यस्तो पनि प्रेम ! श्रीमतीले आफ्ना श्रीमानको उनकी गर्लफ्रेण्डसँग विवाह गराइदिइन्

डिसी नेपाल
२३ कार्तिक २०७७ १४:४३

काठमाडौं। श्रीमान श्रीमतीको सम्बन्धको बीचमा कुनै तेस्रो व्यक्तिको प्रवेशले घर नै तहसनहस भएका घटनाहरु हामीले धेरै देखेका छौं । विवाहेतर सम्बन्धले कैयौंका वैवाहिक जीवन लथालिंग पारेको छ । तर, भारतको मध्य प्रदेशमा भने एक महिलाले निकै अनौठो काम गरेकी छिन् । उनले आफ्ना श्रीमानको विवाह उनकी गर्लफ्रेण्डसँग गराइदिइन् । मध्य प्रदेशको राजधानी भोपालकी ती महिलाले विवाहको तीन वर्षपछि आफ्ना श्रीमानको विवाह उनकी गर्लफ्रेण्डसँग गराइदिएकी हुन् । समाचार एजेन्सी एएनआइका अनुसार पारिवारिक अदालतकी वकिल रजनी राजानीले यसबारे जानकारी दिएकी हुन् ।

रजनीका अनुसार केही दिनअघि उनीकहाँ एक पुरुष र एक महिला काउन्सिलिङको लागि आएका थिए । पुरुषका अनुसार तीन वर्षअघि उनको विवाह भएको थियो र १ वर्ष अघिदेखि उनको अर्की एक महिलासँग भावनात्मक लगाव भएको छ । उनकी प्रेमिकाले विवाह नहुने कुराले आत्महत्या गर्ने सम्म प्रयास गरिसकेकी थिइन् । पुरुषका अनुसार त्यसपछि उनलाई आफू पनि महिला मित्र बिना बस्न नसक्ने महसुस भयो । उनले आफू श्रीमतीसँग पनि खुसी भएको र श्रीमतीसँग कुनै गुनासो नभएको बताउँदै यस्तो अवस्थामा के गर्ने भनेर सल्लाह मागेका थिए ।

वकिल रजनीले उनलाई दुई महिलासँग कानुनी रुपमा बस्न सम्भव नभएको बताइन् । रजनीले ती व्यक्तिसँग आएकी उनकी महिला मित्रलाई पनि अरुको घर नबिगार्न धेरै सम्झाइन् तर उनकी महिला मित्रले मानिनन् । भोलिपल्ट रजनीले ती व्यक्तिकी श्रीमतीलाई पनि बोलाइन् र काउन्सिलिङ गरिन् । उनकी श्रीमतीलाई श्रीमानले के चाहन्छन् भनेर बताउँदा उनी निकै मर्माहत भइन् र रुन थालिन् । लामो कुराकानीपछि श्रीमतीले एक दिनको समय मागिन् ।

भोलिपल्ट उनी श्रीमानसँग आइन् र सबै कानुनी प्रक्रिया पूरा गरेर श्रीमानसँग सम्बनधविच्छेद गर्ने र उनलाई स्वतन्त्र गर्ने निर्णय सुनाइन् । श्रीमानले सम्बन्धविच्छेदपछि श्रीमतीलाई गुजारा भत्ता र आफ्नो सम्पत्तिबाट अंश दिने कुरा गरेका थिए तर उनले त्यो पनि लिन अस्वीकार गरिन् । उनले सम्बन्धसँग आत्मसम्मान नबेच्ने बताउँदै आफूलाई केही नचाहिने बताइन् । त्यसपछि उनले अदालतमा सम्बन्धविच्छेदको निवेदन दिएर श्रीमानसँग सम्बन्धविच्छेद गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *