कामनपाले दरबार हाइस्कूलमा सिटी लाइब्रेरी सञ्चालन गर्ने

डिसी नेपाल
१६ मंसिर २०७७ १२:११

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूल हाताभित्र सिटी लाइब्रेरी सञ्चालनमा ल्याउने भएको छ। कामपाले नवनिर्मित हाइस्कूलमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको छ। त्यसका लागि कामपाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको छ।

उक्त पुस्तकालय सबै किसिमका पुस्तकको व्यवस्थापन गरिएको आकर्षक र आधुनिक किसिमको हुने कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले बताए। पुस्तकालयमा सदस्यता लिएका व्यक्तिले जुनसुकै स्थानमा बसेर पनि अध्ययन गर्न सक्ने छन्। योजनानुरुप नै काम भए आगामी दुई महिनामा सञ्चालनमा आउने जनाइएको छ। नवनिर्मित हाइस्कूलमा त्यस्तो पुस्तकालय सञ्चालनका लागि सोहीअनुरुप नै संरचना तयार गरिएको छ। सोका लागि कामपा वडा नम्बर २७ र विद्यालय व्यवस्थापन समितिसँगको सहकार्यमा काम अघि बढिसकेको छ।

कामपा क्षेत्रमा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा अध्ययनअध्यापन गर्ने सबै शिक्षक र विद्यार्थीका लागि पुस्तकालय बढी उपयोगी हुने विश्वास लिइएको छ। कोरोना कहरका कारण भौतिक रुपमा पठनपाठन गर्न गराउन नसकिएको अहिलेका समयमा अत्याधुनिक पुस्तकालयबाट ठूलो सहयोग पुग्ने कामपा –२७ का सदस्य परिवेशमान बज्राचार्यले बताए। सदस्यता लिएको व्यक्तिलाई पुस्तकालय व्यवस्थापनले पासवर्ड दिने र इन्टरनेटमार्फत जहाँसुकैबाट सुविधा लिन सकिनेछ।

गोरखा भूकम्पबाट पूर्ण रुपमा क्षति पुगेको भानु मावि र संस्कृत मावि पुनःनिर्माण सम्पन्न भई गत कात्तिक ५ गते राष्ट्रपतिले रानीपोखरी पुनः निर्माणसँगै उद्घाटन गरे पनि कोरोना महामारीका कारण हाल बन्द छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *