पर्वतीय उडानमा यात्रुको आकर्षण बढ्यो

डिसी नेपाल
५ पुष २०७७ ६:२५

काठमाडौं। सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्यावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ । कोभिड–१९ संक्रमणकै बीच गत मङ्सिर २० देखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवद्र्धक भइरहेको सम्बद्ध एयरलाइन्स कम्पनीले बताएका छन् ।

नेपाली यात्रुलाई लक्षित गर्दै बुद्ध एयर र यती एयरलाइन्सले छूटसहितका अफर ल्याएपछि यो उडानमा यात्रु आकर्षित भएका हुन् । दुवै कम्पनीले एक टिकट खरीदमा अर्को सित्तैमा उपलब्ध गराएका छन् । बुद्ध र यती एयरलाइन्सले हरेक शनिवार पर्वतीय उडान गर्दै आएका छन् । शनिवार एकै दिन आठ पर्वतीय उडान भएका छन् । बुद्ध एयरका पाँच र यती एयरका तीन उडान भएका हुन् ।

यतीको सिमराबाट पनि पर्वतीय उडान तय गरेको भए पनि मौसम खराबीका कारण उडान रद्द भएको कम्पनीले बताएको छ । राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ७ बजे पर्वतीय उडान हुने गरेको छ ।

गत शनिवार बुद्धका चार र यतीका (सिमरासहित) चार उडानमध्ये यतीले एक मात्र उडान गरेको थियो । शनिवार बुद्ध एयरले पाँच उडानमार्फत ३०० यात्रुलाई सगरमाथा अवलोकन गराएको बताएको छ । यात्रुको उत्साहवद्र्धक माग बढेकाले अन्य दिन पनि पर्वतीय उडान गर्ने बुद्ध एयरको योजना छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *