चिया प्रवर्धनमा स्थानीय तह सक्रिय

डिसी नेपाल
१३ मंसिर २०७७ ८:११

इलाम । पछिल्लो समय चियाको प्रवर्धनका लागि स्थानीय तहमार्फत विभिन्न काम भइरहेका छन्। कहिले ‘चियाको एक्स्पो’भन्दै विभिन्न जिल्लामा लगिन्छ भने कहिले चियाकै लागि विदेशी पर्यटक भित्र्याइन्छ। यस्तै, पछिल्लो समय त चियाको प्रचारका लागि कतै मूर्ति र शालिक बनाउने क्रम बढेको छ।

यी कार्यबाट लामो समय प्रचारप्रसार नपुगेर गुमनाम रहेको चिया क्षेत्र केही माथि उठ्ने चिया सरोकारवालाको भनाइ छ। एक वर्ष अघि मात्रै सूर्योदय नगरपालिकाले चियाको शालिक बनाएको छ । बजारभित्रै निर्माण गरेको स्ट्याचुमा पहेलो रङको कित्ली (चियादानी)बाट पहेलो रङको कपमा चिया हालिराखेकोछ । बजार क्षेत्रमा बनाइएको स्टा्याचुले चियाको प्रचार गर्ने अनुमानले निर्माण गरिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईको भनाइ छ।

जिल्लाकै सबैभन्दा बढी चिया उत्पादन हुने सूनपामा श्रमिक, उद्योगी र किसानका लागि चिया नियमावलीसमेत निर्माण गरिएको छ । नगरले चिया सचिवालयसमेत गठन गरेको छ । यसले गर्दा पनि नगरपालिकामा आएको चियाका समस्या हल गर्न सहज भएको नगरप्रमुख राईको भनाइ छ। आउँदा दिनमा पनि चियाको प्रोत्साहनका लागि दृश्य सामग्री बनाउने काम बढाइने उनको भनाइ छ।

यस्तै, इलाम नगरपालिकाले पनि चिया क्षेत्रको प्रोत्साहनका लागि इलाम बजार(चोक बजार)मा चियाकै साङ्केतिक स्तम्भ निर्माण गरेको छ । तस्वीरमा एक महिला पछाडि डोको बोकेर चिया टिप्दै गरेको देखिन्छ । जहाँ महिलाले लगाएको लुगा र हाउभाउ हेर्दा ग्रामीण भेगमा चिया टिप्दै गरेकोजस्तो देखिन्छ । नगरका सूचना अधिकारी रामकुमार शाहका अनुसार सो स्तम्भ तामा र पित्तलबाट निर्माण गरिएको हो।

नगरले चियाको प्रवद्र्धनका लागि चियाको बिरुवा रोपण शुरु गर्ने गजराजसिंह थापाको (शालिक)प्रतिमा समेत निर्माण गर्दैछ । इलामकै सबैभन्दा पुरानो इलामको चियाबारीको बीच लभडाँडामा सोही प्रतिमा निर्माण गर्न थालिएको हो । विसं १९२० मा वडाहाकिम मिश्रले चीनबाट चिया ल्याएर रोपेको इतिहास छ । नगरले चियाको इतिहास सम्झाउनका लागि पनि मिश्रको प्रतिमा निर्माण गर्न थालेको सूचना अधिकारी शाहको भनाइ छ । शाहका अनुसार आउँदो मङ्सिर २५ मा सोही शालिकको उद्घाटन हुँदैछ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *