राजावादी आन्दोलनमा राप्रपाको ऐक्यबद्धता : कमल थापा

डिसी नेपाल
२२ मंसिर २०७७ १७:२७

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् । सोमबार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा उनले स्वःस्फूर्तरुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताए ।

अध्यक्ष थापाले भने, “राजा आउ देश बचाउ होइन, जनता आउ, राजा ल्याउ देश बचाऔँ भन्नुपर्यो ।” उनले जनताले राजालाई ल्याएर राजा र जनता मिलेर देश बचाउनुपर्ने बताए । उनले राजसंस्था र हिन्दुराष्ट्र पक्षधरलाई राप्रपाको नेतृत्वमा गोलबद्ध हुन पनि आग्रह गरे ।

राजसंस्था र हिन्दु राष्ट्र राजनीतिक स्वार्थ नभएर देशको अस्तित्व, पहिचान र सार्वभौमिकतासँग जोडिएको विषय भएको दाबी गरे । त्यस्तै चुनाव चिन्ह हलो भएकोमा दुःख मनाउ गर्नुपर्ने अवस्था नभएको भन्दै हलोको सामाजिक सांस्कृतिक महत्वबारे चर्चा गरे ।

“हिन्दु राष्ट्रको नारा बोकेकाले गाई चुनाव चिन्ह चाहे पनि पार्टी एकताका लागि हलो स्वीकार गर्यौं । हामीले अवलम्बन गरेको हलोको पनि सामाजिक आर्थिक र धार्मिक महत्व छ,’’ उनले थपे, “हलो भनेको भगवान बलरामको प्रतीक हो । हामिले यो चिन्ह कायम गर्ने सौभाग्य पायौं यसमा आत्मग्लानी गर्नुपर्ने कारण छैन ।’’

त्यस्तै, पछिल्लो समय हिन्दुराष्ट्र र राजसंस्थाको माग गर्दै भइरहेको आन्दोलनमा आफ्नो सहयोग र समर्थन रहने बताए । उनले यो आन्दोलनलाई देशका राजनीतिक शक्तिहरु र विदेशीहरुले पनि हेरिरहेको बताउँदै हिन्दुराष्ट्र र राजसंस्थाको मुल संवाहक राप्रपा भएको अध्यक्ष थापाले दाबी गरे ।

यसरी महामारीका बिच नै आन्दोलन सुरु हुनुका तीन कारण उनले औंल्याए । जसमा उनले हिन्दुराष्ट्र र राजा बाहिरी शक्तिका कारण हटाइएको, जनताले गणतन्त्रको सकारात्मक परिवर्तन महसुस नगरेको र पूर्वाराजाको सालिन र सकारात्मक जीवनशैली रहेको दाबी गरे ।

त्यस्तै, अर्का अध्यक्ष पशुपति शमशेर जबराले “सरकारले सिन्को पनि नभाँचेको’’ आरोप लगाए । “मुलुक अहिले नराम्रो अवस्थामा छ । दुई तिहाई सरकार २ वर्षमम दिशाहीन उपलब्धिहीन बाटोमा छ ।

सरकारले सिन्का भाच्न सकेको छैन,’’ उनले भने, “सरकारसँग केही ठोस बाटो छैन । काण्डको नाम लिन साध्य छैन । स्थायित्वका लागि प्राप्त जनादेशको पनि आपसी कलहमा परेर सरकारले खिल्ली उडायो ।’’

कार्यक्रममा अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारी एउटा पार्टी र त्यसको एउटा समूहको जस्तोमात्र देखिएको आरोप लगाएका छन् । अध्यक्ष लोहनीले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउँदै देशमा संवैधानिक राजतन्त्रको आवश्यकता रहेको औल्याए ।

“नेपालका लागि, संवैधानिक राजतन्त्रको आवश्यकता छ । स्पेनजस्तो विकसित देशमा दुईपटकको गणतन्त्र पछि आयो। नेपालमा पनि त्यो आवश्यक देखिएको छ,’’ अध्यक्ष लोहनीले भने, “राष्ट्रपति एउटा पार्टीमा एउटा गुटका भए । सरकारको आफ्नालाई मात्र हे¥यो । ट्रास्परेन्सीले भ्रष्टाचारमा देखाएको सूचक लज्जास्पद छ ।’’

त्यस्तै, पूर्व प्रधानमन्त्री समेत रहेका नेता लोकेन्द्रबहादुर चन्दले पार्टीले जे निर्णय गर्छ त्यसमा आफ्नो सहमति हुने बताए ।

पार्टीको झण्डोत्तोलन पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले गरेका थिए भने चुनाव चिन्ह अध्यक्ष त्रय कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीबाट भएको थियो । तीनैजना अध्यक्षले पार्टीको अधिवेसन गर्नुपर्नेमा जोड दिएका थिए । पार्टी एकता पछि राप्रपाले हाल चुनाव चिन्ह हलो र झण्डामा गाई चिन्हको प्रयोग गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *