‘मलेसियाले विदेशी कामदार ल्याउन शुरु नगरेसम्म दूतावासले मागपत्र प्रमाणीकरण गर्दैन’

डिसी नेपाल
२४ कार्तिक २०७७ १४:२८

काठमाडौं। क्वलालम्पुरस्थित नेपाली दूतावासले तत्कालै कुनै पनि मागपत्र प्रमाणीकरण नगर्ने जनाएको छ। कोरोना महामारीका कारण आगामी डिसेम्बरसम्म मलेसियाले विदेशी कामदार नलिने घोषणा गरेकोले दूतावासले कुनै पनि मागपत्र प्रमाणीकरण नगर्ने मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए।

‘यहाँको सरकारले नै डिसेम्बरसम्म विदेशी कामदार नल्याउने घोषणा गरेको छ,’ पाण्डेले क्वलालम्पुरबाट डिसी नेपालसँग टेलिफोनमा भने, कामदार नै आउन पाउँदैनन भने अहिले मागपत्र प्रमाणीकरण गरेको कुनै अर्थ रहेन। विदेशी कामदार आउन खुल्यो भने मात्रै हामीले मागपत्र प्रमाणीकरण गछौँ।’

दूतावासमा अहिले नयाँ डिमाण्ड लिएर कुनै पनि रोजगारदाता नआएको उनले बताए। ‘प्रमाणीकरणको लागि भनेर अहिले दूतावासमा कुनै पनि रोजगारदाता आएका छैनन्। आए भने हामीले प्रमाणीकरण गर्दैनौँ,’ उनले भने।

जनवरीबाट विदेश कामदारलाई मलेसिया प्रवेशका लागि अनुमति दिइने भनिएको छ। तर, कोरोनाको संक्रमण फैलिदैं गएकोले तत्कालै विदेशी कामदार लैजाने पक्षमा मलेसिया नरहेको उनको भनाइ छ।

श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपाली दूतावासहरुले मागपत्र प्रमाणीकरण नगरेपछि केहीदिन अघि श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र समेत काटेको थियो। श्रम मन्त्रालयले गएको मंगलबार सम्बन्धित दूतावासहरुलाई तत्काल माग प्रमाणीकरण गराउन निर्देशन दिन भन्दै परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *