नेपालमा लम्काने लाटोकोसेरोको पहिलो भिडियो अभिलेख

डिसी नेपाल
१९ कार्तिक २०७७ २२:२८
24
Shares

बलेवा । घर छेउको रुखमा नयाँ प्रजातिको चरा देखिएपछि जसलाई पनि उत्सुकता जाग्छ, त्यसमा पनि पत्रकारले देखेको त्यो दृष्य क्यामरामा कैद नहुने कुरै भएन । राष्ट्रिय समाचार समितिका मुस्ताङ समाचारदाता निरज थकाली गत आइतबार बिहान त्यही दुर्लभ क्षणलाई भिडियो अभिलेखमा राख्न सफल भए ।

पत्रकार थकालीले आफ्नै स्याउबारीबाट मोबाइलको प्रयोग गरेर खिचेको उक्त भिडियो चरासम्बन्धी खोज अनुसन्धानका लागि एक महत्वपूर्ण सामग्री बन्न सक्नेछ । खिच्न थालेको एकैछिनमा उक्त चरा अन्यत्रै उडेको थियो । यसबारे चासो दिँदै जाँदा उक्त चरा लम्कने लाटोकोसेरो (लङ्ग यर्ड उल) भएको पाइयो । त्यतिबेला थकालीलाई पनि भिडियो खिच्नुको बेग्लै मजा आयो । नेपालमा बिरलै पाइने यो चराको यसअघि सम्भवतः भिडियो अभिलेख सार्वजनिक भएको छैन । उक्त तथ्यको एकिन गर्न थकालीले चिनेजानेका चराविज्ञलाई भिडियो इमेलमा पठाएर जवाफ मगाए ।

पत्रकार थकालीका अनुसार प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक राजु आचार्यले भिडियो हेरेपछि उक्त प्रजातिको चरा चीन र भारतमा पाइने भए पनि नेपाल भेटिनु र यसको भिडियो कैद हुनु रोचक कुरा भएको प्रतिक्रिया दिएका छन् ।

आचार्यले थकालीलाई इमेलमा लेखेका छन्, “१९ औं शताब्दीमा काठमाडौँ उपत्यकामा सर ब्राइन हड्सनले यसको नमूना अभिलेख गरेका थिए । नेपालमा एकाध अभिलेखबाहेक यो प्रजाति देख्नेहरु लगभग छैनन् । नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरोमध्ये यो पनि एक हो ।”

नेपाल, भारत, भुटान र पाकिस्तानमा पंक्षीहरुकै विषयमा अध्ययन गरिरहेका सोम जिसीले नेपालमा लम्काने लाटोकोसेरोको भिडियो पहिलोपटक बनेको दाबी गरे । “म गलत छैन भने यो अभिलेख रहने दस्तावेज पहिलो हो” जिसी भन्छन्, “२६ वर्षदेखि पंक्षीहरुको अध्ययन र संरक्षणमा छु, मैले यसबारे नेपालमै कैंद गरिएको फोटो वा भिडियो खोज्दा पाएको छैन् ।”

फिरन्ते प्रजातिको पंक्षी भएकाले यो लाटोकोसेरो नेपालमा घुम्दै आएको हुनसक्ने उनको भनाइ छ । “प्रकृतिलाई जोगाइ राख्न चक्र चल्नुपर्छ, किसानको साथी लाटोकोसेरोका अनेकौं प्रजाति देखिनु खुशीको कुरा हो ।” संसारमा नौलो प्रजाति नभए पनि नेपालमा बासस्थानको अभावले नदेखिने पंक्षीहरु देखिनु थप अध्ययनको विषय भएको उनले बताए ।

थकालीले अध्ययनका लागि पठाएको भिडियोमा प्रतिक्रिया दिँदै बेलायती चराविद् क्यारोल इन्स्किप्प भन्छन्, “यो खुशीलाग्दो अभिलेख हो । नेपालमा यसको अभिलेख असाध्यै कम छ । सन् १९६२ मा काठमाडौँको ककनी नजिकै डिसेल होर्स्टले नमूना संकलन गरेका थिए । त्यसैगरी कास्कीको पिपर क्षेत्रमा भेटेको भनेर सिजीटि फोगीटले २१ वर्षअघि दाबी गरेका थिए । थप विवरण खोजी हुँदैछ ।”

‘नेपालका चराहरु’ र ‘नेपालका लाटोकोसेरोहरु’ पुस्तकले यो प्रजातिलाई फिरन्ते भनेर उल्लेख गरेको छ । यसको अर्थ नेपालमा एकाध मात्र अभिलेख गरिएको भन्ने हो । चराविदहरु डा हेमसागर बराल, बेलायती चराविद् क्यारोल इन्स्किप, जिसी र हठन चौधरीसमेत प्रमाणित गरिदिए पछि पत्रकार थकालीको बेग्लै आनन्दको अनुभूति मिलेको छ ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *