जनस्वास्थ्य कार्यालयको नयाँ भवन कार्यालय निर्मित

डिसी नेपाल
१३ मंसिर २०७७ ७:३६

खाेटाङ । जिल्ला जनस्वास्थ्य कार्यालयको नयाँ भवन निर्माण भएको छ। शहरी विकास तथा भवन निर्माण विभागको रु दुई करोड ३६ लाख ६९ हजार ९२२ लागतमा बनेको तीनतले भवन शुक्रबार निर्माण कम्पनीले जनस्वास्थ्य कार्यालयलाई बुझाएको छ।

खानी निर्माण सेवा कम्पनीले चार वर्ष लगाएर निर्माण गरेको भवनमा २८ वटा कोठा छन् । भवनभित्रै चिसो र तातोपानीको व्यवस्था रहने गरी भौतिक संरचना निर्माण गरिएको निर्माण कम्पनीका प्रतिनिधि दिनेश पौडेलले जानकारी दिए।

भवनको पहिलो तलामा प्रयोगशाला तथा आकस्मिक कक्षसहितको सेवा उपलब्ध गराउने गरी तयारी गरिएको अस्पताल विकास तथा सञ्चालक समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए। दोस्रो तलामा कार्यालय रहने र तेस्रो तलामा कर्मचारी आवास रहने जनस्वास्थ्य कार्यालयले जनाएको छ।

विसं २०७३ वैशाख ३० गते सम्झौता गरेर २०७७ असोज ३० गते भवन निर्माण सम्पन्न गरिए पनि कोभिड–१९का कारण भवन हस्तान्तरणमा केही ढिलाइ भएको थियो । नयाँ भवनबाट कार्यालयका सम्पूर्ण उपकरण व्यवस्थापन गरी चाँडै सेवासुविधा उपलब्ध गराइने जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख छविलाल आचार्यले जानकारी दिए।

विसं २०४८ मा स्थापित जिल्ला अस्पतालमा भौतिक संरचना नहुँदा कार्यसम्पादनमा समस्या हुँदै आएको थियो । स्थापनाकालदेखि हालसम्म १५ शय्या सञ्चालन हुँदै आएको जिल्लाको एक मात्र सरकारी अस्पताललाई यस वर्ष ५० शय्यामा स्तरोन्नति गर्ने तयारी गरिएको जनाइएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *