रुसको मस्कोस्थित इटालियन रेस्टुरेन्ट बाहिर विस्फोट: तीन जनाको मृत्यु, २१ घाइते
काठमाडौं । रुसको राजधानी मस्कोमा आइतबार साँझ एउटा इटालियन रेस्टुरेन्ट बाहिर भएको शक्तिशाली बम विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन्।
रुसी सरकारी सञ्चारमाध्यमहरूले सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार सो धमाका स्वदेशी प्रविधिबाट बनाइएको विस्फोटक पदार्थका कारण भएको हो।
विस्फोट स्थानीय समयअनुसार साँझ करिब ८ बजे मस्कोको मध्यभागमा रहेको कुड्रिन्स्काया स्क्वायर नजिकै भएको थियो।
रुसको नेसनल एन्टी-टेरारिस्ट कमिटी का अनुसार एक महिला विस्फोटक पदार्थसहित रेस्टुरेन्टभित्र प्रवेश गर्ने प्रयास गरिरहेकी थिइन्। तर, ढोकामा तैनाथ सुरक्षा गार्डले उनलाई शङ्कास्पद मानेर भित्र छिर्नबाट रोकेका थिए।
सोही क्रममा रेस्टुरेन्टको प्रवेशद्वारमै विस्फोट भएको थियो। विस्फोटमा परी बम बोक्ने महिला, सुरक्षा गार्ड र रेस्टुरेन्टमा उपस्थित अन्य एक जना गरी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
विस्फोटको समयमा रेस्टुरेन्टभित्र एउटा निजी कार्यक्रम आयोजना भइरहेको थियो। यद्यपि, सुरक्षा अधिकारीहरूले सो कार्यक्रममा सहभागी व्यक्तिहरूको सूची र आक्रमणको मुख्य निशाना को थिए भन्नेबारे विस्तृत जानकारी सार्वजनिक गरेका छैनन्।
प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोटपछि रेस्टुरेन्टभित्र रहेका धेरै मानिसहरूलाई रगतले लत्पतिएको अवस्थामा बाहिर निकालिएको थियो।
हालैका वर्षहरूमा मस्को र यसको आसपासका क्षेत्रमा धेरै वरिष्ठ रुसी सैन्य अधिकारीहरू तथा चर्चित व्यक्तित्वहरूको हत्या र लक्षित आक्रमणका घटनाहरू सामने आउने गरेका छन्। रुसले यस्ता अधिकांश आक्रमणहरूमा युक्रेनको हात रहेको आरोप लगाउँदै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment