उतारचढावका बीच नेप्से परिसूचक २ हजार नाघ्यो

डिसी नेपाल
१६ मंसिर २०७७ १७:३८

काठमाडौं। साताको तेस्रो दिन मंगलवार निकै उतारचढाबका बीच नेप्से परिसूचक २ हजार दशमलव ४० विन्दुमा पुगेर बन्द भएको छ।

सोमवार १ हजार ९९७ दशमलव शून्य ५ विन्दुमा बन्द भएको बजार मंगलवार २ हजार ९ दशमलव ४६ विन्दुदेखि खुला भएकोमा १ हजार ९६५ दशमलव ६८ बिन्दुसम्म झरेको थियो। तर बन्द हुने समयमा भने २ हजार दशमलव ४० विन्दुमा पुगेको हो।

सोमवारको तुलनामा भने बजार ३ दशमलव ३५ अंक माथि उक्लिएको छ। नेप्से परिसूचक सामान्य अंकले बढेपनि मंगलवार ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ७७ अंकले घटेर ३८३ दशमलव ७९ विन्दुमा झरेको छ।

मंगलवार अघिल्लो कारोबार दिनको भन्दा परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने कम भएको छ। यो दिन रू ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार बराबरको शेयर कारोबार भएको हो। मंगलवार १९७ कम्पनीको ६७ हजार ३५५ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ८५ लाख ७६ हजार ७०८ कित्ता शेयर कारोबार भएको हो। सोमवार रू ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार बराबरको शेयर कारोबार भएको थियो।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले सोमवार विज्ञप्ती जारी गर्दै लगानीकर्ताहरुलाई बजारमा कारोबार रकम र परिसूचकले सँगै उचाइँ लिइरहँदा अध्ययन र अनुसन्धान सहित संयमित भएर लगानी गर्न आग्रह गरेको थियो।

बोर्डले विज्ञप्ती जारी गरी गरेको यो अनुरोधलाई कतिपय लगानीकर्ताहरुले बजार घटाउन खोजेको आरोप समेत लगाएका छन्। बजार विकास र विस्तारका लागि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषय र अध्ययन पूरा भइसकेको ब्रोकर कमिशनको विषयलाई आलटाल गरिरहेको बोर्डलाई धेरै जसो लगानीकर्ताहरुले बढ्दो बजारलाई हस्तक्षेप गर्न खोजेको आरोप लगाएका हुन्।

मंगलवारको उतारचढाब बोर्डको विज्ञप्तीकै कारण भएको आरोप लगाउँदै लगानीकर्ताहरुले सामाजिक सञ्जालमा आक्रोस समेत पोखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *