कांग्रेस सांसदका पति अमेरिकामा मरणासन्न हुने गरी पिटिए

डिसी नेपाल
२४ कार्तिक २०७७ १०:५८

वासिंगटन डिसी। नेपाली कांग्रेसकी उदरपुरकी सांसद लक्ष्मी परियारका पति तीर्थ सेवालाई अमेरिकामा अज्ञात समूहले मरणासन्न हुने गरी पिटेको छ।

राष्ट्रपति निर्वाचनकै भोलिपल्ट नोभेम्बर ५ तारिक विहीबार सांझ कामबाट घर फर्कनेक्रममा उनलाई बाटोमै रोकेर अज्ञात समूहले पिटेको थियो। समाचारअनुसार, तीर्थ आफ्ना एकजना बंगाली मूलका सहकर्मीसँगै राति ९ बजेतिर काम सकेर घर फर्कने क्रममा थिए। उनी अमेरिकाको मेरिल्याण्ड राज्यको टेम्पल हिल भन्ने ठाउँमा बस्ने गरेको बुझिएको छ।

उनले काम गर्ने स्टोर र उनको निवासको दूरी पाँच मिनेटको मात्र भएको बताइएको छ। छोटो दूरी भएकाले उनी प्राय हिडेर नै काममा आउजाऊ गर्ने गरेका र त्यसदिन पनि सहकर्मीसँगै आफ्नो निवासतिर जानेक्रममा राति एउटा कारले पच्छ्याएको र केही अगाडि पुगेपछि कार छेऊमै ल्याई हिँड्दै गरेको मानिस तीर्थ र उनका सहकर्मीलाई बोलाउँदै सो कारमा सबार केही व्यक्तिहरुले रोक्न खोजेका थिए।

रोकिँदा रोकिदै उनीमाथि पछाडिबाट टाउकोमा रडजस्तो बस्तुले प्रहार गरेर ती व्यक्तिहरु भागेका थिए। अस्वाभाविक हर्कत देखाउँदै आफूहरुलाई बोलाउंदै आक्रमणकारीहरुले तीर्थलाई प्रहार गर्न खोज्दा खोज्दै उनका सहकर्मी बंगाली मूलका व्यक्ति भने दौडेर भागेका थिए।

टाउकोमा प्रहारपछि ती आक्रमणकारीहरु त्यहांबाट कार चढेर भागेको बताइएको छ। आक्रमणकारीहरु भागेको देखेपछि तिनै बंगाली मूलका व्यक्तिले प्रहरीलाई तत्काल खबर गरेको र ५ मिनेटभित्रै प्रहरी घटनास्थलमा आएको थियो।

प्रहरीले नै सेवालाई तत्काल नजिकको अस्पताल पुर्याएको थियो। गैरआवासीय नेपाली संघ, अमेरिकाका उपाध्यक्ष कृष्णजीवी पन्थले हाल उनको उपचार भइरहेको र उनको होस् खुलेको बताइएका छन्।

तर, टाउकोमा प्रहार भएकाले उनको अवस्थालाई भने डाक्टरहरुले गम्भीर नै भनेको पनि पन्थले डिसी नेपाललाई बताए। समाचारअनुुसार, स्थानीय प्रहरीले आक्रमणकारीहरुबारे खोजी जारी राखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *