइसकेको थियो। ६ दिनमा कोरोना पोजेटिभ आएपछि झनै खोल्ने कुरै भएन।

नेपालमा छाउपडी प्रथाको खुवै विरोध भयो। गोठहरु पनि भत्काइए। मनहरु भत्काउन सकिएको छैन भन्ने आरोप अझैलाग्दै आएको छ। ५/७ दिनमात्र महिलाहरु छाउपडी गोठमा बस्ने गरेको देखेका यी आखाँले त्यही अनुभव गरे तर २० दिन। यी आखाँहरुले देखेजस्तै गरी अलगै थालमा खाना दिइन्थ्यो। अलगै गिलासमा पानी। मैले खाएको भाडाँकुडा अरु कसैले छुन्थेनन्। लुगा फाटो कसैले धुन्थेनन्। सबैकाम आफैले गर्नु पर्ने। अनि अलगै बस्नु पर्ने।

सहनै नसकिने गरी भएको पीडा, पीडासँगै आफ्नो जीवनमा मडारिएको कालो बादल, म कहिलेकाहीँ अर्कै दुनियामा हुन्थे। यस्तो लाग्थ्यो सायद अब यो दुनियाबाट फर्केर म मेरो सरल जीवन शैलीमा जाँदैन होला। बोलाउँदा कसैले नसुन्ने, एकोहोरो कालो बादल भित्र–भित्र, अँध्यारो अँध्यारो ठाउँमा, कुनै गुफा हो सायद, होइन म त आकास तिर पो उडेको हुँ। म साह्रै अत्तालिएँ।

ढोका लगाएर बस्दा छोराहरुले दैनिक ढोकामा हान्थे। भन्थे ‘जोर लगाओ हैंसे’। हरेक दिन विहान उठेपछि नसुत्दासम्म कम्तिमा पनि १०/१२ पटक ढोकामा जोर लगाओ हैसेको आवाज आउँथ्यो। कलिला लात्ति र हातहरु ढोकामा बजारिन्थे। अनि बाहिरैबाट बिन्ती गर्थे ‘बाबा ढोका खोल्नुन पिलिज, हजुरको खुट्टा ढोग्छौं के।’

कतिपय प्रश्नहरु आफ्नो आमासँग तेस्र्याउँथे। सोध्थे, ‘ममी बाबालाई ढोका खोल्न अनुरोध गरिदिनुस्न, कति ढोका लगाएर बस्न सक्नु भएको होला। किन हामीलाई माया मार्नु भएको होला। यो बाबा कस्तो हुनुहुन्छ है। आफ्नै छोराहरुलाई पनि कोठामा छिर्न दिनुहुन्न।’
उनले सान्त पार्दै भन्थिन्, ‘अहिले बाबा सुत्नु भएको छ। म बाबा उठ्नु भएपछि खोल्न भन्छु है।’

खाना र पानीको लागि ढोका खोल्दा श्रीमती र बहिनीसँग खिस्स हाँसेर ठीकै छु भन्नुको विकल्प हुन्थेन। ता कि उनीहरु पनि हतोत्साहित नहुन। शरीर दुखेर धेरै दिन सुत्न मिलेन घोप्टो परेर बसियो। अनि महाभारतमा कृष्णले भनेको शब्दको याद आउथ्यो। ‘जीवन न भविश्य हो न भूत हो, जीवन यही क्षणको नाम हो।’ अर्थात यस क्षणको अनुभव नै जीवन हो। हरेक पल अहिलेको क्षणलाई कसरी बिताउने भन्ने मात्र चिन्ताले सताउँथ्यो।

धेरै कोरोना संक्रमितको अनुभव लेख्दा त्यस्तो लागेको थिएन जुन मैले भोगेँ। धेरैले कोरोना केही हैन झैं गरी आफ्नो अनुभव सुनाउनु हुथ्यो। धेरैले हौसला र आत्मबल नै कोरोनाको अचुक उपाए हो भन्नु हुथ्यो। तर, अरविन्द साहको अनुभव लेख्दा कोरोना वास्तवमै केही हो झैं लागेको थियो। अनुभव पनि गरियो वास्तवमा कोरोना केही हो।

डा. भगवना कोइरालाले एकपटकको कुराकानीमा भन्नु भएको थियो– ‘कोरोना आफै मृत्युको कारण होइन, सहायक हो। हाम्रो शरीरमा भएका अन्य रोगहरुलाई बलियो बनाउन हौसला प्रदान कोरोनाले गर्दछ। साथै अलि दीर्घ रोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुका लागि मृत्युको सहायक कारक पनि कोरोना हुन्छ।’

म पनि मृगौला रोगी १ वर्ष पहिले मात्र मृगौलामा भएको पथ्थरीको अप्रेसन गरेको मान्छे। सायद बाहिरी घाउ निको भए पनि भित्रि घाउ अझै निको भएको छैन होला। त्यसैले पनि शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम होला। अनि कोरोना संक्रमण भयो होला। अब त्यो कोरोनाले मिर्गौलामा भएको पथ्थरीलाई सहयोग गर्छ। पथ्थरी बलियो हुन्छ र मलाइ कमजोर गराउँछ यस्तै अनुभूति भइरयो।

अमेरिकाबाट सिएम सर, उमेश सर नेपालबाट दिपा म्याम, यशोदा म्याम, मदन सर, थापा दाइ सबैले सम्झाउनु हुथ्यो। आत्मबल खस्किन दिनु हुँदैन। हामी छौं। उहाँहरुले सम्झाउँदासम्म फुर्तिलो अनुभूति हुथ्यो, उठथेँ। पानी पिउँथे। केही छ भने खाम भन्थेँ।

समय बित्दै गएपछि पुनः कोरोनाले भित्रैदेखि महाभारतको सुकुनी झैं हास्दैँ भन्थ्यो, ‘मेरो बच्चे म तिम्रो भित्र छु। संसारमा कतिलाई मैले खाइसके देखेको छौ। लेखेको छौ।’ मैले भन्थेँ, ‘तिमीलाई कतिले जितेका छन त्थो पनि लेखेको छु, देखेको छु।’ लडाई चलिरहथ्यो।

सहनै नसकिने गरी भएको पीडा, पीडासँगै आफ्नो जीवनमा मडारिएको कालो बादल, म कहिलेकाहीँ अर्कै दुनियामा हुन्थे। यस्तो लाग्थ्यो सायद अब यो दुनियाबाट फर्केर म मेरो सरल जीवन शैलीमा जाँदैन होला। बोलाउँदा कसैले नसुन्ने, एकोहोरो कालो बादल भित्र–भित्र, अँध्यारो अँध्यारो ठाउँमा, कुनै गुफा हो सायद, होइन म त आकास तिर पो उडेको हुँ। म साह्रै अत्तालिएँ।

सायद छटपटाएँ पनि। एकै छिनपछि मलाइ कसैले एउटा घरभित्र राखेर ढोका लगायो। कोही राजा आए। किन ल्याएको भनी प्रश्न गर्दै थिएँ। कसैले त्यही घरको ढोकामा हिर्काउन थाले। ढोकामा हानेको आवाजले राजाले मलाइ लैजानेसँग गरेका कुरामा बाधा उत्पन्न भयो। राजाले ढोकामा हान्नेहरुसँग रिसाउँदै मलाइ छातिमा लात्तिले हाने।

म लढे जस्तै भए। ढोकामा हानेको आवाज कान मै थियो। पारि क्षितिजमा कालो बादल भित्र उज्यालो चाँदीको झैं घेरा आँखामा पर्यो। राजाले छातीमा लात्तिले बजारेपछि मुटु ढुकढुक हुन थाल्यो। अनि मैले ढोका हानेको आवाजलाई सुने, मेरो कोठाको ढोका बाहिरबाट आवाज आएको थियो, ‘जोर लगाओ हैँसे’।

छोराहरुले नै ढोका हानेका रहेछन्। पहिलेको सबै परिस्थिति विचार गरेँ। सानोमा पनि एक पटक म त्यस्तै ठाउँमा पुगेको थिएँ। मलाइ त्यतिबेला पनि त्यस्तै राजाले लात्ति हानेर आकासबाट खसालेका थिए।

म ब्युझिँदा धामस् झाँक्रीको साथमा थिएँ। पछि पो अरुले सुनाउदै थिए– तिमी त मर्यौ भनेर बाँस काटेका थिए रे। मैले सोही कुरा सम्झेँ। हजुरआमाले तँ मरेको हैनस्, खाटी परेको हो भन्नु भएको थियो। खाटी पर्ने भनेको मृत्यु पूर्वको क्षण हो रे। कोही फर्केर आउँछन्, कोही उतै बस्छन रे।

सानोमा छदाँ सुनेका कुरा सम्झिँए। मैले त्यो दिन ढोका खोले। ठूलो बाबुलाई सम्झाएँ। म बिमारी छु। कोठा भित्र प्रवेश नगर, भाइलाई सम्झाउ। ढोकैबाट हेर। त्यो दिनदेखि कहिलै ढोका बन्द गरिन। ठूलोले कुरा बुझ्थयो। तर, साने कहिलेकाहीँ दौडेर भित्र प्रवेश गरेपछि सम्झेर बाहिर जान्थ्यो। त्यसपछि विस्तारै कम हुँदै गयो।

अफिसको काम गर्न जोस आउँथ्यो। बसेर काम गर्न थाल्यो भने शरीरले धान्थेन। एकै छिनमा ठिक भएजस्तो हुने, एकै छिनमा बेठिक हुने। सायद मलाइ देख्ने जतिले नाटक गरेको छ भने होलान्। अझै पनि त्यो नाटक जारी नै छ। नाटक सकिएको दिन त्यो नाटक र छुटेका अरु अनुभव सुनाउँला…

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो