नेकपा स्थायी कमिटी बैठक : कसको पल्ला भारी ?

डिसी नेपाल
२१ मंसिर २०७७ १२:०५

काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ। दिउँसो एक बजे बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि छलफल हुँदैछ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुने नहुने निश्चित नभएको ओली निकट स्रोतले जनाएको छ।
शनिबार बसेको सचिवालय बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथि छुट्टा छुट्टै छलफल भएको थियो। तर निष्कर्ष ननिस्किएपछि दुवै प्रतिवेदन स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो।

गत कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीलाई लक्षित गर्दै १९ पृष्ठ लामो प्रतिवेदन पेश गरेका थिए। जवाफमा ओलीले मंसिर १३ गतेको बैठकमा ३८ पृष्ठ लामो प्रस्ताव ल्याएका थिए।

प्रधानमन्त्री ओलीले तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने आफ्नो अडानमा छन्। सचिवालय बैठकमा ओलीले आफूले दुवै पद नछाड्ने बताइसकेका छन्। ‘निर्वाचनअघि प्रधानमन्त्री र महाधिवेशन अघि नै अध्यक्ष छाडदिनँ,’ सचिवालय बैठकमा ओलीले भनेका थिए, ‘मलाई हटाउनकै लागि तपाईंहरू बैठक बैठक भनिरहनुभएको छ, भने बैठकको औचित्य छैन।’

स्थायी समितिमा को कस्को पक्षमा ?

नेकपा स्थायी कमिटी ४४ सदस्यीय छ। १० जना स्पष्ट रुपमा ओलीको समर्थनमा रहेका छन्। ओली स्थायी कमिटीमा पनि अल्पमतमा छन्। अल्पमतमा रहेकाले ओलीले सबै निर्णय सहमतिबाटै हुनुपर्ने विधानको व्यवस्था रहेको तर्क गर्दै आएका छन्।

स्थायी कमिटिमा ओली पक्षका ईश्वर पोख्रेल, प्रदीप ज्ञवाली, पुथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, लेखराज भट्ट, विष्णु पौडेल, विष्णु रिमाल, शंकर पोख्रेल, सत्यनारायण मण्डल र सुवास नेम्वाङ रहेका छन्।

प्रचण्ड र माधवकुमार नेपाल पक्षमा भने अष्टलक्ष्मी शाक्य, गणेश साह, गिरिराजमणी पोख्रेल, चन्द्रदेव खनाल, छविलाल विश्वकर्मा, जनार्दन शर्मा, झलनाथ खनाल, देव गुरुङ, देबेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, बर्षमान पुन, भीम प्रसाद आर्चाय, भीम बहादुर रावल, मातृका यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लीलामणि पोख्रेल, वामदेव गौतम, बेदुराम भुसाल, शक्ति बस्नेत र सुरेन्द्र पाण्डे छन्।

यस्तै, किरण गुरुङ, गोकर्ण विष्ट, घनश्याम भुसाल, योगेश भट्टराई, टोपबहादुर रायमाझी, मणि थापा, रामबहादुर थापा र हरिबोल गजुरेल भने कतै खुलेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *