नेकपामा पुस्तान्तरणको बहसः रणनीतिक कि अग्रगामी क्रमभंगता ?

डिसी नेपाल
१५ मंसिर २०७७ १८:३१

काठमाडौं। सत्तारुढ दल नेकपामा विवाद चर्किरहेका बेला एउटा बहस जवरजस्त रुपमा अगाडि बढेको छ Þ– पुस्तान्तरणको। नेपाली राजनीति त्यो पनि कम्युनिष्ट पार्टीमा पुस्तान्तरणको बहस हुनुलाई सकरात्मक रुपमा लिनुपर्ने राजनीतिक विश्लेषकहरु बताउँछन्।

पद पाएपछि आजीवन सोही पदमा टाँस्सिरहने नेपाली राजनीतिक संस्कारमा पुस्तान्तरणको बहस हुनुलाई सकरात्मक मानिए पनि त्यो परिणामसम्म पुगेन भने त्यो सार्वजनिक खपतका लागिमात्र हुने टिप्पणी गर्नेहरु पनि छन्।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गएको शनिबार नेकपाको सचिवालयमा पेश गरेको राजनीतिक प्रस्तावमा पुस्तान्तरणको विषय उठाइएको छ। उनले त्यसअघि पनि टेलिभिजन अन्तर्वार्तामा पुस्तान्तरणको कुरा उठाएका थिए।

पार्टीको औपचारिक बैठकमा औपचारिक रुपमै पुस्तान्तरणको विषय प्रवेश गरेकाले यो विषयमा नेकपामा बहस शुरु भइसकेको छ। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सचिवलायमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा उठाइएको ‘त्याग’को दबाबमा छन्। नेकपा सचिवालयमा अहिले दुई वटा परस्पर विरोधी प्रस्ताव पेश भएका छन्। एक अध्यक्ष प्रचण्डले ओलीले त्याग गर्नुपर्ने बताएका छन् भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले जवाफी प्रस्तावमार्फत आफू पुस्तान्तरणका लागि तयार रहेको तर, अरु तयार छन् ? भनी प्रश्न गरेका छन्।

नेकपा सचिवलाय बैठक मंगलबार बस्दै छ। सोमबारको बैठकमा यी दुई प्रस्तावबारे छलफल हुने नेकपा नेताहरुले बताएका छन्। नेकपा विवादको समग्र विषय भन्दा पनि यतिखेर पुस्तान्तरणको विषयलाई लिएर नेकपाका नेताहरु केही आशावादी देखिएका छन् तर शंका पनि छ।

नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पुस्तान्तरणको बहस अब घुनिभुत रुपमा हुने बताउँछन्। उनले डिसी नेपालसँग भने, ‘पुस्तान्तरणको विषय सकरात्मक हो। नेकपामा यसको घनिभुत छलफल हुन्छ। तर, यो कुन नियतले आएको हो, त्यो भने हेर्नुपर्ने हुन्छ।’ नेता पौडेलले शंका गर्नुको पछाडी केही घटनाक्रमहरु पनि जिम्मेवार छन्।

आइतबार बेलुकासम्मको अवस्था हेर्दा ९ सदस्यीय नेकपा सचिवालयमा प्रचण्ड–माधव समूह बहुमतमा देखिन्छ। र ओली समूह अल्मतमा छ। अल्पमतमा रहेका अध्यक्ष ओलीले राखेको प्रस्ताव कसरी अगाडि बढ्छ त्यो भने हेर्नुपर्ने हुन्छ। ओलीले आफ्नो प्रस्तावमै नेकपामा आगामी महाधिवेशनसम्म अल्पमत र बहुमतका आधारमा निर्णय गर्न नसकिने बताएका छन्। जसको अर्थ हो उनलाई आफू अल्पमतमा रहेको आभास छ। त्यसैले उनले आफूले पद छाड्नु परे, अरुले पनि छाड्नुपर्ने रणनीतिक रुपमा पुस्तान्तरणको विषय प्रवेश गराएका हुन सक्ने नेकपा नेताहरुको आशंका छ्। नेता पौडेलले भने, ‘पुस्तान्तरणको विषय आफू अनुकुल बनाउनका लागि ल्याइएको हो भने, त्यो ठिक नरहेको तर साँच्चै सफा नियतले आएको भए त्यसलाई सकरात्मक रुपमा लिनुपर्ने हुन्छ।’

त्यसो राजनीतिक विश्लेषकहरु पनि नेकपाको अहिलेको पुस्तान्तरणको विषय रणनीतिक रुपमा आएको दावी गर्छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘यो पुस्तान्तरणको विषय रणनीतिक रुपमा आएको जस्तो देखिन्छ। विश्वको राजनीतिभन्दा हाम्रो नेपालको राजनीति अली फरक छ। यहाँ यसरी पुस्तान्तरण गरेको इतिहास छैन। त्यसैले यो कुन रुपमा आएको हो भन्ने बुझ्नु आवश्यक हुन्छ।’ उनले नेपालका दुुई ठूला पार्टी नेकपा र काँग्रेसमा पुस्तान्तरण भन्दा पनि वंशहस्तान्तरण हुन सक्ने सम्भावना रहेको बताए। तर, विश्वका कम्युनिष्ट र नेपालका कम्युनिष्टलाई भने तुलना गर्न नहुने बताए। उनले नेपालमा कम्युनिष्टहरुमा महाधिवेशन हुने र त्यहाँबाट नेतृत्व चयन हुने गरेको तर, अन्य मुलुकमा त्यस्तो नभएको टिप्पणी गरे।

उता नेकपाका अर्का नेता वेदुराम भुसाल भने अहिले नेकपामा आएको पुस्तान्तरणको बहस लोकप्रियताका लागि भएको बताउँछन्। उनले डिसी नेपालसँग भने, ‘यो कुरा सुन्नलाई त राम्रो लाग्छ, युवाहरु हौसिन्छन् पनि। तर आजसम्म यसरी पुस्तान्तरण भएको इतिहास छैन।’

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड बेला बेला क्रमभंगताको कुरा गर्छंन्। अहिले नेकपामा दुई अध्यक्षबीच विवाद चर्किरहँदा पार्टी विभाजन नै हुने होकी भन्ने नेकपामा चिन्ता छ। प्रचण्डले आफ्नो राजनीतिक प्रस्तावमा अर्का अध्यक्ष तथा ओलीमाथि गम्भीर आरोप लगाएका छन्। जवाफमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली पनि प्रचण्डमाथि विभिन्न आरोप लगाएका छन्।

दुबै राजनीतिक प्रस्तावले अहिले पार्टीमा मिलनबिन्दुको खोजी गरेको भन्दा पनि विवाद बढाउने काम गरेको नेकपा नेताहरु बताउँछन्। तर, २०७४ असोजमा ओली र प्रचण्डले नेपाली राजनीतिक दल तथा जनताहरुलाई चकित पार्ने गरी चुनावी गठबन्धनको घोषणामात्र गरेनन् पार्टी एकीकरणको पनि ढोका खोलेका थिए। चुनाव गठबन्धनको घोषणा हुनुअघिसम्म ओली र प्रचण्ड सार्वजनिक मञ्चहरुमा एकअर्काप्रति आरोप लगाइरहन्थे।

त्यसैले अहिलेको विवादमा पनि कुनै असम्भव जस्तै देखिने घटना नहोला भन्न सकिने अवस्था छैन। प्रचण्डले त भन्ने गरेकै छन् क्रमभंगता। र ओलीले पनि क्रमभंगताको प्रस्ताव गरेका छन्। के पुस्तान्तरणको बहस सार्थक निष्कर्षमा पुग्ला भन्ने चासो नेकपाका नेता कार्यकर्ताहरुलाई मात्र होइन, अन्य दलका नेता तथा कार्यकर्ताको पनि प्रतिक्षाको विषय बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *