उखुको भुक्तानी नदिने चिनी उद्योगका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी

डिसी नेपाल
२ पुष २०७७ १६:५७

काठमाडौं। रौतहटस्थित श्रीराम सुगर मिल्सका सञ्चालक हितेश गोल्छा, संचालक विशाल अग्रवाल र श्रीराम सुगर मिल्स गरुडाका कार्यकारी उपाध्यक्ष पद्मकान्त झा गरी तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ।

रौतहटका उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक संघसहित ४६ किसानहरुले उक्त मिल्सका संचालकमाथि जिल्ला प्रहरी कार्यालयमा बुधबार ठगी मुद्दा दायर गराएलगत्तै सोही मुद्दामा जिल्ला अदालत रौतहटले उनीहरु विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।

पक्राउ पूर्जी जारी भएका तीनै जनाले किसानको बाँकी बक्यौता फछ्र्यौट नगरी मिल बन्द गरेर किसानलाई ठगी गरेको आरोप संघले लगाएको छ। किसानहरुको रकम नतिर्ने उद्देश्यले गत साउन ११ गते उद्योग बन्द भएको सूचना टाँस गरी मिल सञ्चालक भने सम्पर्कविहीन छन्।

प्रहरीका अनुसार पक्राउ पूर्जी जारी भएका व्यक्तिहरुको खोजतलासका लागि आवश्यक समन्वय भइरहेको छ।

उखु मिलबाट करोडौं रुपैयाँ भुक्तानी नपाएका उखु किसानहरु काठमाडौं आएर गत आइतबारदेखि माइतीघर मण्डलमा आन्दोलन गरिरहेका छन्। उनीहरुले दुःख गरी उखु खेती गरेर उद्योगीलाई बेचेको पैसा नपाएपछि सरकारसँग भुक्तानी दिलाइदिन माग गर्दै आएका छन्।

प्रायः धेरैजसो उखु किसानहरुले ०७१ सालदेखि कै उद्योगीलाई उखु बेचेको पैसा पाएका छैनन्। गत वर्ष उखु किसानको आन्दोलनलाई मध्यनजर गर्दै सरकारले त्यसबेला पुष १८ देखि माघ ७ गते भित्र भुक्तानी दिने गरी आन्दोलनरत किसान र उद्योगीबीच सम्झौता गराएको थियो।

तर त्यो सम्झौता बमोजिम आजसम्म पनि भुक्तानी नपाएका किसानहरुले अबको आन्दोलन भने नगद नपाएसम्म जारी राख्ने बताउदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *