दरौंदीको पानी गोरखा बजारसम्म पुर्‍याउने आयोजना सम्पन्न हुँदै

डिसी नेपाल
२४ कार्तिक २०७७ १५:४९

गोरखा। दरौंदी खोलाको पानी गोरखा नगरपालिकामा पुर्‍याउन सुरु भएको बृहत पम्पिङ खानेपानी आयोजनाको काम सम्पन्न हुने चरणमा पुगेको छ।

खानेपानी मन्त्रालय अन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले उक्त आयोजनाको भौतिक प्रगति करिब ९८ प्रतिशत सकिएको जनाएको छ । दरौदी गोरखा बृहत पम्पिङ खानेपानी तथा सरसफाई आयोजना नामाकरण गरेर नगरपालिकाको ३ नम्बर वडा देखि ९ वडासम्मका जनतालाई खानेपानी सेवा पुर्‍याउन उक्त आयोजना सञ्चालन भएको हो ।

विशेष गरी दरौंदी खोलाको पानी लिफ्टिङ गरेर गोरखा बजारमा पुर्‍याई वितरण गर्ने उद्देश्यले आयोजना सञ्चालन भएको हो। दरौंदी खोलाबाट पाँच तहसम्म पानी लिफ्टिङ गरेर गोरखा बजार दरबारसम्म पानी पुर्‍याईएको आयोजना कार्यालयले जनाएको छ। दरौंदी खोलाबाट घलान, जलकिनी, काफलघारी, गैरीकुवा र उपल्लो कोट (गोरखा दरबार) सम्म पानी तानेर गोरखा बजारमा पुर्‍याईएको आयोजना प्रमुख देवेन्द्र कुमार झाले बताए।

उक्त आयोजनाबाट करिब साढे २४ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने आयोजना प्रमुख झाको भनाई छ । गोरखा नगरपालिकाको सो क्षेत्रमा ४ हजार ८ सय ५३ निजी धाराहरु जडान भईसकेको आयोजना प्रमुख झाले बताए। यो आयोजनाको ठेक्का सम्झौता लागत रकम ४२ करोड ८ लाख १० हजार रुपैंयाँ रहेको छ।

आयोजनाका प्रमुख झाले भने, ‘स्थानीय व्यक्तिहरुले विद्युतको काममा अवरोध गरेकाले केही समय काम ढिला भयो। तर अब आयोजनाको काम पुस मसान्तभित्र सकिने छ।’

पानी प्रशोधन गर्ने प्लान्टमा पानी शुद्धीकरण गर्न फिल्टर मिडिया (ग्रेड अनुसारको गिटी बालुवा) राख्ने र फिनिसिङको काम मात्र बाँकी रहेको आयोजना प्रमुख झाले बताए। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पानी शुद्धीकरण गरेर आम उपभोक्तालाई वितरण गरिने उनले जानकारी दिए।

यो आयोजना गोरखा जिल्लाकै एक नमुना र बृहत आयोजना हो। गोरखा बजारका आम उपभोक्तालाई सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले सन् २०१६ मा खानेपानीको सर्भे गरिएको थियो। १५ बर्षका लागि डिजाइन गरिएको उक्त खानेपानी आयोजना निर्माणका लागि २०७४ असार २७ गते ठेक्का सम्झौता भएको थियो।

आयोजना कार्यालयका अनुसार ३४ दशमलब ८७ किलोमिटर मुख्य पाइपलाइन तथा ९९ दशमलब ३ किलोमिटर वितरण लाइन र ७ वटा रिजर्भवायर ट्याङ्की मार्फत खानेपानी वितरण हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *