जनतालाई सही सूचना दिऔँ, पत्रकारिता क्षेत्रको गरिमा बढाऔँ : सञ्चारमन्त्री

डिसी नेपाल
१५ मंसिर २०७७ ९:३२

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा रहेका अनियमिता र बेथितिलाई अन्त्य गर्न तथा पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि समन्वय एवं सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)द्वारा आइतबार आयोजित ‘इन्जा ग्लोबल मिडिया कन्फरेन्स २०२०’ विश्व सम्मेलनमा उनले जनतालाई सही सूचना प्रवाह गरी पत्रकारिता क्षेत्रको गरिमा बढाउने पाटोमा विशेष ध्यान पुर्याएर काम गर्न सञ्चार जगत्लाई सुझाव दिए।

भर्चुअल माध्यममा भएको सम्मलेनमा मन्त्री गुरुङले भने, “जनतालाई जागृत र सुसूचित गर्दै पत्रकारिता क्षेत्रको गरिमा बढाऔँ, समाजमा रहेका अनियमिता, बेथितिलाई अन्त्य गरौँ, सूचना कपोकल्पित र तथ्यहीन ढङ्गबाट प्रवाह नहोस्।”

परम्परागत सोच र दृष्टिकोणबाट पत्रकारिता क्षेत्र रूपान्तरित हुनुपर्नेमा जोड दिँदै उनले भने, “सकारात्मक सोचका साथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु पत्रकारिता क्षेत्रको दायित्व हो । आग्रह र पूर्वाग्रबाट नभई ‘मिसन’ पत्रकारिताका लागि रूपान्तरित सोच बनाउनुपर्छ ।” विश्वमा छरिएर रहेका नेपाली पत्रकारलाई एकीकृत गर्दै सङ्कटमा परेका पत्रकारको हकहित र व्यावसायिक लागि इन्जाले पुर्याउँदै योगदानका मन्त्री गुरुङले प्रशंसा गरे।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले लोकतन्त्र, मानवअधिकार, विधिको शासन र प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर लड्दै आएको नेपाली पत्रकारिता निकै जिम्मेवार रहेकाले यस क्षेत्रलाई थप व्यावसायिक मर्यादित तुल्याउन काम गरिरहेको बताए।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले कोभिड–१९ बाट नेपालमा तीन हजार १०० पत्रकारले रोजगार गुमाएका, पाँच जनाको ज्यान गएको तथा ४०० जना सङ्क्रमित भएको जानकारीमूलक तथ्याङ्क प्रस्तुत गर्दै स्वच्छ र मर्यादित पत्रकारितालाई अनुशरण गर्न सबैसँग आग्रह गरे।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले त्यसै पनि नियमित पारिश्रमिक नपाइरहेका पत्रकारलाई कोभिड–१९ ले थप समस्या सिर्जना गरेकाले अप्ठेरोमा परेका सञ्चारकर्मीलाई सहयोग पुर्याउन आवश्यक रहेको बताए।

आयोजक संस्था इन्जाका अध्यक्ष गुणराज लुइँटेल र उपाध्यक्ष एवं साहित्यकार विष्णु शीतलले सामाजमा देखिएका विसङ्गति र बेथितिका विरुद्ध व्यवसायिकता र इमान्दारीको सन्देश लिएर इन्जा गाउँ–बस्तीमा पुर्याउन अघि बढ्ने क्रममा सम्मेलन गरिएको बताए।

सो अवसरमा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सम्मेलनका लागि शुभकामना दिएका थिए भने कवयित्री सरु गुरागाइँले सञ्चार चेतनाको शक्ति भन्ने भावको कविता वाचन गरेकि थिइन्। इन्जा एशियाका अध्यक्ष टङ्क पन्तले कोभिड–१९ बाट सिर्जित समस्याबाट अप्ठेरोमा परेको पत्रकारलाई संस्थाले लेखनवृत्तिलगायतको माध्यमबाट सहयोग पुर्याउँदै आएको जानकारी दिए।

घमराज लुइँटेल र विष्णु शर्माले कोभिड–१९ को प्रभाव र प्रवृत्ति विषयमा प्रस्तुत गरेकाे कार्यपत्रमाथि विभिन्न वरिष्ठ पत्रकारले टिप्पणी गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *