शिक्षक हत्याः दोषीमाथि कारबाही गर्न मानवअधिकार आयोगको आग्रह

डिसी नेपाल
२४ मंसिर २०७७ १६:०४
112
Shares

काठमाडौं। नेत्रविक्रम चन्दले नेतृत्व गरेको प्रतिबन्धित नेकपाले मंगलबार मोरङको मिक्लाजुङ गाउँपालिकास्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या गरेको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह गरेको छ। आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनाका पीडितलाई क्षतिपूर्ति दिनसमेत सरकारसँग आग्रह गरेको छ।

आयोगले सो हत्याबारे अनुसन्धान भइरहेको उल्लेख गर्दै प्रारम्भिक जानकारीअनुसार नेकपाको मेची कोशी ब्यूरोले शिक्षक श्रेष्ठको हत्या गरेको बताएको छ। आयोगले कुनै पनि बाहानामा व्यक्ति हत्यालाई स्वीकार गर्न नसकिनेसमेत बताएको छ।

आयोगले विचारमा असहमति राख्न पाउने संवैधानिक हक रहेकोसमेत उल्लेख गर्दै आफ्ना विचारमा असहमति राख्नेहरुप्रति असहिष्णु भई हत्या हिंसा नगर्न नेकपालाई आग्रह गरेको छ। नेकपाले श्रेष्ठको हत्या गरेको जिम्मेवारी लिँदै प्रतिकारमा मारिएको दावी गरिसकेको छ।

चन्द भूमिगत भएपछि व्यक्ति हत्या भएको यो पहिलो घटनासमेत हो। यो घटनाको चौतर्फी आलोचना तथा भत्सर्ना भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *