भारतीय सेनाध्यक्षको नेपाल भ्रमण : सीमा विवादबारे छलफल हुने !

डिसी नेपाल
११ कार्तिक २०७७ १०:०४

काठमाडौं। भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणको क्रममा नेपाल भारत सीमामा देखिएको समस्याबारे छलफल हुने बताइएको छ।

भारतीय सञ्चारमाध्यम ‘द प्रिन्ट’का अनुसार नेपाली समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग १८ सय किलोमिटर लामो सीमाको ब्यवस्थापनका पक्षहरुमा महत्वपूर्ण छलफल गर्ने कार्यसूचि रहेको छ।

भारतीय सेनाध्यक्षले कात्तिक १९ देखि २१ गते सम्म नेपालको भ्रमण गर्ने मिति टुंगो लागेपछि ‘द प्रिन्ट’ले भारतीय सरकारी अधिकारीलाई उल्लेख गर्दे सो समाचार प्रकाशन गरेको हो। गत वर्षको कात्तिकदेखि बिग्रेको नेपाल भारत सम्वन्धलाई पुनः स्थापित गर्ने लक्ष्यसहित उनले नेपाल भ्रमण शुरु गर्ने पनि सो सञ्चारमाध्यममा उल्लेख छ।

उनले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत नेपालका शीर्ष राजनीतिक नेता र केही अन्य ब्यक्तिहरुसँग पनि उनले भेटवार्ता गर्ने कार्यक्रम छ। उनको यस अगाडि नै भ्रमण मिति तय भएपनि लकडाउनका कारण स्थगित हुन पुगेको थियो।

भारतीय सेनाध्यक्षको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिन थालेको छ। नेपालको भूमि समेटेर भारतले नक्सा जारी गर्दा र सडक मार्ग बनाउँदा नेपालले जनाएको आपत्ति र विरोधलाई अन्य देशको इशारामा विरोध जनाएको भन्दै आपत्तिजनक अभिब्यक्ति दिएपछि नेपालमा भारतीय सेनाध्यक्षको पनि विरोध भएको थियो।

त्यतिबेला उनको विवादास्पद अभिब्यक्तिका कारण उनको नेपाल भ्रमणका क्रममा केही असजिलो भएपछि रोकिएको थियो। अहिले भने नेपाली सेनाले यसको व्यवस्थापन गरिसकेको र महत्वपूर्ण भेटघाटको समय तय भैसकेको छ।

उनको भ्रमणका एजेण्डाहरु पनि तय भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छन्। द प्रिन्टका अनुसार, उनले आफ्नो समकक्षी नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालगायत नेपालका शीर्ष नेता र सेनाका सक्कल दर्जाका अधिकृतहरुसँग छलफल गर्नेछन्।

‘सेना प्रमुखले कात्तिक १९ देखि २१ गते सम्म नेपालको भ्रमण गर्ने छन जसको उद्देश्य रक्षा र सुरक्षाको क्षेत्रलगायत समग्र सम्बन्धलाई अझ सुदृढ पार्ने लक्ष्य राखिएको छ,’ भारतीय सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ‘द प्रिन्ट’ले लेखेको छ।

१९५० देखि शुरू भएको एक पुरानो परम्पराको निरन्तरताका लागि पनि उनी काठमाडौं आउन लागेका हुन्। त्यसबेला देखि दुई देशका सेनाध्यक्षलाई एक अर्काे देशको मनार्थ महारथीको दर्जा दिने परम्परा छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई शितल निवासमा नेपाली सेनाको मानार्थ महारथी पदको दज्र्यानी चिन्ह लगाएर सम्मान गर्नेछिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *