कोभिडको उपचार गर्दा स्वास्थ्यकर्मी कसरी जोगिने?

डिसी नेपाल
१३ पुष २०७७ ११:४७

वासिंगटन डिसी। अमेरिका र नेपालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कोभिड १९ का विरामीहरुको उपचार गर्दा कसरी सुरक्षित रहने भन्नेबारे बृहत छलफल भएको छ।

सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान) र नेपाल नर्सिंङ संघको संयुक्त आयोजनामा डिसेम्बर २६ विहान सो कार्यक्रम सम्पन्न भएको हो। नेपाल र अमेरिकामा कार्यरत रहेका एकसयभन्दा बढी नर्स तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको सो भर्चुअल कार्यक्रममा अमेरिकामा कार्यरत ३ जना डाक्टरहरुले प्रस्तुतिकरण दिएका थिए।

न्यूयोर्कको बफेल्लो युनिभर्सिटीमा कार्यरत मुटु रोग विशेषज्ञ डा.उमेश शर्माले कोभिडमा कार्डियाक इमर्जेन्सीबारे जानकारी दिएका थिए। उनले मुटुरोग भएका विरामीलाई कोभिड लागेपछि त्यसले पुर्याउने असर र उपचारमा स्वास्थ्यकर्मीले देखाउनुपर्ने तत्परता तथा स्वयं पनि जोगिनका लागि अपनाउनुपर्ने तीन तहको सुरक्षा व्यबस्थाबारे सविस्तार जानकारी दिए।

सान,अमेरिकाकी अध्यक्ष मञ्जु कार्की संग्रौलाले कार्यक्रमको शुरुवात गर्दै कोभिडले सिर्जना गरेको अप्ठेरो अवस्थालाई ज्ञान र अनुभव आदान प्रदान गरेर सामना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताएकी थिइन्।

सो कार्यक्रममा अमेरिकाको भर्जिनियास्थित विन्चेष्टर मेडिकल सेन्टरमा कोभिडकै विरामीको उपचारमा संलग्न डा.राजु सेन्चुरीले कोभिडको औषधि पत्ता नलागिसकेको अवस्थामा विरामीको जीवन रक्षा गर्न स्वास्थ्यकर्मीहरुले अपनाउनुपर्ने विधिबारे सविस्तार जानकारी दिएका थिए।

उनले विरामी अस्पतालको इमर्जेन्सीमा आएदेखि डिस्चार्ज हुन्जेलसम्मका हरेक दिनको अवस्थाबारे विवरण प्रस्तुत गर्दै स्वास्थ्यकर्मीले आफू पनि सुरक्षित भएर विरामीलाई रिकभर हुन सपोटिभ केयर दिन गरिने प्रयासहरु बताएका थिए।

त्यसैगरी डा.सपना मैनालीले कोभिडको भर्खरै प्रचलनमा आएका खोपहरुबारे प्रस्तुतिकरण दिएकी थिइन्। उनले स्वास्थ्यकर्मीहरुले कोभिडको खोप लगाउनु जरुरी भएको विचार राख्दै खोपबारे चले चलाइएका भ्रमहरु र वास्तविकताबारे बताएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *