मूर्तसँगै अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकता दिएका छौं : सुनिता डंगोल

डिसी नेपाल
६ भदौ २०८३ १७:०७

काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणसँगै त्यसको पुस्तान्तरणलाई प्राथमिकतामा राखेर महानगरपालिकाले काम गरिरहेको बताएकी छन्।

लिच्छविकालीन भगवान् श्री नित्यनाथ मन्दिरको समउद्घाटन तथा बाजा प्रशिक्षण समापन कार्यक्रममा बोल्दै डंगोलले सम्पदा संरक्षणका लागि भौतिक संरचनाको पुनर्निर्माणसँगै परम्परागत कला, संस्कृति र बाजागाजाको पुस्तान्तरण आवश्यक रहेको बताइन्।

उनले नित्यनाथ मन्दिर परिसरमा पुनर्निर्माण गरिएको ‘नासा द्यः छें’ ले परम्परागत बाजागाजा सिक्ने र सिकाउने वातावरण थप सहज बनाउने बताइन्। ‘आज अर्को एउटा संख्या मात्र बढेको छैन, त्यसको साथसाथै अर्को एउटा मूर्त सम्पदा जीवित भएको छ,’उनले भनिन्।

डंगोलले काठमाडौंमा परम्परागत रूपमा बाजागाजा बजाउने तथा सिक्ने स्थानलाई कतिपयले ‘आखा छें’ र कतिपयले ‘नासा द्यः छें’ भन्ने गरेको उल्लेख गर्दै यसको पुनर्निर्माणले नयाँ पुस्तालाई बाजा सिक्ने अवसर प्रदान गर्ने बताइन्। यसले सम्पदा संरक्षण तथा पुस्तान्तरणको जग थप बलियो बनाउने उनको भनाइ थियो।

काठमाडौं महानगरपालिकाले हालसम्म ७७ वटा मूर्त सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको र अमूर्त सम्पदा संरक्षणतर्फ ८२ वटा विभिन्न कार्यक्रम सम्पन्न गरेको डंगोलले जानकारी दिइन्। उनका अनुसार महानगरपालिकाले हालसम्म मूर्त तथा अमूर्त सम्पदा संरक्षण र पुनर्निर्माणका गरी करिब १५९ देखि १६० वटा काम सम्पन्न गरिसकेको छ।

उनले भनिन्,‘काठमाडौं महानगरपालिकाले हाम्रो विवरण नै दिनुपर्दाखेरि मूर्त र अमूर्त सम्पदामा विभिन्न कामहरु गरिरहेको छ। ७७ वटा मूर्त सम्पदाहरुको पुनर्निर्माणको काम पूरा भैइसकेको छ भने अमूर्त सम्पदा संरक्षणमा ८२ वटा विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेका छौं। टोटलमा भन्ने हो भने १५९,१६० वटा त हामीले विभिन्न मूर्त अर्मूत सम्पदा संरक्षण गर्न पुनर्निर्माण गर्ने काम गरिसकेका छौं। यद्यपी, यो वर्ष भने अझै थप काम हामी गर्ने योजना बनाएका छौं।’

चालु वर्षमा पनि थप सम्पदा संरक्षणका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताइन्। यस वर्ष महानगरपालिकाले ‘बाहा पूजा’ मौलिक रूपमा सञ्चालन गर्नुका साथै ‘सम्यक महादान’ आयोजना गर्ने गरी बजेट तथा कार्यक्रममा समावेश गरेको र त्यसको कार्यान्वयनका लागि काम अघि बढिसकेको उनले जानकारी दिइन्।

डंगोलले पुनर्निर्माण सम्पन्न भएका सम्पदाको संरक्षण, प्रवद्र्धन र सदुपयोग गर्ने जिम्मेवारी अब स्थानीय समुदायको काँधमा आएको बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *