भारत भ्रमणमा जानुअघि परराष्ट्र मन्त्री ज्ञवाली भन्छन्-भारत पनि नेपालसँग निर्भर छ

डिसी नेपाल
२१ मंसिर २०७७ ६:३५

वासिंगटन डिसी। दुईपक्षीय वार्ताका लागि भारत भ्रमणमा जाने तयारीमा रहेका नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारत पनि कयौं सन्दर्भमा नेपालसँग निर्भर रहेको बताएका छन्।

दुई देशका बीचको बहुआयामिक सम्बन्धको चर्चा गर्दै उनले जनस्तरको सम्बन्धबाट जोडिएर दुई मुलुकहरु एकआपसमा निर्भर रहेकोले नेपालमात्र भारतसँग निर्भर रहेको सत्य नभएको बताए।

डिसी नेपालको अमेरिकाबाट प्रसारित द ब्रिज टक कार्यक्रममा मन्त्री ज्ञाावलीले भारत भ्रमणमा भारतसँगका सीमा समस्या समाधानमा नेपालको जोड रहने बताए। उनले भने, ‘कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताका सन्दर्भमा ऐतिहासिक दस्तावेजका आधारमा नेपालको हक स्थापित गर्ने प्रयास गरिनेछ।’

उनले आफ्नो भ्रमणमा भारतसँग स्पष्ट कुरा राख्ने बताउँदै सिमावर्ती क्षेत्रहरुमा भारतले बनाएका बाँध र सडकलगायतका संरचनाले नेपालमा डुवान हुने गरेको कुरालाई पनि मन्त्रीस्तरीय ज्वाइन्ट कमिशनको बैठकमा स्पष्टताका साथ राखेर समाधानको प्रयास गर्ने जानकारी दिए।

कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताका सीमाबारे नेपालको अडान अविचलित रहेको भन्दै उनले नेपालको भूमिमा आफ्नो हकभोग स्थापित गर्न वार्ता गरिने बताएका छन्।

भारतीय जासुसी संस्थाका प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोप्यरुपमा भेटेकोमा आशंकाहरु उब्जेको सम्बन्धी सोधिएको प्रश्नमा उनले कुटनीतिमा अनेक बाटाहरु अवलम्बन हुने भन्दै उनीसँग प्रधानमन्त्री ओलीले गरेका सबै कुरा औपचारिक र परराष्ट्र मन्त्रालयको रेकर्डमा रहेको तथा प्रधानमन्त्रीले स्पष्टरुपमा देशको हितको पक्षमा आफ्ना भनाइहरु राखेको जानकारी दिए।

विदेशी राजदूतहरुको नेताका घरघरमा दौडादौडले भन्दा पनि नेपाली आफैंले आफ्नो आन्तरिक समस्या समाधान गर्नुपर्ने धारणा राख्दै दुबै देश(भारत र चीन)का उच्चअधिकारीहरुसँग नेपालले आफ्नो स्पष्ट कुरा राखेको र हाम्रो मानसिकतामा भएको लघुताभाषका कारणमात्र आशंकाहरु उठाइएको उनले बताए।

पार्टीभित्रको आन्तरिक विवादका सन्दर्भमा प्रधानमन्त्री ओलीको बचाउ गर्दै मन्त्री ज्ञवालीले पार्टी एकताका बेला भएका सहमतिलाई तोडेर खेल सकिनेबेलामा प्रचण्डले खेलको नियम परिवर्तन गर्न खोजेको आरोप लगाए।

महाधिवेशन गर्ने बेलामा आएर खेलको नियम परिवर्तन गर्न खोज्दा समस्या आएको बताँंदै शुरु सम्झौता नमान्ने हो भने फेरि पहिलेकै अवस्थामा फर्किने अवस्था आउनु उचित नभएको धारणा राखे।

द ब्रिज टकमा नुन,चिनी पानी अमेरिकाका अभियन्ता अर्जुन दाहालसँग मन्त्री ज्ञवालीको  भिडियाे संवाद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *