विपक्षी दलहरुद्वारा सरकारको आलोचना

डिसी नेपाल
२३ मंसिर २०७७ १५:५५

काठमाडौँ । प्रधानमन्त्री ओलीको आह्वानमा मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सरकारको काम कारबाहीलाई लिएर आलोचना भएको छ ।

तीन घण्टासम्म चलेको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, छिमेकी मुलुकहरुसँगको सम्बन्ध र पछिल्लो समय भइरहेका राजनीतिक प्रदर्शनका विषयमा छलफल भएको थियो।

बैठकमा नेपाली काँग्रेसले सरकारले ठीक ढंगले काम गर्न नसक्दा असन्तुष्टिका स्वरहरु सडकमा देखिन थालेको बताएको छ । काँग्रेसले सबैभन्दा पहिला सरकार सच्चिने हो भने कतिपय समस्या आफै हल हुने धारणा राखेको छ ।

सरकारको काम कारबाही सहीरुपमा हुन नसकेको, लोकतन्त्र विरोधी गतिविधि सरकारबाटै भएको, कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको, जनभावनाअनुरुप काम गर्ने नसकेको जस्ता कारणले सरकारप्रति नागरिकमा वितृष्णा बढेको र सोही अनुरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिएको काँग्रेसको भनाइ छ ।

बैठकपछि काँग्रेस सहमहामन्त्री डा प्रकाश शरण महतले देशभर राजावादीको आन्दोलन बढ्नु सिस्टमको खराबी नभएर सरकारको कार्यशैलीमात्रै भएको बताएका छन् ।

उनले भने, ‘सरकारले ठीक ढंगबाट काम नगर्दा अहिलेको अवस्था आएको हो । यो सिस्टमको खराबी होइन तर सरकार सञ्चालन गर्नेहरु सच्चिन जरुरी छ ।’

बैठकमा राप्रपाले राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको माग गरेएको छ । राप्रपा नेता दिपक बोहोराले मुलुकमा राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्र हुनुपर्नेमा जोड दिएका हुन् । नेता बोहोराले राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको माग गरे पनि बैठकमा कसैले यसको जवाफ दिएनन् ।

‘कतिपयले यो प्रयोजित हो कि भनेर प्रश्न उठाउनु भयो,’ बोहोराले भने, ‘तर हामीले प्रयोजित नभएर स्वतस्फूर्त रुपमा जनताले गरेको आन्दोलन हो भन्यौं। राजासहितको राजतन्त्र र हिन्दु राज्यका विषयमा सर्वदलीय बैठकबाटै निर्णय लिनुपर्छ भन्ने हाम्रो भनाइ हो।’

बैठकमा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमलगायतका नेताहरु थिए । त्यस्तै, प्रतिपक्षी कांग्रेसका तर्फबाट सभापति देउवा, उप–सभापति विजय गच्छदार, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि, महतलगायत नेता थिए ।

जनता समाजवादीकातर्फबाट अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर , राप्रपाबाट दीपक बोहोरा र नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *