गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ

डिसी नेपाल
१२ मंसिर २०७७ ८:५४

गाईघाट । पाँच दिनअघि उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराउने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली–१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए।

विक नेत्रविक्रम चन्द समूहका उदयपुर जिल्ला सदस्य र देवकोटा उक्त समूहका जिल्ला सल्लाहकार तथा जिल्लाकै लिम्चुङबुङ गाउँपालिकाको इन्चार्ज रहेको खुल्न आएको उदयपुर प्रहरीले बताएको छ।

पाँच दिनअघि रातिको समयमा ताप्ली गाउँपालिकाको कार्यलयभित्र प्रमुख प्रशासकीय अधिकृत, कार्यकारी अधिकृत र उपाध्यक्षको कार्यकक्षमा अभियुक्तले दुईवटा सुतली बम राखेको प्रहरीले बताएको छ।

बम विस्फोट गराउनेहरुको गोप्य सूचनाका आधारमा र प्रहरीको गहिरो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय कटारीको टोलीले उनीहरुकै गाउँबाट दुई जनालाई पक्राउ गरी थप अनुुसन्धान शुरु गरिएको उदयपुर प्रहरी प्रमुख दाहालले बताए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *