चम्स्कीको जन्मदिनमा नेपालीको नेतृत्वमा विश्व सम्मेलन

डिसी नेपाल
३० मंसिर २०७७ ०:५०

वासिंगटन डिसी । विश्वप्रसिद्ध भाषाविद् एवं दार्शनिक नोम चम्स्कीले विश्वमा तीन मुख्य कारणले मानव अस्तित्वमा संकटमा रहेको बताए । आणविक युद्धको धंगधंगी, वातावरणीय संकट, र लोकतन्त्रको क्षयीकरणलाई विश्वले हाल सामना गरीरहेको तीनवटा प्रमुख संकटहरूले मानव अस्तित्वमा खतरामा परेको दावी गरे ।

आफ्नो ९२ औं जन्मदिनका दिन नेपाली प्रोफेसर डा. उत्तम गौली नेतृत्वको स्टार स्कलर्स नेटवर्कका विद्वानहरुसँग उनले भने, ‘आशा भने मारिसकेको छैन ।’ यी संकटहरुको समाधानका लागि अन्तर्राष्ट्रियता, एकता र शिक्षा मा जोड दिनुपर्ने आवश्यकता औंल्याए । ‘वर्तमान महामारी चाँडै नै अन्तर्राष्ट्रिय सहयोग र खोपहरूको विकास मार्फत समाधान हुन सक्छ,’ चम्स्कीले भने । एक टर्की आप्रवासीले जर्मनीमा सिर्जना गरेको कोरोनाविरुद्धको भ्याक्सिनलाई अन्तर्राष्ट्रिय सहकार्यको प्रतीकको रुपमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय सहकार्यलाई अघि बढाएकोमा उनलेले स्टार स्कलर्स नेटवर्कको प्रसंसा गरे।

यसैबीच चम्सकीकै नाममा स्टार स्कलर्स नेटवर्कमा स्थापित ग्लोबल कनेक्सन्स अवार्डका सातजना विजयीहरुको पनि घोषणा गरिएको थियो । विजेताहरुलाई बधाइ दिंदै अन्तर्राष्ट्रिय अनुसन्धानमार्फत विश्वव्यापी समस्याहरुका समाधानतर्फ उन्मुख हुन चम्स्कीले आग्रह गरे ।

सामाजिक गतिशीलतालाई प्रमुख मुद्दा बनाएको विद्वान र अनुसन्धानकर्ताहरुको विश्वव्यापी संजाल (स्टार स्कलर्स नेटवर्क) को तेश्रो अन्तर्राष्ट्रिय सम्मेलन नेपाल खुला विश्वविद्यालय (नेपाल ओपन युनीभर्सीटी) को आतिथ्यमा गत मंगलवार सम्पन्न भयो ।

उक्त अन्तर्राष्ट्रिय सम्मेलनको समापन एवम पुरस्कार समारोहको सभापतित्व गरिरहेका स्टार स्कलर्स नेटवर्कका संस्थापक अध्यक्ष डा उत्तम गौलीले समारोहमा उपस्थित विश्वविख्यात दार्शनिक नोम चोम्स्कीलगायतका संसारभरका विद्वानहरुलाई स्वागत गर्दै सामाजिक न्यायको पक्षमा उभिन आग्रह गरे । विकासशील देशहरुको लागि डायस्पोरा कनेक्सन र कम्युनिटी कलेजको अवधारणाको पैरवी गर्दै आएका गौलीले एक अन्तर्राष्ट्रिय विद्वानका रुपमा आफ्नो जीवनयात्राको संस्मरण गर्दै भने,‘यो संसार आदर्शपूर्ण छैन ।’ त्यसकारण सामाजिक गतिशीलता अघि बढाउनको लागि विद्वानहरुले निरपेक्ष बस्न नहुने, बरु जुझारू भै झक्झक्याइरहन चनाखो हुनुपर्ने धारणा व्यक्त गरे ।

सम्मेलनको आतिथ्य गरीरहेको संस्था नेपाल खुला विश्वविद्यालयको तर्फबाट बोल्दै उपकुलपति प्रा. डा. लेखनाथ शर्माले आफ्नो विश्वविद्यालय स्टार स्कलर्स नेटवर्कमार्फत संसारभरका विद्वान, दार्शनिक, चिन्तक, र अनुसन्धानकर्ताहरु संगको विश्वव्यापी संजालमा जोडिन पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रमा गैरआवासीय नेपालीहरुको तर्फबाट सम्बोधन गर्दै एनसीसी अमेरिकाका महासचिव पशुपति पाण्डेले सम्मेलनमा सहभागी विज्ञहरुलाई नेपाल र नेपालीको लागि उपयोगी विषयवस्तुहरुमा गहन छलफल गरी पुर्याएको योगदानको कदर गरे ।

मेरिल्याण्ड राज्यका सभासद डेलिगेट ह्यारी भण्डारीले विश्वप्रसिद्ध दार्शनिक नोम चोम्स्कीलाई शुभकामना दिंदै सूचनाप्रविधिले विश्व साघुरिंदै गर्दा स्टार स्कलर्स नेटवर्कजस्ता संजालहरुले गर्ने अन्तर्राष्ट्रिय अनुसन्धानमुलक गतिविधिहरुको आवश्यकता टड्कारो हुंदै गएको बताए ।

संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा। अर्जुन कार्कीले नेपाल सरकारको तर्फबाट स्टार स्कलर्स नेटवर्कका सदस्यहरुलाई घन्यवाद दिएका थिए । शिक्षाको क्षेत्रमा चुनौतिहरु रहेको र यी चुनौतिहरूको समाधान खोज्नको लागि अनुसन्धान गर्ने विद्वानहरूको स्टार नेटवर्क अग्रणी रहेकोमा प्रसंशा गर्दै राजदूत कार्कीले भनेका थिए,‘हालसालै नेपालमा सुरु भएको ब्रेन गेन सेन्टर यस स्टार नेटवर्कमा हाम्रा मित्र उत्तम गौलीजस्ता उच्च शिक्षामा केन्द्रित विद्वानहरूले गरेको अनुसन्धानबाट प्रेरित भएको हो ।’

नेपालको आतिथ्यमा र नेपालीको नेतृत्वमा सम्पन्न उक्त विश्वसम्मेलनमा एड्भान्स्ड कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरुले नेपाली संस्कृति झल्काउने संगीत र नृत्यहरु प्रस्तुत गरेका थिए ।

स्टार स्कलर्स नेटवर्कका उपाध्यक्ष डा कृष्ण विष्टले प्रथम स्वागत गरेको उक्त कार्यक्रममा विश्वविख्यात क्रिटिकल पेडागोजीका सुप्रसिद्ध नायक हेनरी जीरू, एसोसिएशन अभ अमेरिकन कलेज एण्ड युनिभर्सिटिजका प्रेसिडेन्ट लीन पास्करेला, नेपाल र विश्वका अनेक देशका चर्चित दार्शनिक, विचारकहरु र अन्तर्राष्ट्रिय व्यक्तित्वहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रमको पूरा भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोला ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *