एनआरएनए अमेरिकाको फर्जी मतबारे छानवीन समितिमा सदस्य थपिए

डिसी नेपाल
१५ कार्तिक २०७७ १०:३४

बासिंगटन डिसी। गैरआवासीय नेपाली संघ अमेरिकाको एक वर्ष चार महिना अघि भएको निर्वाचनमा व्यापक धाँधली भएको भन्दै संघको अन्तर्राष्ट्रिय समितिमा पटक पटक उजुरी परेपछि धाँधलीबारे छानविन गर्न गठित एउटा उच्चस्तरीय छानविन समितिले बल्ल पूर्णता पाएको छ।  यसअघि संयोजक तोके पनि कमिटीले पूर्णता पाएको थिएन।

एनआरएनए आइसीसीको निर्णय अनुसार महासचिव हेमराज शर्माले गठन गरेको समितिका संयोजकमा अमेरिकाज क्षेत्रका आईसीसी संयोजक राजन त्रिपाठी थिए।

समितिमा सेप्टेम्बर २९, २०२० महासचिव शर्माले अनुमोदन गरेअनुसार, सदस्यहरु थप गरिएका छन्। सदस्यहरु थप गरेसँगै छानविन समितिको काम कर्तव्य र अधिकारसमेत महासचिव शर्माले तोकिदिएको बताइएको छ। समितिमा निम्न व्यक्तिहरु संलग्न छन्:
१)  संयोजक— राजन त्रिपाठी, क्षेत्रिय संयोजक, अमेरिकाज् क्षेत्र।
२)  सदस्य— कृष्ण लामिछाने, एचसीएम, आईसीसी तथा निवर्तमान बोर्ड सदस्य, एनआरएनए एनसीसी अमेरिका।
३)  सदस्य— प्रकाश सापकोटा, एचसीएम, आईसीसी तथा र निबर्तमान आइसीसी सदस्य, अमेरिका।
४)  सदस्य— शिबहरि नेपाल, सदस्य, एनआरएनए अमेरिका
५)  सदस्य— नबराज रोस्यारा, भूतपूर्व अध्यक्ष, एनआरएनए एनसीसी जर्मनी

आईसीसीले उक्त कमिटीलाई तुरुन्त छानविनको काम शुरु गरी २ महिनाभित्र रिपोर्ट पेश गर्न निर्देशन दिएको छानविन समितिका संयोजक त्रिपाठीले डिसी नेपाललाई बताए। उनले आफ्नो संयोजकत्वको छानविन समितिलाई सबैको सहयोग मिल्ने आशा पनि व्यक्त गरे।

निर्वाचनका सन्दर्भमा २०९३ संख्याको भोटमा विवाद भएको र त्यसबारे अमेरिकी आदालतमा मुद्धा पनि परेको अवस्था छ। संयोजक त्रिपाठीले विवादरत सबै पक्षलाई छानविन समितिलाई सहयोग गरी निश्पक्ष छानविनको वातावरण बनाइदिन अनुरोध गरेका छन्। उनले डिसी नेपालसँग भने, ‘निश्पक्षतापूर्वक काम सम्पन्न गरी जिम्मेवारी पूरा गरिनेछ।’

यो छानविन समितिले गत निर्वाचनमा धाँधलीपूर्वक २०९३ जना मतदाता तयार गरी फर्जी मत हालेकोबारे विस्तृत छानविन गर्ने छ। निर्वाचनमा २०९३ मतदाताहरु फर्जी तयार भएको र उनीहरुको प्रमाणीकरण हुन नसके पनि मतदाता सूचिमा नाम राखिएको विषयले विवादको रुप लिएको थियो।

सो संख्याका मतदाताहरुलाई तत्कालीन आईटी कमिटी र प्रमाणीकरण कमिटीले प्रमाणीकरण गरेका थिएनन्। त्यसै मतदाता बनाएर त्यसैबेला नाम भने सार्वजानिक गरिएको थियो तर आवश्यक प्रमाणहरु नपुगी नाममात्र सार्वजानिक गरेर तत्कालीन एनसीसी नेतृत्वले फर्जी मतदाता लिष्टमा परेका व्यक्तिहरुको मानमर्दन गरेकोबारे पनि सोही बेला विवाद उठेको थियो।

प्रमाणीकरणको कागजात पेश नगर्ने तर नाममात्र सार्वजानिक गरिदिने गरेर बद्नामी थपिदिने गरेका कारण सो लिष्टमा नाम परेका व्यक्तिहरुलाई समेत विवादित बनाइएको थियो। प्रमाणीकरण नगरी मतदाता बनाउनुको उद्देश्य र कारण खोज्दै तत्कालीन अध्यक्षका प्रत्यासी सूर्य लम्सालले निर्वाचन रोक्न माग गरेका थिए तर निर्वाचन रोकिएन।

अन्तत : हालका अध्यक्ष सुनील साह २०९३ मतले नै विजयी बन्न पुगेका थिए । त्यसपछि यो प्रकरणबारे लम्सालले आईसीसीमा पटक पटक उजुरी गर्दै आएका थिए। उनकै उजुरीका आधारमा छानविन समिति बनेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *