नेकपामा ‘पत्र युद्ध’…

डिसी नेपाल
२८ कार्तिक २०७७ १८:०८

काठमाडौं। सत्तारुढ दल नेकपा स्थापनाको गर्भमै आन्तरिक विवाद थियो। तत्कालिन एमाले र माओवादीबीच एकीकरण गरेर बनेको नेकपाको राजनीतिक कार्यदिशाका विषयमा सबैभन्दा धेरै विवाद हुँदा टालटालु पार्ने गरी कार्यदिशा बनयो ‘जनताको जनवाद’। यो एमालेको जनताको बहुदलीय जनवाद पनि थिएन र माओवादीको वैज्ञानिक माओवाद पनि थिएन। यो नेकपा जन्माउन बनाइएको टालटुले सिद्धान्त थियो। टालटुले सिद्धान्तले देशकै सबैभन्दा ठूलो पार्टीलाई कहाँसम्म थेग्न सक्थ्यो र ? पार्टी स्थापना भएको केही महिनामै शुरु भएको घर झगडा यतिबेला विभाजन हुने जोखिमसम्म पुगेको छ। नेकपाको स्थापना २०७६ जेठ ३ गते भएको थियो। नेकपाकै नेताहरुले पार्टी विभाजन हुने चिन्ता प्रकट गरिरहेका छन्।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अगुवाईको ओली इतर समूहबीच विवाद चर्किरहेको छ। विवाद चर्किँदा यसअघि सार्वजनिक फोरमहरुमा, अन्तरवार्ताहरुमा एकअर्कामाथि आक्रमण गर्ने नेताहरु भने पछिल्लो हप्ता ‘पत्र युद्ध’मा होमिएका छन्।

यो पत्र युद्धको शुरुआत प्रचण्ड समूहले गरेको छ। ९ सदस्यी सचिवालयका बहुमत (पाँच)जना सदस्यहरुको अनौपचारिक बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्यो। सो बैठकले पार्टी सचिवलाय बैठक बोलाउनका लागि ओली समक्ष लिखित निवेदन गर्ने निर्णय गरेअनुसार यही कात्तिक २२ गते बालुवाटार पुगेर प्रचण्डले लिखित निवेदन पेश गरे। वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित बालुवाटार पुगेर ओली समक्ष लिखित प्रस्ताव पेश गरेका थिए।

प्रचण्ड समूहले डकुमेण्टेशन गर्न लिखित पत्र बझाएको भन्दै ओली पनि प्रचण्डलाई पत्रबाटै जवाफ पठाए। प्रचण्ड समूहले बैठक बोलाउन पेश गरेको लिखित पत्रमा बैठकको कुरामात्र थिएन, नेकपामा देखिएको विवादको जड ओली भएको आरोपसमेत थियो। ओलीको अहंकार, दम्भ र कुरा नसुन्ने बानीका कारण पार्टीमा विवाद जन्मिएको सो पत्रमा थियो।

त्यसको जवाफ पनि ओलीले पत्रमामार्फत दिँदै प्रचण्डले पार्टीमा गुटबन्दी गरेको आरोप लगाएका छन्। उनले प्रचण्डले आफूले पाएको जिम्मेवारी पूरा नगरेको तर, सरकारले राम्रा काम गरेकोमा विरोध गरेको भन्दै उल्टै प्रचण्डमाथि प्रश्न उठाएका छन्। यतिमात्र होइन, नेताहरु नेपाल, खनाल, गौतम र श्रेष्ठलाईसमेत बोर्धाथ दिएर लेखिएको सो पत्रमा अन्य चार जनामाथि पनि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले असन्तुष्टि पोखेका छन्। उनले सँधै विधि पद्धतीको कुरा गर्ने तर, गुटबन्दीलाई मलजल गर्ने भन्दै उनीहरुकोसमेत आलोचना गरेका छन्।

यसरी ओलीबाट निवेदनको जवाफ पत्रबाट पाएपछि प्रचण्डले पनि ओलीलाई अर्को पत्र लेखेका छन्। पत्रमा प्रचण्डले आफूमाथि ओलीले लगाएका आरोपहरुको जवाफ दिएका छन्। प्रचण्डले सरकारको काम प्रभावकारी नभएको, कोरोना महामारीको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम नगरेको र जनताका समस्यामा ध्यान नदिएको जस्ता आरोप प्रचण्डमाथि लगाएका छन्।

नेकपाका दुई अध्यक्षबीच पत्र युद्ध चलेपछि त्यसले सचिवालय सदस्यको बोझ बढाएको छ। शुक्रबार बसेको सचिवालय बैठकले यी तीनवटै पत्रमाथि पनि छलफल गर्ने कार्यसूची तय गरेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले यी तीन वटै पत्र अध्ययनका लागि सबै सदस्यहरुलाई वितरण गरिएको छ। यी पत्रमाथि अध्ययन भएपछि आगामी मंसिर ३ गते बस्ने सचिवालय बैठकमा त्यसमा छलफल हुनेछ।

वरिष्ठ नेता झलनाथ खनाललले शुक्रबारको सचिवलाय बैठक ४० मिनेट बसेको जानकारी दिए। उनले शुक्रबारको बैठकमा पाँच वटा डकुमेण्टहरु वितरण गरिएको भन्दै ती डकुमेण्टको अध्ययनपछि मंसिर ३ को बैठकमा छलफल हुने बताए। उनले भनेका पाँच डकुमेण्टमा तीनवटा पत्र, एक आन्तरिक पार्टी निर्देशन र अर्को शुक्रबार प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव हो। वरिष्ठ नेता खनालले आफूले यी डकुमेण्ट अध्ययन गरिनसकेको डिसी नेपाललाई बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *