कोरोनाको राप, ताप र दबावबीच पुरानै लयमा फर्किँदै काठमाडाैं – Dcnepal

कोरोनाको राप, ताप र दबावबीच पुरानै लयमा फर्किँदै काठमाडाैं

फाइल फाेटाे । कमल साउद/डिसी नेपाल


काठमाडौं। बुधबार साँझ करिव ६ बजे। नयाँ बानेश्वरबाट कोटेश्वर जाने सडक खण्डमा यातायातका साधनहरु १० किलोमिटर प्रति घण्टाका दरले गुडिरहेका थिए।

कुनै समस्या वा ट्राफिक चेकिङका कारण होइन। न त मान्छेहरुमा यातायातका साधनहरु विस्तारै चलाउनु पर्छ भन्ने भावना आएर हो। यो त केवल सडकमा गुडिरहेका सवारी साधनको चाप बढी भएर हो।

काठमाडौंमा सवारी चाप कम कहिले भयो र? सायद जहिले पनि उस्तै हो। तर, अन्य बेलाको सवारी चाप र अहिलेको सवारी चापमा फरक छ। अरुबेला शहर सामान्य अवस्थामा हुथ्यो। यो बेलामा शहर बिमारी छ। विश्वभर कोरोनाको राप ताप र दवाब छ। नेपालमा पनि हरेक दिन कोरोनाका कारण मान्छेहरु मरिरहेका छन्।

बुधबार बेलुकीसम्मको तथ्यांक हेर्दा नेपालमा १ लाख ८२ हजार ९ सय २३ जना कोरोनाका संक्रमितहरु भेटिएका छन्। जसमध्ये १ हजार ३४ ले ज्यान गुमाएका छन्। ३६ हजार ९ सय ११ कोरोनासँग लडिरहेका छन् भने १ लाख ४४ हजार ९ सय ७८ले कोरोनासँगको लडाईँमा विजयी भएका छन्। तथ्यांक अनुसार बुधबारमात्र ३ हजार ३ सय ९ जना कोरोनाका संक्रमित थपिएका छन्।

काठमाडौं जिल्लामा मात्र ६७ हजार ३ सय ५७ जना कोरोनाका संक्रमितहरु रहेका छन्। ललितपुरका ९ हजार ४ सय २७ र भक्तपुरका ६ हजार ५९ जना गरी काठमाडौं उपत्यकामा जम्मा ८२ हजार ८ सय ४२ जनामा कोरोना संक्रमण भेटिएको छ।

यस्तो कोरोनाको दबदबाबीच पनि रमेश दुवालको भक्तपुर काठमाडौं यात्रा रोकिएको छैन। सार्वजनिक बस नचल्लने बेलामा बाहेक चल्न थालेपछिदेखि उनी काठमाडौं आउने जाने गरेका छन्। नयाँ बानेश्वरमा भक्तपुरको बस पर्खेका उनी तरकारीको व्यवसाय गर्छन्। भक्तपुरबाट तरकारी बोकेर बानेश्वर र बेलुकी बिक्री वितरण सकेर भक्तपुर उनको दैनिकी हो।

‘बाध्यता छ,’ रमेशको स्वर थकित थियो। ‘बालबच्चालाई भोकै मार्न भएन।’ उनी बोल्दै गए, ‘कोरोनाको डर त हामीलाई पनि छनि सर। जब जिम्मेवारी आइ पर्छ तब बाहिरी डर भन्दा कर्तव्यले जित्दो रहेछ। यो काम नगरी चुल्हो बल्दैन, जीवन चल्दैन।’

दुवालको यो बाध्यतासँग मिल्दो बाध्यता भएका अधिकांशहरुको सपनाको शहर पनि को काठमाडौं उपत्यका। बाहिरबाट आफ्नो परिवार पाल्नकै लागि नाङ्लो व्यापार गर्छन कतिले।

ट्याक्सी चलाउनेदेखि प्रविधिको विकाससँगै आएका टुटल र पठाओ चलाउनेको दैनिकीमा पनि भिन्नता छैन। त्रिभुवन विमानस्थलको आन्तरिक ट्रमिनल बाहिर ट्याक्सी लिएर बसेका दोलखाका श्यामबाबु श्रेष्ठ पनि दुवालको झै बाध्यतामा छन्।

‘ट्याक्सी चाहिन्छ हजुर?,’ ट्रमिनलबाट बाहिर आएका जो कोहीलाइ सोध्दै थिए। ‘रोग भन्दा भोक ठूलो हो हजुर’ कोरोनाको डर लाग्दैन भन्ने मेरो प्रश्नमा उनले जवाफ दिए।

‘सिनामंगलमा बस्छौं,’ कुरा गर्दै जाँदा उनले बताउँदै गए, ‘छोरी ८ कक्षामा पढ्छिन। छोरा ६ कक्षामा। दुबैको स्कुलको फिस तिर्नै पर्यो। अनलाइन पढन ल्यापटप, नेट सबैको व्यवस्था गरेँ। लकडाउनले मलाई त गर्नु ग-या छ नि।’

दुवाल र श्रेष्ठ कोरोनाको राप, ताप र दबाबकाबीच सामान्य जन जीवनमा फर्किनेका प्रतिनिधि मात्र हुन्। सरकारले लकडाउन गरेकै बेला पनि ठेला गाडा गुडाउनेदेखि मजदुरी गरेर खानेहरु प्रत्यक्ष मारमा परेका थिए।

विमानस्थल जाने बाटोको गौशाला क्षेत्र, नयाँबानेश्वर र रत्नपार्कका सडकपेटीमा व्यवसाय गरेर आफ्नो जीविकोपार्जन गर्ने हजारौंलाई रोग भन्दा भोकको चिन्ताले सताएको छ।

उनीहरुको पीडाले सवारी साधनमा भएको भिड देख्दैन। मुखबाट फुस्कीएको मास्कको याद हुँदैन। कसैले खोक्यो भने वा छ्यूँ गर्यो भने पनि एकैछिनलाई आफूलाई बचउन बाहेक अर्को कुनै उपाए उनीहरुसँग रहँदैन।

‘धेरै कस्टमर आउनुहुन्छ। बोल्दा कतिले मास्क लगाउनु हुन्छ। कतिले खोल्नु हुन्छ,’ दुवालले कुराकानीमा भनेका थिए। अरुले जे गरेपनि आफूले भने मास्क लगाएर आफैलाई कोरोनबाट बचाइराखेको उनको दाबी थियो।

ट्याक्सी चालक श्रेष्ठ पनि आफूले हरेक यात्रुलाई गन्तव्यमा पुर्याएपछि ट्याक्सी पुछ्ने गरेको बताउँछन्। ‘एयरपोर्टबाट बाहिर जानेहरु त फेस भाइजर लगाएकै हुन्छन्,’ उनले भने, ‘कहिले कतै अन्य ठाँउको यात्रामा भने मास्क नलगाउनेहरु पनि भेटिन्छन्। मैले आफैले उनीहरुलाई मास्क दिएर लगाउन अनुरोध गर्छु।’ सकेसम्म आधारभूत स्वास्थ्य मापदण्ड अपनाएमा आफू पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित राख्न सकिने श्रेष्ठको भनाइ छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो