आज अन्तर्राष्ट्रिय आप्रवास दिवस, आप्रवासीको समस्याका विषयमा छलफल

डिसी नेपाल
३ पुष २०७७ १४:३०

काठमाडौं। आप्रवासीहरु जुन देशमा पुगेको हो त्यही देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक बर्ष डिसेम्बर १८ तारिखका दिन अन्तर्राष्ट्रिय आप्रवास दिवस मनाइँदै आइएको छ।

कामका लागि परदेश जाने र उनका परिवारको अधिकारका लागि यो दिवस नेपाल लगायत विश्वभरी आज (शुक्रबार) विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई यो दिवसका रुपमा मनाउन थालिएको हो।

यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धि कानुनको चर्चा र सरकार तथा राजनीति दलहरुलाई यी बिषयमा ध्यानाकर्षण गराउँदै आएका छन्।

तर नेपालमा वर्षेनी आप्रवासी दिवस मनाइए पनि कामदारका समस्या भने उल्लेख्य रुपमा घट्न सकेको छैन। आप्रवासीको हकहितका लागि विश्वभरी आप्रवासी दिवस मनाइए पनि कामदारहरुले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्कमा कठिनाई बनाइदिने र बेचबिखनमा पर्ने जस्ता ठूला मानवीय समस्याहरु झेल्दै आएका छन्।

कोभिड–१९ ले गर्दा यस वर्ष विशेष कुनै पनि कार्यक्रम नगरेको बताउने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले आप्रवास दिवसलाई लिएर वैदेशिक रोजगार पत्रकार समाजसँग भने बिहीबार जुम मिटिङ गरेर आप्रवासीको समस्याका बारेमा छलफल भएको जानकारी गराए। उनका अनुसार अहिले रोजगारीको सिलसिलामा लगभग ६५ लाख नेपाली विदशिएका छन्।

ती विदेशिएका नेपालीले भने अनुसार काम, तलब, इन्सुरेन्सको पैसा नपाएको लगायत कुनैपनि मेनपावर कम्पनीबाट ठगिएको खण्डमा विभागले कारवाही गर्दै आएको र पीडकलाई कडा कारवाही गरी वैदेशिक रोजगारलाई व्यवस्थित गरिने बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *