‘सार्वभौमसत्ता’ बारे सेनापति थापाको समकक्षी नरवणेलाई सन्देश

चूडामणि भट्टराई
२२ कार्तिक २०७७ ७:१३

नेपाल र भारतबीच सीमासम्बन्धी विवाद उत्कर्षमा भएका बेला नेपाल भ्रमणमा आएका भारतीय प्रधानसेनापति मनोज मुकुन्द नरवणेलाई ‘देशहरुको सार्वभौमसत्ता बराबर हुने र एकले अर्काको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने’ सन्देश दिइएको छ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो औपचारिक भाषणमा नै सो सन्देश दिएका हुन्। भारतीय सेनापति नरवणेले नेपाल र भारतका बीच सीमा विवाद चलेका बेला नेपाललाई अरुको उक्साहटमा लागेको आरोप लगाउँदै नेपालको सार्वभौमसत्तालाई कम आँक्ने प्रयास गरेका थिए।

तर, त्यसपछि नेपाली सेनाका सेनापतिले भित्रीरुपमा प्रयास गरेर उनको सो भनाइ सच्याउन बाध्य पार्ने अवस्था ल्याइदिए। परिणामस्वरुप नरवणेले देहरादूनको सैनिक कार्यक्रममा आफ्नो सो भनाइ सच्याउनु परेको थियो। त्यतिमात्र नभई भारतीय सेनाको दवावमा रक्षामन्त्री राजनाथ सिंहले समेत नेपालविरोधी आफ्नो भनाइ तत्काल सच्याउनु परेको थियो।

छिमेकीको सुरक्षा स्वार्थमा वाहिरबाट दख्खल दिने कुरालाई नेपाली सेनाले कदापि स्वीकार गर्दैन र त्यसको प्रतिकार तुरुन्तै गर्छ।

परम्पराअनुसार, नेपाली सेनाको मानार्थ माहारथीको सम्मान लिन नेपाल आएका उनको सम्मानमा आयोजित औपचारिक कार्यक्रममा सेनापति थापाले सबै देशहरुको सार्वभौमिकता बराबर हैसियतको हुने र नेपाली सेनाले अरुको सार्वभौमिकताको सदैव सम्मान गर्ने बताउँदै अरु देशबाट पनि नेपालको सार्वभौमसत्ताको सम्मान हुने आशा एवं विश्वास व्यक्त गरेका थिए।

उच्च सैनिक स्रोतका अनुसार, जंगी अड्डामा आयोजित सो कार्यक्रममा सेनापति थापाले भारतीय समकक्षीसामु नेपाल र भारतका बीचको खुल्ला सिमानालाई खुल्ला तर नियन्त्रिण सिमानाका रुपमा नेपाली सेनाले बुझ्ने गरेको स्पष्ट पारेका थिए।

खुल्ला सिमानाका कारण हुने अपराधिक, अवाञ्छित गतिविधिहरुले दुबै देशको राष्ट्रिय सुरक्षामा असर पार्ने भन्दै सेनापति थापाले एकअर्को देशको सुरक्षामा चुनौति दिने कुनै पनि तत्वलाई नसहने बताएका थिए।

ओलीको भनाइ दोहो-याइयाे

नेपाली सेनाका पीएसओज् अफिसर जर्नेलहरु, रक्षामन्त्रालयका सचिव, परराष्ट्र मन्त्रालयका सचिव तथा पूर्वसेनापतिहरु प्यारजंग थापा, रुक्मांगद् कटवाल र राजेन्द्र क्षेत्रीलगायत सीमित व्यक्तित्वहरु सम्मिलित सो कार्यक्रममा सेनापति थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले भन्ने गरेको ‘सबैसँग भातृत्वपूर्ण सम्बन्ध राख्ने तर कसैसँग दुश्मनी नगर्ने’ नेपालको विदेश नीति रहेको कुरालाई उदृत गरेर भारतीय सेनापतिलाई सुनाएका थिए।

‘नेपालको विदेश नीति पञ्चशीलमा आधारित भएको र प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले भन्ने गर्नुभएजस्तै हामी सबैसँग भातृत्व राख्ने तर कसैसंग दुश्मनी नराख्ने कुरामा विश्वास गर्दछौं’ सेनापति थापाले भनेका थिए, ‘छिमेकीको सुरक्षा स्वार्थमा बाहिरबाट दख्खल दिने कुरालाई नेपाली सेनाले कदापि स्वीकार गर्दैन र त्यसको प्रतिकार तुरुन्तै गर्छ।’

यो कुरा सुनाएर सेनापति थापाले नेपालको राष्ट्रिय सुरक्षा स्वार्थमा भारतबाट पनि उस्तै व्यवहारको अपेक्षा गरेको संकेत दिएका थिए। प्रतिउत्तरमा भारतीय सेनापति नरवणेले दुई मुलुकका सेनाबीचको सम्बन्ध ज्यादै घनिष्ट रहेको र अपसी सम्मान रहेको धारणा राखेका थिए।

भारतीय सेनापतिलाई यसरी दिइयो प्रतीकात्मक सन्देश
आफ्नो भाषणमा नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्न नेपाली सेनाको दृढताबारे प्रष्ट सन्देश दिएका सेनापति थापाले भारतीय सेनापति नरवणेलाई दिएका उपहार र तस्वीरहरुमार्फत पनि प्रतीकात्मक सन्देश दिएको छ।

भारतीय सेनापति र उनको भ्रमण दलले यी सन्देशहरु कुनरुपमा बुझ्यो त्यसबारे स्पष्ट नभए पनि नेपाली सेनाका तर्फबाट दिइएका सन्देशहरु दुई मुलुक र दुई सेनाबीचको सम्बन्धमा नेपालको अडान झल्कने खालमा थिए। सेनापतिले दिएका उपहारको सन्देशहरु निम्न थिए:

१. पृथ्वीनारायण शाहको शालिक सामुन्ने फोटो : दुई सेनापतिहरुले नेपाल एकीकरणका अभियन्ता राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकको सामुन्ने तस्वीर खिचाएका छन्। सो तस्वीरको एकप्रति भारतीय सेनापति नरवणेलाई पनि दिइएको छ। नेपाली सेना नेपालको सार्वभौम एकताप्रति प्रतिबद्ध छ भन्ने प्रतीकात्मक सन्देश दिन सो स्थान छनौट गरी फोटो खिचाइएको बुझ्न सकिन्छ।

२.भगवान बुद्धको मूर्ति उपहार :  नरवणेलाई सेनापति थापाले बुद्धको मूर्ति उपहार दिएका छन् त्यो पनि पृथ्वीनारायण शाहको शालिक अगाडि तस्वीर खिचाएर । (हेर्नुहोस् तस्वीर पनि) भारतले भगवान गौतम बुद्धलाई भारतमा जन्मेका भन्दै विवाद सिर्जना गर्ने काम गर्दै आएको छ। भारतीय प्रधानमन्त्री मोदीले समेत बुद्धबारे यस्तो भ्रम छरेका छन्।

आफ्नो भाषणमा नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्न नेपाली सेनाको दृढताबारे प्रष्ट सन्देश दिएका सेनापति थापाले भारतीय सेनापति नरवणेलाई दिएका उपहार र तस्वीरहरुमार्फत पनि प्रतीकात्मक सन्देश दिएको छ।

यही कुरालाई लक्षित गर्दै यो उपहारमार्फत सेनापति थापाले कम्तीमा भारतीय सेना भगवान बुद्धको जन्मबारे कुनै भ्रम नराखोस्, बुद्ध नेपालमै जन्मेका हुन् अरु भ्रम नफैलियोस् भन्ने सन्देश प्रवाह गर्न खोजेको बुझ्न सकिन्छ। यो सँगसँगै दुई मुलुकबीच पछिल्ला दिनमा जुन समस्याहरु आएका छन् ती समस्याहरु शान्तिपूर्ण ढंगले समाधानको पक्षमा नेपाल छ अर्थात् नेपाल शान्ति चाहन्छ भन्ने सन्देश पनि उनले प्रवाह गर्न खोजेको हो।

३. सगरमाथको उडान:  माउण्टेन फ्लाइटमा सेनापति नरवणेलाई सगरमाथा क्षेत्रको हेलिकोप्टरमार्फत दृश्याबलोकन गराइयो । केही समयअघि चीनको एउटा मिडिया सीजीटीएनले सगरमाथा चीनको भूभाग भएको दावी गर्दै गलत समाचार सम्प्रेषण गरेको र त्यसलाई भारतीय मिडियाले पनि प्रसारण गरेका थिए।

पछि चिनियाँ मिडियाले आफ्नो गल्ती सच्याए पनि सच्याएको कुरा भारतमा प्रचार भएको थिएन। सगरमाथा नेपालको हो भन्ने कुरा भारतीय सेनालाई भ्रम नपरोस् भन्नका लागि नेपाली सेनाले सगरमाथा क्षेत्रको हवाई भ्रमणको कार्यक्रम तय गरेको बुझिन्छ।

हुन त विगतमा अरु सेनापति आउँदा पनि विश्वको शिखर सगरमाथा घुमाउने नै गरिएको थियो तर यसपल्ट चिनियाँ र भारतीय मिडियाको दुश्प्रचारको जवाफ दिन पनि सो क्षेत्रको भ्रमण सन्देशमुलक रहेको बुझ्न सकिन्छ।

समाचारअनुसार, सेनापति नरवणेले सगरमाथा क्षेत्रको एकचक्कर समाप्त भएपछि फर्कन लागेको हेलिकोप्टरलाई पुन अर्को चक्कर लगाएर घुमाइदिन आग्रह गरेका थिए। उनको अग्रह बमोजिम नेपाली सेनाको हेलिकोप्टरले दुई चक्कर लगाएर उनलाई सगरमाथा शिखरको भ्रमण गराएको थियो।

४. दक्षिणतर्फ ओखरको विरुवा :  भारतीय सेनापति नरबणेले नेपाली सेनाको मुख्यालयको दक्षिणतिरको प्रांगणमा ओखरको विरुवा रोपेका छन्। (हेर्नुहोस् तस्वीर)।

उनलाई ओखरकै विरुवा रोप्न लगाउनु त्यो पनि दक्षिणतर्फले दिने सन्देश नेपाल र दक्षिणी छिमेकी भारतका सेनाबीचको समबन्ध यति दह्रो छ कि त्यो ओखरजस्तै दह्रो छ त्यसलाई हत्तपत्त तोड्न सकिँदैन भन्ने नै हो।

दुई मुलुकका बीचको सम्बन्धमा दरार आएका बेला ओखरको बोट रोप्न लगाएर दिइएको प्रतिकात्मक सन्देशबारे भारतीय पक्षको प्रतिक्रिया भने आइनसकेको सैनिक उच्च स्रोतले जनाएको छ। नाकाबन्दीताका यही दरिलो सम्बन्धका कारण अप्ठेरो फुकाउने काम भएको थियो।

यी बाहेक सेनापति थापाले भारतीय सेनापतिलाई पशुपतिनाथ र मुक्तिनाथका पुराना तस्वीरका एक एक प्रति पनि उपहारका रुपमा दिएका छन्। यी दुबै उपहारले उनको धार्मिक आस्थाको सम्मान पनि गरेको छ।

यसैगरी नेपाली सेनाले पहिलोपल्ट भारतीय सेनालाई सहयोगस्वरुप नेपालमै निर्मित एक लाख थान उच्च गुणस्तरको मास्क पनि हन्तान्तरण गरेको छ। सधैं लिनेमात्रै गरेकोमा यसपटक सेनाले दिएको पनि देखिएको छ। स्रोतका अनुसार, यसपटकको वार्तामा नेपाली सेनाले आफूलाई चाहिएका सामग्रीबारे पनि कुनै भारतीय सेनापतिसमक्ष अनुरोध गरेन।

नेपालप्रति खरो टिप्पणी गरेर विवादमा आएका भारतीय सेनापति नरवणे यो भ्रमणको पूरै अवधि निकै शिष्ट र नम्र भएर प्रस्तुत भएका थिए। उनको बोली र व्यवहारमा व्यबसायिकसमेत पूर्णरुपमा झल्किएको सैनिक स्रोतले जनाएको छ। दुईपक्षीय वार्ताका क्रममा होस् वा अरु भेटघाटमा होस् उनले भारत र नेपालको सैन्य सम्बन्ध मजबुत बनाउने कुरामा मात्र जोड दिएका थिए।

समाचारअनुसार, भारतीय सेनाले यो भ्रमणका क्रममा नेपाली सेनालाई फिल्ड अस्पतालहरुका लागि स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ। भारतीय पक्षले यसको मूल्य कति हो भनेर नखुलाएको भए पनि यसअघि प्रदान गर्दैै आएको सहयोगभन्दा यसपटकको सहयोग निकै गुणा बढी भएको बताइएको छ।

यसअघि धेरै वर्षदेखि भारतमै अड्किएका अन्य सैन्य सहयोगका सामग्रीहरु पनि फुकुवा गरिदिने घोषणा सेनापति नरवणेले गरेका छन्। कात्तिक १७ गतेदेखि ३ दिनसम्म नेपालको भ्रमण पूरा गरी सेनापति नरवणे शुक्रबार अपरान्ह स्वदेश फर्किएका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *