सामाजिक संजालमा लाइभकै क्रममा मेक्सिकन इन्फ्लुएन्सर सेजार गास्तेलुमको गोली हानी हत्या
सिनालोआ । मेक्सिकोको सिनालोआ राज्यको राजधानी कुलियाकानमा सामाजिक संजालमा प्रत्यक्ष प्रसारण (लाइभ) गरिरहेका सामाजिक सञ्जाल इन्फ्लुएन्सर सेजार गास्तेलुमको गोली हानी हत्या गरिएको छ।
टिकटकमा करिब ६ लाख फलोअर रहेका र मुख्य गरी हास्य तथा मनोरञ्जनात्मक सामग्री प्रस्तुत गर्ने गास्तेलुम मंगलबार एउटा रेष्टुरेन्टबाहिर साथीहरूसँग लाइभ प्रसारणमा बसिरहेका बेला उक्त घटना भएको हो।
हेलमेट लगाएर मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिमध्ये चालकले गास्तेलुमलाई लक्षित गरी टाउकामा गोली हानेर फरार भएका थिए। घटनाको भिडियो सामाजिक सञ्जालमा प्रसारित भइरहेको छ।
मेक्सिकोका सुरक्षा निकाय तथा अभियोजकहरूका अनुसार घटना कुलियाकानस्थित राज्य अभियोजकको कार्यालय नजिकैको व्यस्त व्यापारिक कम्प्लेक्स क्षेत्रमा भएको हो। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शाइनबाउमले यस घटनालाई ‘निन्दनीय हत्या’ भन्दै यसको कारण पत्ता लगाउन र दोषीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएकी छन्।
मेक्सिकोको राष्ट्रिय सुरक्षा क्याबिनेटले गास्तेलुमका सामाजिक सञ्जालका केही पोस्टहरू आपराधिक समूहहरूसँग सम्बन्धित रहेकाले सोही कोणबाट पनि अनुसन्धान अघि बढाइएको जनाएको छ।
गास्तेलुमले सामाजिक सञ्जालमा आफूलाई ‘बेलिको’ भनेर चिनाउने गरेका थिए। मेक्सिकोको केही आपराधिक उपसंस्कृतिमा यो शब्द ‘कार्टेल’ (संगठित आपराधिक गिरोह) सँगको सम्बन्ध वा प्रभाव दर्शाउन प्रयोग हुने गर्छ।
सुरक्षा अधिकारीहरूका अनुसार गास्तेलुमले आपराधिक समूहका गुटहरूलाई सङ्केत गर्ने भिडियोहरू पोस्ट गर्ने गरेका थिए। सिनालोआमा भने लामो समयदेखि सिनालोआ कार्टेलका दुई मुख्य गुट ‘लोस मायोस’ र ‘लोस चापितोस’ बिच वर्चस्वको द्वन्द्व चल्दै आएको छ।
मेक्सिकोमा लाइभकै क्रममा इन्फ्लुएन्सरको हत्या भएको यो दोस्रो ठूलो घटना हो। यसअघि मे २०२५ मा जलिस्को राज्यमा २३ वर्षीया सौन्दर्य इन्फ्लुएन्सर भालेरिया मार्केजको पनि ब्युटी सलोनमा टिकटक लाइभ गरिरहेका बेला गोली हानी हत्या गरिएको थियो।
मार्केज हत्याका मुख्य योजनाकार मानिएका जलिस्को न्यु जेनेरेसन कार्टेल (सीजेएनजी) का नेता रमोन एन्जेल अल्भारेज आयाला (‘एल आर-१’) लाई पछि मेक्सिकन अधिकारीहरूले पक्राउ गरिसकेका छन्।
यसैबीच, अमेरिकी ट्रम्प प्रशासनले सीजेएनजीका आठ नेताहरूको पक्राउ वा दोषी ठहर गराउन सहयोग पुग्ने सूचना दिनेलाई १० करोड २० लाख डलरसम्मको पुरस्कार घोषणा गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment