अपमानको घुट मैले पिएको होइन ? मैले पार्टी फुटाएँ ? [अन्तर्वार्ता]

डिसी नेपाल
९ मंसिर २०७७ ११:४२
6.5k
Shares

गत आमनिर्वाचनमा प्रचण्ड बहुमत ल्याएर सत्तामा पुगेको नेपाल कम्युनिष्ट पार्टीभित्र सत्ता आरोहणसँगै चर्कँदै गएको आन्तिरिक विवाद अहिले चरमोत्कर्षमा पुगेको छ।

पार्टी अध्यक्ष केपी ओली एकातिर र अर्कातिर अर्का अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल तथा नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठको गुटका बीच सार्वजानिक आरोप प्रत्यारोपले एकअर्काप्रति सामान्य सम्मान पनि प्रकट हुन छाडेको देखिन्छ।

पार्टीको आन्तरिक विवादकै सेरोफेरोमा बरिष्ठ नेता नेपालले डिसी नेपालका विजयकुमार मिश्रसँग लामो वार्तालाप गरेका छन्। प्रधानमन्त्री ओलीप्रति निकै आक्रामकरुपमा प्रस्तुत भएका नेपालसंगको सो वार्तालापको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।

नेकपाको विवादको विषयमा मिडियामा केही कुरा त आइसकेका छन्। यो विवादको मूल कुरा के हो ?

विवादको मुल जडो, कस्तो किसिमको पार्टी हामी बनाउन गइरहेका छौं। कस्तो पार्टी बनाउने , कस्तो देश बनाउने? यो विषय र यही सन्दर्भमा नै मूल विवाद छ। र, कस्तो पार्टी बनाउँने भन्ने वित्तिकै त्यो पार्टी कसरी चल्ने भन्ने कुरा जोडिन्छ। पाटीृको संचालन विधिको कुरा रहन्छ।

संचालन विधिको कुरा आएपछि त्यो किसिमका कार्यकर्ताको खोजीको कुरा आउँछ। कार्यकर्तामा ती निमित्त गुणहरुको खोजी गरिन्छ। त्यस्ता संस्कार र त्यस्ता प्रवृतिहरुलाई प्रोत्साहित गरिन्छ।

अनुचित संस्कार र प्रवृतिलाई निरुत्साहित गरिन्छ। पार्टी निर्माणका कुराले र मुलरुपमा सरकार कसरी संचालन गर्ने भन्ने विषय नै अहिलेको विवादको मूल जड हो। यो विवादमा हाम्रो केपी शर्मा ओली ज्यूको सोच जिम्मेवार छ।

उहाँ(प्रम ओली)को कस्तो सोच भयो जसकारण उहाँ जिम्मेवार हुनुहुन्छ?

उहाँमा व्यक्तिवाद छ। उहाँमा अहंकार छ। मपाईँवाद छ। म नै सर्वेसर्वा हुँ भन्ने उहाँको सोच छ। अरुसँग भएका योग्यता, क्षमता, खुवी, अनुभवलाई २ पैसाको पनि महत्व दिनुहुन्न। उहाँलाई छलफलमा विश्वास छैन।

उहाँलाई कमिटीको वैठकमा विश्वास छैन। उहाँलाई व्यापक वहसहरुमा रुचि छैन। वहस, विवाद, छलफलबाट एउटा निकासमा पुगिन्छ। ‘वादेवादे जायदे तत्वबोध’ भनिन्छ।

उहाँले सही बाटो समातेर पाटीलाई सिस्टममा लैजानु भयो भने सकियो। हामी कम्युनिष्ट पार्टीको निर्णयलाई मान्न तयार छौं। हाम्रो विधानको धारा ६० मा भनिएको छ—कमिटीको बहुमतको निर्णय नै पार्टीको निर्णय हुने छ।

उहाँले तपाइलाई पनि बेला बेलामा बालुवाटार बोलाउनु हुन्छ। तपाईँहरुबीच छलफल हुन्छ । त्यो कुराकानीको लक्षण कस्तो देख्नु हुन्छ?
म्यानुपुलेटिभ (तोडमरोड गर्ने) नै देखिन्छ । एकले अर्कोलाई खेलाई राख्ने, उपयोग गर्ने, उपयोगितावाद भयो। अर्को भाषामा भन्दा ‘बा’ संस्कृति छ। उहाँ  ‘बा’ भएको शब्दलाई रुचाउनु हुन्छ। उहाँको उमेरको भन्दा पनि बढी मान्छेले बा भनिदियो भने उहाँ (प्रधानमन्त्री) दंग पर्नु हुन्छ।

दासत्वलाई उहाँले संरक्षण गर्नु हुन्छ। उहाँमा रहेको व्यक्ति पूजाको प्रवृति रहेको छ। फोटोको संस्कारलाई मान्यता दिनुहुन्छ। फोटोको विज्ञापन, फोटाको प्रचार प्रसारहरु, त्यसले के हुन्छ भने मान्छेमा अहंकार जन्म हुन्छ। आफ्नो अपरिहार्यता जन्म हुन्छ। म नै सर्वेसर्वा हुँ भन्ने हुन्छ।

जस्तो-चुनावमा जित हासिल भयो। उहाँले के भन्नु हुन्छ भने सबै उहाँकै प्रतापबाट हो। उहाँकै प्रयासबाट हो। अरुको भूमिका त केही पनि छैन। उहाँले नै गर्दा दुईतिहाई पाएकोजस्तो।

नेपालको राजनीतिमा, नेपालको इतिहासमा, नेकपा एमालेको तत्कालीन समयमा त्यत्रो लामो समयदेखि मेहेनत गरेर, लगनशिलताका साथ लागिपरेर, आएका नेताहरु मैले आफ्नो मात्र भनेको छैन, सबैका आ–आफ्ना खुबी क्षमताहरु छन्। ती क्षमताहरुलाई उहाँले कत्तिपनि महत्व दिनुहुन्न । उहाँको मनमा सम्मानभाव छँदै छैन।

तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भयो। जनताको बहुदलीय जनवादबाट आएको एमाले र २१औँ शताब्दीको नयाँ जनवादबाट आएको माओवादी, पार्टी एकीकरण हुँदा जनताको जनवादमात्र तपाईँको अन्तरिम विधानमा राखिएको छ। के सैद्धान्तिकरुपमा पनि तपाईँहरुको बीचमा मतभेद भयो?

विधानमा पनि राखिएको छ। राजनीतिक दस्तावेजमा पनि राखिएको छ। यो राख्ने काम एकलरुपले हाम्रो केपी ओलीले गर्नु भयो। हामीले एकताको निम्ति बोलेनौं किनभने मैले त्यो बेलामा पनि जनताको बहुदलीय जनवाद उठाएको थिएँ। त्यो कुरा उठाउने मान्छे नै मै हुँ।

मैले त्यो कुरा उठाइसकेपछि प्रचण्ड कमरेड झस्किनु भयो। उहाँहरु त जवजको पृष्ठभूमिबाट आएको हैन। उहाँहरु त माओवादको पृष्ठभूमिबाट आउनु भएको हो । हामी जनताको बहुदलीय जनवादको पृष्ठभूमिबाट आएको मान्छे ।

म पार्टीभित्रको बरिष्ठ नेताको पहिलो पदबाट हटेर अपमानको घुट पिएर चौथो नम्बरमा झर्दाखेरी पार्टी फुटाएँ ? अपमानको घुट मैले पिएको हैन?

जवज जुन निर्माण भएको छ नि, त्यसका मुल व्यक्तिहरुमध्ये पहिलो नम्बरमा मदन भण्डारी, दोश्रोमा मै हुँ। म दावाका साथ भनिरहेको छु त्यसपछिको मै हुँ। त्यसप्रतिको माया भन्नुस्, प्रेम भन्नुस, निकटता भन्नुस्, स्वामित्वबोधको भावना भन्नुस्, ममा छ।

तर, म जव पार्टीलाई एकीकरण गरिन्छ भने कतिपय कुरालाई मिलाएर जानु पर्छ भन्ने पक्षमा छु। सवै भावनाले समेटिएन भने पार्टीको एकता पूर्ण हुँदैन।

प्रचण्डले सचिवालयमा पेश गरेको प्रतिवेदनमा सैद्धान्तिक कुरा पनि उठाउनु भएको छ। संविधानले समाजवाद उन्मुख भनेको छ । जनताको जनवादमा उन्मुख रहेर समाजवादमा जाने भन्ने कुरा थियो। प्रधानमन्त्रीको अभिव्यक्तिमा त्यस्तो देखिन्छ त?

दलाल पुजिवाद हावी भएको छ । सबैको आरोप त्यही हो । समाजवादको आधारशिला यो आधारमा बन्नै सक्दैन । शिला हामी गाड्नै सक्दैनौं । आधारशिलाका लागि बहस गर्नु परेन ? के गर्दा हुन्छ, कुन कुन कदम चाल्दाखेरी कस्तो कस्तो नीति अवलम्बन गर्दाखेरी, कस्तो कस्तो कार्यक्रम ल्याउँदाखेरी हुन्छ भन्ने कुरालाई व्यापक वहसको कुरा बनाए हुँदैन ? कुरा उठिरहेको छ, केन्द्रीय कमिटिमा कुरा उठ्छ ।

नेताहरुले कुरा उठाउँछन्, कार्यकर्ताले कुरा उठाउँछन् । तर, यो उठाएका कुराको कुनै सुनुवाइ नै हुँदैन। उहाँलाई पाटी र पार्टीको बैठकबाट एलर्जी हुन्छ। उहाँ केमा मख्ख पर्नुहुन्छ भने गुट, उहाँका भजनमण्डलीहरु, जसले केपी ओलीलाई ‘बा’ भन्छन् । जो महान नेता भन्छन्, राजनेता भन्छन्। उहाँ प्रशंशामा लिप्त हुन चाहाने व्यक्ति हो।

भनेपछि उहाँको सिद्धान्ततिर चिन्तन छैन, व्यक्तिवादतिर चिन्तन गयो भन्न खोज्नु भएको ?

पार्टीको बैठकमा २ वटा ज्यूदै नेताको फोटो टाँसियो । सबैले देख्नुभयो। त्यसको पहिलो विरोध गर्ने मान्छे मै हो। हाम्रो पार्टीको बैठकमा देख्नु हुन्छ। ठूलठूला २ वटा कुर्सी हुन्छन्, अनि अरु हामी सबै उहाँहरुका द्वारपाल जस्ता। एउटा वैठकको व्यवस्थापन कस्तो भएको थियो भने, २ वटा विशाल कुर्सीहरु छन्। एउटाको छेउमा माधवकुमार नेपाल बसेको छ। अर्काको पछाडि झलनाथ खनाल ।

पछाडि ५ जना अरु सिपाहीजस्ता छन् । बलिया हवल्दारहरु बस्या छन् । ती बलिया हवल्दारहरु, वामदेव गौतमदेखि लिएर रामबहादुर थापा बादलहरु छन् । इश्वर पोखरेलदेखि नारायणकाजी श्रेष्ठसम्म बस्या छन् । त्यो देख्दा मलाई त खपिनसक्नु भयो। संसारको शक्तिशालि नेतामा पर्नुहुन्छ सी जिन पिङ । उहाँको पार्टीको बैठक हेर्नुहोस् त तपाईँ ।

एउटै साइजको कुर्सी हुन्छ। हामीले पटक पटक उठाएका छौं । ‘नोबडी सुप्रिम इन आवोर पार्टी, वी अल आर इक्वल’। तर, ‘यु आर द फस्र्ट एमङ्ग द इक्वल, बिकज अ पर्सन हु टेक द रेस्पोन्सिविलिटी इज द फस्र्ट पर्सन’, समानहरु भित्रको पनि पहिलो व्यक्ति, हामी समान हौं। राजनीतिक इतिहासको कुरा गर्नुहुन्छ भने हामी अझै सिनियर हौंला नि त।

अध्यक्ष प्रचण्डले हालै सचिवालयमा पेस गर्नु भएको प्रतिवेदनमा यहाँ लगायत ५ जना सचिवालय सदस्यहरुको सहमति भएर साझा रुपमा पेश भएको हो भन्ने मिडियामा आइरहेको छ । यो विषयमा के भन्नु हुन्छ?

पहिलो कुरा तपाईँ के बुझ्नुस् भन्दाखेरी प्रचण्डजीले अनेकौंपटक प्रयास गर्दाखेरी पनि हाम्रो अध्यक्ष र प्रधानमन्त्री केपी ओलीजी बैठक बोलाउन तयार हुनु भएन। मैले पनि पटकपटक बैठकको नियमित आयोजना गरौं, हप्तामा एकपटक अनिवार्यरुपमा गरौ, सिस्टम नै बसालौं, नौजना त हो नि, एक घण्टामात्र बसेर छलफल गरे सकिँदैन ? औपचारिक नै गर्नु पर्ने भन्ने हुन्छ ? भने।

औपचारिक बैठक गर्ने हो भने पनि प्रधानमन्त्रीको व्यस्तताका कारणले बैठकमा नबस्नुस् हामीलाई जिम्मा दिए हुँदैन। हामी काम नपाएर दिनभरि आलश्यका साथ बसिरहेका छौं । दिक्क लाग्दो दिन बिताईरहेका छौं अनि एक जना मान्छेले मरिमरि काम गरिरहेको छ भन्ने देखाएर मात्र हुन्छ ।

 

सबैको उर्जा, सबैको अनुभव सबैको शक्ति, सबैको बुद्धि प्रयोग गरे हुँदैन ? त्यस्तो स्थिति नभइसकेपछि, प्रचण्डजीले पटकपटक भन्दाखेरी उहाँ तयार नभएपछि, नारायणकाजीले भन्नु भयो, मैले भनें कोरोनाको बारेमा छलफल गरौंन भनेर। अहिलेको कोरोनाको उपचारको पद्धति गलत छ । एउटा कोभिड डेडिकेटेड हस्पिटल बनाउनुस् न तपाई जिम्मा लिनुहोस, कोभिड र ननकोभिड एउटै ठाउँमा हुन्छ ?

कतिचोटि भने मैले । त्यो भयो भने यो अस्पताल कोभिड बिमारीको लागि, यो अस्पताल नन कोभिडको लागि, एउटै अस्पतालमा दुईवटा कम्पाउण्ड छ भने यो कोभिडको लागि, यो ननकोभिडको लागि भनेर छुट्याउनु पर्दैन ? एउटा कोठा छुट्याएर हुन्छ ? गेट एउटै हुन्छ, कम्पाउण्ड एउटै हुन्छ। एउटै भ-याङ हुन्छ । एउटै लिफ्ट हुन्छ । कति जोखिम हुन्छ ? त्यो भएर सकेसम्म अलग अलग हस्पिटल, नभए अलगअलग कम्पाउण्ड गरौं भने सुन्ने हैनन् ।

पाकिस्तानमा हेर्नुहोस् त्यहाँका प्रधानमन्त्रीले युवाहरुलाई कसरी मोबिलाइज गरे ? हाम्रो पनि केन्द्र सरकार छ, प्रदेश सरकार छ । स्थानीय निकाय छ । आफ्नो पार्टी छ, अरु पार्टीहरु छन् । नागरिक समाज र समाजसेवीहरु छन् । यो सबैको एउटा कम्बाइन्ड फोर्स बनाएर गरे हुँदैनथ्यो ? सामूहिकरुपमा जानमा के समस्या छ ?

कोभिडको भन्दा पार्टीको चिन्तामा नेकपाका नेताहरु हुनुहुन्छ भन्ने छ । यो आरोप यहाँलाई पनि लागेको छ । के भन्नु हुन्छ ? 

पार्टीमा छलफल त गर्नु प¥यो नि पहिले । कोभिडको कसरी उपचार गर्ने भन्ने छलफल पार्टीमा नभएर कहाँ गर्ने ? सडकमा गर्ने ? टुडिखेलमा गर्ने कि पार्टीको बैठकमा गर्ने ? पार्टीको बैठक कोभिडको लागि अहिलेसम्म प्रधानमन्त्रीले बोलाउनु भएको छैन।

पार्टीका अरु नेता तथा कार्यकर्ताको बुद्धि त लिनुस्न तपाईँ ? ल तपाईले भ्याउनु भएन, स्वास्थ्य मन्त्रीलाई समन्वय गर भनेर बोलाए हुँदैन । के के संरचना बन्यो । सरकारले व्यापकै गरेको होला रे  तर सबैको विश्वास त जित्नुहोस् न । त्यो भयो भने अपनत्व फिल हुन्छ । स्वामित्व फिल हुन्छ । त्यहाँ आफ्नो पनि कन्ट्रिब्युसन छ भन्ने फिल हुन्छ । ज्ञान छैन भने जे छ सबैले हाम्रो यही छ भन्दै बस्थ्यौं ।

त्यसोभए ५ जनाको सहमति भएर नै प्रचण्डले प्रतिवेदन ल्याउनु भएको हो त ?

प्रतिवेदनभन्दा पहिला दुई पानाको बैठकको निम्ति आग्रह पत्र लिएर गएका थियौं। निवेदन दर्ता गर्न गर्यौं। आग्रह गर्न गर्यौं। कस्तो विडम्बना। एउटा पार्टीभित्र, पार्टीको सचिवालयको बैठक प्रत्येक हप्ता बस्नु पर्नेमा, त्यो सचिवालयको बैठक बोलाउनका लागि ५ जना बरिष्ठ व्यक्तित्वहरु, दशकौंसम्म पार्टी हाँकेका नेताहरु, ३ जना मुलुकको प्रधानमन्त्री भइसकेका व्यक्तिहरु थियौं त्यहाँ।

मैले बुझेको पहिलो कुरा पार्टी फुटाइदिने, दोश्रो कुरो संसद विगठन गरिदिने। तेस्रो भनेको प्रतिपक्षीलाई मिलाएर जाने, प्रतिपक्षभित्र पनि फाटो ल्याइदिने, र संकटकाल लगाउने। भन्नेले त गणतन्त्र सिध्याइदिने पनि भन्छन् मलाई त्यस्तो त लाग्दैन।

उपप्रधानमन्त्रीहरु छन् त्यहाँ । सब लाइन लागेर गएका छन् त्यहा । जस्तो महाराजाको दरवारमा गएजस्तो। हजुर बैठक बोलाइदिनु पर्यो भनेजस्तो। उहाँले, हुँ… तोक लगाइदिन्छु। जवाफ पाइयो। मैले भने, तपाईँको यो अहंकार तोक लगाउने ? मिति तोकौं ।

प्रकृयाबाट हुन्छ भन्नुभयो । मैले फेरि पनि भनें तपाईँमा यत्रो अहंकार जागेको ? हामीले कल गरेको आधारमा बोलाउनु पर्नेमा प्रचण्ड थाकिसक्नु भयो । मैले महासचिव विष्णु पौडेललाई पनि कतिचोटि भनेको छु । यो पार्टी एकताको कामको कागजपत्र तयार गरेर एक कपी मलाई दिनुस् भनेर।

पार्टी एकताको काम १ महिनामा सकिन्थ्यो १ महिनामा । पारदर्शी तरिकाले गर्ने हो भने, मापदण्डका आधारमा गर्ने हो भने, आजसम्म एउटामात्र रेकर्ड हो र यो । मेरो भनाइ के हो भने कुनै पनि चीजको विधि बनाउँदाखेरी, विधान बनाउँदाखेरी, मापदण्ड तयार गर्दाखेरी, बहसहरु गरौं । त्यो भयो भने काम गर्ने बाटोमा विवाद हुँदैन ।

कर्णाली प्रदेशको सरकारमा एउटा प्रहार भयो, सुरेन्द्र पाण्डेमा अर्को प्रहार भयो । अब कतिवटा प्रहार खेप्ने ?

पहिले उहाँको लडाई मसँग भयो। त्यसपछि प्रचण्ड जीसँग भयो। कहिले प्रचण्डजी लाई विश्वास जितर मलाई एक्लो बनाउने कोसिस भयो । अहिले मलाई फकाएर प्रचण्ड जिलाई एक्ल्याउने कोसिस जारी छ। प्रचण्ड र मलाई नसकिएपछि वामदेवलाई पनि फकाउन सकिन्छ कि भन्ने छ । एउटै चीज मलाइ, प्रचण्डलाई र वामदेवलाई दिने भन्नुहुँदो रहेछ। सबैलाई एउटै पदको लोभ देखाउने हामी पदका लोभि त हौइनौं।

पदको लडाई त हैन यो । यो त पार्टी कस्तो बनाउने भन्ने सम्बन्धको लडाई हो । यो कस्तो नीति अवलम्बन गर्ने भन्ने कुराको लडाई हो । भ्रष्टाचारलाई निमिट्यान्न पारौं भन्ने हाम्रो भनाइ हो । भ्रष्टाचारको भागवण्डा पाएनौं भन्ने लडाई होइन।

पार्टीको प्रतिष्ठा खस्क्यो, सरकार अलोकप्रिय भयो भन्ने लडाईँ हो यो। नेपाली जनता पीडित भए, जनताको विजोग भइरहेको छ । जनता रोग भोकले सडकमा छटपटाइरहेका छन् । त्यसको सम्बोधन कसरी गर्ने भन्ने कुराको लडाइ हो यो

पार्टीलाई सिस्टममा ल्याउनु पर्नेमा प्रधानमन्त्रीले शेरबहादुर देउवालाई भेटेर सत्ता समीकरणको नयाँ प्रस्ताव फालेको भन्ने चर्चाहरु पनि आएका छन् नि ?

यसको आधिकारिक जवाफ हाम्रो शेरबहादुरजी र उहाँसँग सम्बन्धित मान्छेले दिनुहुन्छ। मिडियामा आएको भरमा मैले भन्न सक्दिन“ । तर, एउटा कुरा के छ हाम्रो केपी ओलीजीमा भने उहाँले पार्टीभित्रको सिस्टमलाई मान्दिन भनेर मैसँग भन्नु भएको छ । म बहुमतलाई मान्दिन, मलाई कसैले केही ग-यो भने म पनि देखाई दिन्छु । म कडा कदम चाल्छु । मेरो साथमा बहुमत छ, भन्नुहुन्छ ।

उहाँले भनेको कडा कदम के हो त ?

त्यो उहाँलाई सोध्नुस् । मैले बुझेको पहिलो कुरा पार्टी फुटाइदिने, दोश्रो कुरो संसद विगठन गरिदिने । तेस्रो भनेको प्रतिपक्षीलाई मिलाएर जाने, प्रतिपक्षभित्र पनि फाटो ल्याइदिने, र संकटकाल लगाउने। भन्नेले त गणतन्त्र सिध्याइदिने पनि भन्छन् मलाइ त्यस्तो त लाग्दैन । तर, उहाँले गलत कदम चाल्न सक्नु हुन्छ।

राजा आऊ देश बचाउन भन्ने नारा लागिरहेको बेलामा संविधानमा भएको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने शब्द हटाउनु गल्ती भयो । म पनि नेपालको नाम नेपाल मात्र लेख्नुपर्छ भन्ने पक्षमा थिएँ । मैले सुरुदेखि नै नेपालमात्र राखौं नामको अगाडि धेरै कुरा नजोडौं पनि भनेँ।

नेपाली जनता पीडित भए, जनताको विजोग भइरहेको छ। जनता रोग भोकले सडकमा छटपटाइरहेका छन्। त्यसको सम्बोधन कसरी गर्ने भन्ने कुराको लडाइ हो यो।

तर, राखियो । राखिसकेको छ भने यो कुन बेलामा गर्ने त्यो बहसको विषय हैन ? यसले भोलि विवाद ल्यायो भने पार्टीले डिफेन्स गर्नु पर्दैन ? त्यो कुरा पार्टीलाई थाहा छैन । हामीले पत्रिका पढेर थाहा पाउँछौं  हामीले पत्रिकाबाट थाहा पाएपछि हामीले किन जिम्मा लिन्छौं । हामीले निर्णय प्रकृयामा सहभागी भएपछि बल्ल जिम्मा लिन्छौं । मैले धेरैपटक भन्दै आएको छु।

भारतीय जासुसी संस्था रअका प्रमुख आएर भेटेको कुरा पनि मिडियाबाटै थाहा पाउनु भएको हो ?

हो मैले मिडियाबाट नै थाहा पाएँ । मैले सोधे पनि । उहाँले भारतीय प्रधानमन्त्रीको विशेष दुतको रुपमा आउनु भएको भन्ने जवाफ दिनुभयो मैले भने यस्ता नचाइने कुरा नगर्नुहोस् । उहाँले आफूले पनि रअका प्रमुख प्लेनबाट झरेपछि थाहा भएको भन्नुभयो। यो नक्कली कुरा नगर्नुस भने ।

उहाँको परराष्ट्रमन्त्रीले एक हप्ता पहिलादेखि नै थाहा थियो भन्ने, उहाँले थाहा पाएन भन्ने ? मोदीजी ले पनि राजनीतिक व्यक्तित्व नपठाएर कहीँ अरु पठाउँछन् ? त्यो पनि इन्टेलिजेन्सको मान्छे कसैले पठाउँछ ?

भित्र भएको कुरामा पनि मैले सबै पारदर्शी गरेको छु भनेर उहांले मलाई भन्नुभएको छ । सबै लिखत छ । मैले भने किन लुकाको ? पार्टीको विदेश विभाग प्रमुख म हुँ । मसँग छलफल गर्नु भो ? म किन डिफेन्स गर्छु ? मलाई अन्धकारमा राखिन्छ भने मैले डिफेन्स गर्नु पर्ने कारण के छ ? मैले डिफेन्स गर्न सक्छु।

पार्टी चलाउने मान्छेको तरिका के हुनु पर्छ भने सरोकारवाला सबैलाई विश्वासमा लिने । परेका बेला उहाँहरुले डिफेन्स गर्नुहुन्छ । उहाँले त आफ्नो गुटको मान्छेलाई मात्र विश्वासमा लिनुहुन्छ। त्यहाँ त आदेश दिएपनि भै गो।

जो मान्छेहरु ‘बा’ संस्कृतिमा हुर्केका हुन्, जो भजनमण्डलीमा बसेका हुन् उनको काम नै के हुन्छ र ? म केपी ओलीको विरोधी पनि होइन। यति बुझिराख्नुहोस्, म व्यक्ति विशेषलाई केन्द्रमा राख्दिन । मेरो विचारमा आन्दोलन हुन्छ, मेरो लागि देश हुन्छ, मेरो लागि जनता हुन्छ।

यहाँले पार्टी नफुटोस् भनेर लाग्नुभएको अभिव्यक्तिहरुले देखाए । अब नेकपा भित्रको विवादको समाधान के हुन्छ त ? जसले पार्टी पनि नफुटोस् ।

किन फुट्छ पार्टी ? म पार्टीभित्रको बरिष्ठ नेताको पहिलो पदबाट हटेर अपमानको घुट पिएर चौथो नम्बरमा झर्दाखेरी पार्टी फुटाएँ ? अपमानको घुट मैले पिएको हैन ?

नेकपा एमाले दर्ता हुनुले त्यो संकेत गर्दैन र ?

मान्छेमा शंका छ । घटनाक्रमले त्यो बताइरहेको छ  तर, उहाँले पार्टी फुटाउने काम गर्नु भयो भने त्यो भन्दा मुर्खता अरु केही पनि हुँदैन। उहाँको पछि कोही पनि इमान्दार मान्छे लाग्दैन।

उहाँको पछि निष्ठावान कोही पनि लाग्दैनन्  उहाँका भक्तहरु, भजनमण्डलीका केही मान्छेहरु लाग्लान। कम्युनिष्ट पार्टीमा नीति प्रधान हुन्छ। व्यक्ति प्रधान हुँदैन । पुष्पलालले प्रष्ट भन्नु भएको छ । कम्युनिष्ट पार्टीमा नीति प्रदान हुन्छ, नेता प्रदान हुँदैन। यो प्रकृयाले जाने हो भने व्यक्ति अपरिहार्य छैन । व्यक्तिहरु आउँछन् जान्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पदबाट हटेपछि सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउनेतर्फ संकेत गर्नु भयो । प्रचण्डलगायत अरु नेताहरुले यहाँलाई नै प्रधानमन्त्री बनाउने भन्नु भएको छ भनिन्छ । यदि प्रधानमन्त्रीले पद छोड्नु भयो भने त्यसको प्रकृया के हुन्छ ?

केपी ओलीजी को च्वाइस सुवास नेम्वाङ हुन सक्नुहुन्छ । प्रचण्डको च्वाइस अरु कोही हुन सक्छ । त्यो व्यक्तिको कुरा न हो। कमिटीमा त्यो कुरा आउँछ, छलफल हुन्छ । कमिटिको बहुमतले गरेको निर्णय स्वीकार्नु पर्छ।

महाधिवेशनमा त मेरो थोरै मत फरक प-यो (पार्टी अध्यक्ष पदमा), यूरोप अमेरिकातिरका साथीहरु फर्किए। नभए त म जितिसकेको थिएँ। सात दिनसम्म भोटिङको प्रकृया लम्ब्याइयो। जवसम्म बाहिर जानेहरुले टिकट काटेनन् तवसम्म भोटिङको प्रकृया लम्ब्याइयो।

हामी काम नपाएर दिनभरि आलश्यका साथ बसिरहेका छौं। दिक्क लाग्दो दिन बिताईरहेका छौं अनि एक जना मान्छेले मरिमरि काम गरिरहेको छ भन्ने देखाएर मात्र हुन्छ।

अहिले त मैले निहुँ खोजेको पनि छैन, केही माग गरेको पनि छैन। मलाइ न पैसा चाहिएको छ न मलाई पद चाहिएको छ । मलाई पद अफर गर्दा पनि त मैले हुन्न भनेको छु । वामदेव गौतम र अरु साथीहरुले पदको अफर गर्नु भएको हैन त मलाइ ? मलाइ विधि चाहिएको हो । पद्धति चाहिएको हो, म योग्यता, क्षमता हेरेर, विधि र पद्धतिका लागि बहस गरौं भन्नेमा हुँ ।

जसरी जनताले ५ वर्षका लागि नेकपालाई जिम्मेवारी दिएका छन् । यसलाई आत्मसाथ गरेर विवादको समापनको लागि के विकल्प दिन चाहानुहुन्छ त ?

यसमा उहाँलाई मोटिभेट गर्नु पर्छ । तपाईँ पनि यत्रो अनुभवी हुनुहुन्छ । कोही राम्रो मोटिभेट गर्ने खुवी भएका छन् भने उहाँ(ओली)लाई मोटिभेट गरौं। उहाँको दिमागलाई परिवर्तन गरौं । सहीबाटो अगाल्न सबैले मेहेनत गरौं।

यही मान्छे सही बाटोमा आएपछि सक्किगो नि, हल भइहाल्यो नि। उहाँले सही बाटो समातेर पाटीलाई सिस्टममा लैजानु भयो भने सकियो। हामी कम्युनिष्ट पार्टीको निर्णयलाई मान्न तयार छौं। हाम्रो विधानको धारा ६० मा भनिएको छ-कमिटीको बहुमतको निर्णय नै पार्टीको निर्णय हुने छ।

बाहिर प्रचार पनि के छ भने, उहाँ त नवौं महाधिवेसनबाट अध्यक्ष चुनिएर आएकोले उहाँले अध्यक्ष छोड्नै मिल्दैन । त्यो होइन, त्यो अध्यक्ष आएको हो भने उपाध्यक्ष खोइ पदमा बस्या, उपमहासचिव खै ? सचिवहरु खै पदमा बस्या ?

उसो भए अब उहाँले पद त्याग गरे विवाद समाधान हुन्छ ?

त्यागको कुरा हामीले गरेका छौं, त्यो पदको त्याग हो कि, विचारको त्याग हो कि ? आफूलाई केन्द्रमा नराखौं । पार्टीभित्रको कचकचले मैले छोडेको हैन त ? मैले त छोडेँ त । मलाइ २२ वटा पार्टीको समर्थन हुँदा पनि मैले पार्टीभन्दा ठूलो प्रधानमन्त्री पद हैन भनेर छोडेँ । मैले चुनौति दिएको भए ?

सुशील कोइराला र केपी ओली प्रधानमन्त्री उठ्दाखेरी, सुशीललाई समर्थन गर्नु पर्छ भन्ने बाहिरी शक्तिको तपाईँलाई दवाव थियो रे। त्यसबेला यहाँले खबरदार! हाम्रो पार्टीभित्र चलखेल गर्न मिल्दैन भनेर ओलीलाई नै समर्थन गर्नु भएको थियो रे, कत्ति सत्य हो यो कुरा ?

हो त। हो त । यस्ता कुराहरुमा पार्टीभित्रको सिस्टमको सवालमा देशको हितको सवालमा कुनै पनि कम्प्रोमाइज गरिनँ। कुनै विदेशी शक्तिको सामु म कहिलै पनि शिर निहुँराएर बसिनँ । नेपालको स्वाभिमान, नेपाली जनताको हित र कल्याणको लागि कसैसँग झुक्दिनँ।

विदेशीहरु त आएकै छन् त । चिनियाँ राजदूतले प्रधानमन्त्री र नेताहरु लाई भेट्नु भयो ….

कुटनीतिका केही मर्यादा हून्छन्। यसको सबैले मान सम्मान गर्नु पर्छ। चिनियाँहरुले वा भारतीयहरुले यो गर् र ऊ गर् भन्दैनन्। भन्न पनि हुँदैन। भन्छन् भने सुन्न पनि हुँदैन। सुने पनि मान्न पनि हुँदैन। प्रतिवाद गर्नु पर्छ। मैले त बेला बखतमा भन्ने पनि गर्छु। यो नेपालको समस्या हामी नेपाली नै हल गर्नमा समर्थ छदैँछौं।

मुलरुपमा सरकार कसरी संचालन गर्ने भन्ने विषय नै अहिलेको विवादको मूल जड हो। यो विवादमा हाम्रो केपी शर्मा ओली ज्यूको सोच जिम्मेवार छ।

तिमीहरुको सद्भाव भए पुग्यो, बस। आजसम्म, गणतन्त्रको आन्दोलनको अगुवाइ गर्ने बेलामा होस्, शान्ति प्रकृयामा भाग लिने बेलामा होस् मैले कहिलै पनि कसैसँग याचना गरेको छैन। कसैसँग यो गर र ऊ गर भनेको छैन। बस, के भनेको छु भने सदभाव राखिदिनुस्। हामी यो हौँ यो बुझिदिनुस्, गलत कुरा यी हुँन् बुझिदिनुस् भनें।

पैसा पठाइदेऊ, मान्छे पठाइदेऊ कहिलै भनिनँ । मैले त्यो बेलामा माओवादीलाई त भने, तपाईँ हाम्रो आमसभामा हस्तक्षेपमात्र नगरिदिनुस्, मान्छे सब हामी उतार्छाैं। भन्ने मान्छे मै हो, गर्ने मान्छे पनि मै हो।

देश विदेशमा भएका नेकपाका शुभचिन्तकहरुलाई केभन्न चाहानु हुन्छ ? गाउँमा कार्यकर्ता पनि कहाँ जाने के गर्ने भन्न थालेका छन्। के आह्वान गर्न चाहानु हुन्छ ?

म के आह्वान गर्न चाहान्छु भने, यो साना दुःखले आज्र्याको पार्टी हैन, साना दुःखले आज्र्याको गणतन्त्र वा लोकतन्त्र होइन। यसमा हाम्रा पुर्खाहरुले पहिलो पुस्ताका नेताहरुले निकै ठूलो रगत पसिना बगाएका छन् । मेहेनत गरेका छन् । त्यो सबैबाट हामीले एउटा ठूलो उपलब्धी प्राप्त गरेका छौं। संविधान बनाएका छौं।

नेपाललाई विकासको नयाँ चरणमा पु-याएका छौं । आर्थिक, सामाजिक र सांस्कृृतिक रुपान्तरणको महान अभियान पूरा गर्न बाँकी नै छ। पार्टी फुट्दैन, फुट्न दिन हुँदैन। जसले फुट्ने कुरा सोच्छ, फुट्ने काम गर्छ त्यो अपराधि हुन्छ त्यस्ताका पछि कोही पनि जाँदैन।

तिनीहरुलाई इतिहासले धिकार्छ। सबैले थुक्छन्। यो जे जति भएको छ सबै पार्टीको बैठक नबस्दासम्म मात्र हो। बैठक बसेपछि सबै समाधान हुन्छ । उपायको खोजी हुन्छ । विश्वासको नयाँ वातावरण बन्छ । विधिमा पार्टीलाई लिएर जाने काम हुन्छ भन्न चाहन्छु।

क्यामेरामा कमल साउदकाे साथमा तर्कबहादुर थापा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *